घरबाहिर ननिस्कँदा रसमुरका ज्येष्ठ गोरखाहरुमा कोरोना संक्रमण कम !

तस्वीर इन्टरनेटबाट

लण्डन । कोरोना भाइरसको संक्रमणको फैलन शुरु हुँदा युकेमा बसोबासरत धेरै नेपालीलाई डर थियो–हाम्रा धेरै गोरखा भूतपूर्व सैनिकहरु वयोवृद्ध छन् उनीहरुलाई कस्तो असर पर्ला ?

धेरैजसो ज्येष्ठ गोरखा सैनिक र उनका परिवार रसमुर काउन्सिलअन्तर्गतको फार्नब्रो र अल्डरसटमा बसोबास गर्ने भएकाले सो क्षेत्रमा कोरोना संक्रमणले निकै मानवीय क्षति पुर्याउला कि भन्ने आशंका थियो तर सौभाग्यवश बेलायतका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीको दाँजोमा सो क्षेत्रमा असर न्यून देखिएको छ । यसका पछाडि धेरै कारणहरु हुन सक्छन् जसमध्ये एक हुनसक्छ त्यहाँको नेपाली समुदायको क्रियाशीलता । कोरोना संक्रमणबाट ज्येष्ठ नागरिकहरुलाई बचाउन त्यहाँको नेपाली समुदायले के गरेको थियो ?

बेलायतमै नेपालीहरुको बाक्लो बस्ती रहेको काउन्सिल हो रसमुर काउन्सिल । त्यहाँका पूर्व सांसद जेराल्ड होवार्थले नेपालीहरुको अचानक बढेको भीड स्थानीय पूर्वाधारले धान्न नसक्ने भयो भन्दै केही वर्षअघि गुनासो समेत गरेका थिए । उनको गुनासोपछि पहिले धेरै सक्रिय नरहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी अचानक सक्रिय बन्यो र यही कम्युनिटीको कार्य नै अहिले रसमुर क्षेत्रमा ज्येष्ठ गोरखा बचाउनमा महत्वपूर्ण बनेको छ ।

कम्युनिटीले स्थानीय काउन्सिल, स्वयंसेवकसित मिलेर नेपाली भाषामा कोरोनाबाट बच्ने उपायका बारेमा प्रचारसामग्री बनायो र घरघरमा बाँड्यो । गोरखा भूतपूर्व सैनिक समुदायमा लोकप्रिय बीएफबीएस गोरखा रेडियोमार्फत वयोवृद्ध गोरखा सैनिकहरुलाई कसरी कोरोनाबाट जोगिने, लकडाउनमा कसरी बस्ने, आपत पर्यो भने कसलाई, कसरी सम्पर्क गर्ने भन्ने बारेमा लगातार जानकारी दिइरह्यो । अनि युवा टोलीलाई कहीँ भाषाको समस्या परे दोभाषेको काम गर्न तम्तयार अवस्था राख्यो ।

धेरैजसो ज्येष्ठ गोरखा सैनिक र उनका परिवारले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले उनीहरुलाई औषधि नछुटाई आपूर्ति गरिरहनु पर्ने थियो । औषधि संकलन गर्ने र सम्बन्धित व्यक्तिकोमा पुर्याउने जिम्मा युवाहरुलाई दिइएको थियो । यसैगरी, आफन्तहरु नभएका गोरखाहरुलाई किनमेल गरिदिनु पर्ने थियो । त्यस्तै, एक्लै बस्ने वा श्रीमान–श्रीमती नै बिरामी भएका गोरखाहरुलाई खाना पुर्याउनुपर्ने हुन्थ्यो । यी सबै कार्यका लागि कम्युनिटीले ४० जना स्वयंसेवकहरुमध्ये हरेक दिन दुई/दुई जनालाई खटाएको थियो । युकेमा लकडाउन शुरु भएपछि थालिएको यो क्रम अहिले पनि जारी छ । यसैगरी लकडाउनमा घरमै बस्दा अनलाइन योग र ध्यानको कक्षा सन्चालन गरिँदै आएको छ।

त्यस्तै, ज्येष्ठ गोरखा सैनिकहरुलाई समस्या आफ्नो आपसमै साटासाट गर्न सजिलो हुने देखेर कम्युनिटीले अल्डरसट र फार्नब्रोमा दुईजना ज्येष्ठ भूतपूर्व गोरखा सैनिकलाई सम्पर्क व्यक्ति तोकेको थियो । सम्पर्क व्यक्तिले आफ्नो क्षेत्रका साथीहरुलाई नियमित सम्पर्क गर्ने र कुनै समस्या भएमा कम्युनिटीका अध्यक्षलाई जानकारी दिने सो अनुसार कम्युनिटीले स्वयंसेवक खटाउने चक्र बनाएको थियो ।
“हामीले ज्येष्ठ बाबाआमालाई घर बाहिर निस्कँदै ननिस्कनु, यदि तपाईलाई केही समस्या परे हामीलाई भन्नुहोस् भनेको थियौँ”, कम्युनिटीका अध्यक्ष रामधन राई भन्छन् । “घरमा बस्दा दिक्दार लागे गार्डेनमा निस्कनु, घाम ताप्नु तर ढोका बाहिर निस्कँदै ननिस्कनु भनेका थियौँ । पूर्णरुपमा लकडाउनको नियम पालना गरेकै कारण होला अहिलेसम्म त्यस्तो अप्रिय घटना सुन्नु परेको छैन”, उनले थपे ।

रसमुरमा कति नेपालीमूलका बस्छन् आधिकारिक तथ्यांक छैन । सन् २०११ मा भएको पछिल्लो जनगणनामा  करिब ७ हजार नेपाली रहेको देखाएको छ तर सो क्षेत्रका पूर्व सांसदले नै १० हजार नेपाली रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । राईको अनुमानमा रसमुरमा कम्तीमा १५ हजार नेपाली हुनुपर्छ । त्यसमध्ये ज्येष्ठ नागरिक र बाँकीको अनुपात आधा–आधा हुनुपर्छ । अध्यक्ष राईका अनुसार अहिलेसम्म सो क्षेत्रमा कोरोना संक्रमणबाट एकजना मात्र बितेको अनौपचारिक जानकारी प्राप्त भएको छ र संक्रमितहरुको संख्या पनि धेरै छैन । जबकि रसमुर भन्दा धेरै कम नेपालीहरु बसोबास गर्ने बेलायतका अन्य क्षेत्र ननिटन र नट्टिघममा समेत रसमुरमा भन्दा धेरै नेपाली कोरोना संक्रमणबाट बितेका छन् ।

कोरोनाले विश्वव्यापी रुपमै ज्येष्ठ नागरिकहरुलाई धेरै असर पारेको छ । बेलायतमा मात्र कोरोना संक्रमणबाट दिवंगत भएकाहरुमा ७० प्रतिशतभन्दा धेरै हिस्सा ७५ वर्ष माथिकाको रहेको तथ्यांक छ । कोरोना र ज्येष्ठ नागरिकहरुको यस्तो अवस्थाका बारेमा शुरुमा सुन्दा ‘ओहो ! धेरै मानिस जान्छ होला’ भनेर आफूलाई पनि लागेको अध्यक्ष राई बताउँछन्, । ‘तर बेलायत सरकारको नियम, हाम्रो अनुरोधलाई उहाँहरुले राम्रोसित पालना गरिदिनुभयो र कोरोनालाई नियन्त्रणमा राख्न सक्यौँ’, उनले भने ।

ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री