अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनसित सम्बन्ध तोड्ने घोषणा

तस्विर एएफपी

रासस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खाले सम्बन्ध तोड्ने जनाइएका छन् ।

विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त सङ्गठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य सङ्गठन असफल भएको आरोप पनि लगाए । राष्ट्रपति ट्रम्पले गत महिना मात्र पनि अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने – चीनले वर्षेनी विश्व स्वास्थ्य सङ्गठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदैआएको छ तर उक्त सङ्गठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।

उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकारी गराउँदै तर पनि उक्त सङ्गठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए । उक्त सङ्गठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भएता पनि ऊ असफल भएको आरोप राष्ट्रपति ट्रम्पले लगाए । उनले भने – त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खालको नाता तोड्दैछौँ ।

यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए ।

संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाताराष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त सङ्गठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।

यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त सङ्गठनलाई दोषी देखाउँदै आएका थिए ।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली चीन पठाउनुपर्ने माग राख्दैआएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य सङ्गठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना सङ्क्रमणका कारण एक लाखभन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री