नेपाली भाषाको नाम ‘खसजुम्ली’ राख्नुपर्ने तिगेलाको जिकिर

लण्डन । नेपाली साहित्यका अध्येयता विश्वासदीप तिगेलाले नेपाली साहित्यको पुनर्परिभाषा गरिनुपर्ने र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखेका छन् ।
ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखलामा बोल्दै तिगेलाले उक्त कुरा बताएका हुन् । तिगेलाले भाषाको नाम नेपाली राखिनुले नेपालका अन्य भाषीहरुको मनोविज्ञानमा असर पारेको र नेपाली पहिचान भएका भारत, भुटान र बर्माका नागरिकहरुमा भाषिक हिंसा भएको भन्दै यसको समाधानको लागि भाषाको नाम नेपालीको सट्टा ‘खसजुम्ली’ भन्नु उपयुक्त हुने आधार प्रस्तुत गरे । साथै नेपालभित्र बोलिने सबै मातृभाषाहरुको साहित्य समग्रमा नेपाली साहित्य भनी परिभाषा गर्नुपर्ने पनि जिकिर गरे । त्यस्तैगरि विकल्पको रुपमा नेपाल भित्रका सबै भाषाहरुको साहित्यलाई नेपालीय साहित्य भन्न सकिने पनि तर्क प्रस्तुत गरे ।
तिगेलाको प्रस्तुतिपछि भाषाविद् अमृत योन्जनले यो बेग्लै पाटोको विषय बहसमा आउनु नयाँ र महत्वपूर्ण भएको बताए । प्राध्यापक बालकृष्ण माबोहाङले अघोषित भाषिक समस्याको उठान हुनु आवश्यक रहेको बताए । तिगेलाको प्रस्तुतिमाथि खुसी लिम्बु, प्रमोद श्रेष्ठ (युएई), अमित थेबे (युके), साङसेन पन्धाक, मुनाराज शेर्मा, मनोज घर्तीमगर, टेकबहादुर थापा, लीला सेलिङ माबो, डा. निमेश लम्साल, धनराज लिम्बु (साउदी अरेबिया), पदम चेन्जीलगायत डेढ दर्जनले जिज्ञासासहित प्रश्न र सुझाव दिएका थिए । कन्फरेन्समा विभिन्न मुलुकबाट चार दर्जन सहभागी थिए ।
उठेका प्रश्नहरुको उत्तर दिँदै आफ्नो दुई कार्यपत्रको सांरास प्रस्तुत गरेको र आफ्नो प्रकाशन्मुख पुस्तकमा समेटिने तिगेलाले बताए । अमेरिकाको म्यासच्युट युनिभर्सिटी मातहतका डा. मारुहाँङ लिम्बुको संयोजनमा आयोजित कन्फरेन्स करिब दुई घण्टा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री