कोरोनाविरुद्ध ११५ खोप परीक्षणको चरणमा

लण्डन । कोरोना भाइरसविरुद्ध खोप बनाउन विश्वभर ११५ वटा खोपको परीक्षण भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार तीमध्ये नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको छ ।
अहिले परीक्षणमा रहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्ल्यूएचओका अनुसार करिब दसवटा खोपको परीक्षण चाँडै निष्कर्षमा पुग्ने उच्च सम्भावना छ ।
परीक्षणमा चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको परीक्षण सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।
यी बाहेक चीनले अन्य तीनवटा ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पुर्याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ ।
नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएनए आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक देखिएकाले बजारमा छिटो आउने सम्भावना छ । मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ । योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्ल्यूएचओले दिएको छ ।
मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरु हुनेछ । अहिले यसको कार्यविधि बन्दैछ । अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले यो वर्षको अन्त्य सम्ममा खोप आउनसक्ने विश्वास व्यक्त गरेका छन् ।
चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ । यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ । यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो । परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्ल्यूएचओबाट अनुमति पाइसकेको छ ।
अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन् । ओसाका विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन् ।
जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेब्रुअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र यसको मानव परीक्षण जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री