जुलाई ४ देखि बेलायतमा होटल, रेष्टुराँ खुल्ने, सामाजिक दुरी घटाइयो

लण्डन । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा होटल, रेष्टुराँहरु खुल्न लागेका छन् । यसैगरी सरकारले सामाजिक दुरीलाई पनि घटाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज संसदमा बोल्दै रेष्टुराँ, होटल, पब, कपाल काट्ने सैलुन, म्यूजिम, ग्यालरीहरु जुलाई ४ तारिखदेखि खोल्ने घोषणा गरे । यस्तै, पुस्तकालयहरु, मन्दिर, मस्जिद, चर्च लगायतका प्रार्थना स्थलहरु, क्यान्टिनहरु जुलाई ४ बाट खुल्ने उनले बताए ।  उनले सम्भव भएको ठाउँमा २ मिटर र सम्भव नभएको ठाउँमा सामाजिक दुरी १ मिटर कायम गरे पुग्ने बताएका छन् । तर त्यस्तो अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनु पर्ने उनले प्रष्ट पारे । तर स्कटल्याण्ड तथा वेल्समा भने तत्कालका लागि सामाजिक दुरी २ मिटर नै रहने बताइएको छ ।

यसैगरी जुलाई ४ देखि दुई परिवार भेट्न र बास बस्न सक्ने तर सामाजिक दुरी कायम गर्ने पर्ने पनि बताए ।

उनले यी निर्णयहरु परिस्थिति हेरी फिर्ता गर्न सकिने पनि बताएका छन् ।

यस्तै होलिडे पार्क, बेड एण्ड ब्रेकफास्ट, क्याराभानहरु पनि जुलाई ४ देखि खुल्न सक्ने बताइएको छ । रेष्टुरेन्टहरुले ग्राहकको नाम र सम्पर्क लिनपर्ने बताइएको छ । यसबाट कन्ट्रयाक्ट ट्रयासिङमा मद्दत पुग्ने बताइएको छ । यस्तै थियटर र संगीत हलहरुलाई पनि जुलाई ४ देखि खोल्न दिइएको छ तर लाइभ भने गर्न पाइने छैन ।

यसैगरी जुलाई ४ पछि हुने विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ ।

सरकारले नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लरहरु, जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरुलाई भने अझै खुल्न दिइएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री