बेलायतमा कोरोनाबाट दक्षिण एशियालीको मृत्यु हुने सम्भावना उच्च

corona

लण्डन । ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूमध्ये दक्षिण एशियाली मूलका मानिसहरूको मृत्यु हुने सम्भावना उच्च रहेको एक महत्वपूर्ण अध्ययनले देखाएको छ।

युकेमा अस्पतालमा मृत्यु हुनेहरूको दर चर्को देखिएको यो नै एक मात्र जातीय समुदाय हो।

केही हदसम्म त्यसका लागि मधुमेह रोग जिम्मेवार देखिएको छ।

कोभिड-१९ भएर अस्पताल भर्ना भएका दशमध्ये चार बिरामीसँग सम्बन्धित तथ्याङ्क विश्लेषण गरिएकोले यो अध्ययन उल्लेखनीय छ।

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो नतिजा देखिएपछि कार्यस्थलमा लागु गरिने सुरक्षात्मक उपाय र कोरोनाभाइरसविरुद्ध खोप उपलब्ध भएपछि त्यो कसले लगाउनु पर्छ भन्ने विषयको नीतिमा परिवर्तन हुनुपर्छ।

युकेका विश्वविद्यालय तथा सार्वजनिक स्वास्थ्य निकायसहितका विभिन्न २७ वटा संस्था र २६० अस्पताल यो अध्ययनमा सहभागी थिए।

एउटा स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशित हुनुअघि उक्त अध्ययनका नतिजालाई इन्टरनेटमा सार्वजनिक गरिएको हो।

तर उक्त अध्ययनको नतिजालाई एक महिनाभन्दा अघि नै युके सरकारको वैज्ञानिक परामर्श समूहलाई हस्तान्तरण गरिएको थियो।

अध्ययन

यो अध्ययनले अस्पताल भर्ना भएका बिरामीको विषयमा मात्रै बताउँछ। तिनीहरूलाई कोरोनाभाइरस सङ्क्रमण हुने जोखिम के कस्तो छ भन्ने बारेमा केही बोल्दैन।

अध्ययनका सिलसिलामा इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका २६० अस्पतालमा रहेका ३५ हजार बिरामीको अवस्थाका बारेमा अनुसन्धान गरिएको थियो।

दक्षिण एशियली पृष्ठभूमि भएका बिरामीहरूको मृत्यु हुने सम्भावना स्वेत जातिका मानिसहरूभन्दा २० प्रतिशतले बढी भएको देखिएको थियो। युकेका अन्य अल्पसङ्ख्यक समुदायमा उच्च मृत्युदर देखिएन।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक इवेन ह्यारिसनले बीबीसीसँग कुरा गर्दै भने, “अस्पतालमा दक्षिण एशियाली बिरामीहरूको अवस्था स्वेत विरामीहरूको दाँजोमा बिलकुल अलग देखिन्छ।”

उनले भने, “तिनीहरू औसतमा १२ वर्ष कम उमेरका छन् जुन निकै ठूला भिन्नता हो र तिनीहरूमा डिमेन्सिया, मोटोपन वा फोक्सोसम्बन्धी रोग छैन तर मधुमेह रोगको दर एकदमै उच्च रहेको छ।”

मधुमेहले दुई प्रकारले जोखिम बढाउँछ।

पहिलो त सङ्क्रमणको जोखिम उच्च तुल्याउँछ र दोस्रो शरीरका अङ्गहरूलाई क्षति पुर्याउँछ।

यी दुवै कारणले बिरामीलाई कोरोनाभाइरस सङ्क्रमणबाट जोगिएर रहन निकै गाह्रो तुल्याउँछन्।

यसलाई नै दक्षिण एशियाली मूलका मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमणपछि हुने मृत्युदर उच्च देखाउने मुख्य कारक ठानिएको छ तर अवस्थाको समग्र तस्बिर भने अझै स्पष्ट भइसकेको छैन।

बीबीसी नेपालीसेवाबाट साभार

प्रतिक्रिया

सम्बन्धित सामाग्री