नेपाली दुतावास दोस्रो चार्टर फ्लाइटको तयारीमा

तस्विर : एभियसन प्रोस

लण्डन । बेलायतस्थित नेपाली दुतावास कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई शुक्रबार दोस्रो चार्टर फ्लाइट मार्फत नेपाल पठाउने तयारीमा लागेको छ ।

ग्याटविक एयरपोर्टबाट १ सय ४६ जना नेपालीहरुले बुधबार उडान भर्दै सुरक्षित नेपाल फर्केपछि दोस्रो चार्टर फ्लाइटको तयारीमा दुतावास लागेको हो । दोस्रो चार्टर फ्लाइटका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजले टिकट काटिरहेको छ । दुताबासका प्रवक्ता आरनले दोस्रो फ्लाइटमा रहेका नेपालीहरुलाई हवाई टिकट काट्न अनुरोध गरेका छन् ।
पहिलो चरणमा  १ सय ५८ जनालाई नेपाल पठाउने भनिए पनि विमानस्थलमा १ सय ४६ जना मात्र पुगेका थिए । सिट क्षमताभन्दा कम व्यक्तिहरुले टिकट लिएका कारण १२ वटा सिट खाली भएको थियो । नेपाल सरकारले बेलायतबाट दुई चरणमा यहाँ अड्किएका नेपालीहरुको उद्धार गर्ने योजना अनुसार दोस्रो चरणमा भोली शुक्रबार अर्को उडान उडान भर्दैछ ।

पहिलो फ्लाइटमा उनीहरु कुवेत हुँदै नेपाल फर्केका थिए । पहिलो चार्टर फ्लाईटमा नेपालीहरुलाई विदाई गर्न संयुक्त अधिराज्य बेलायतको लन्डनस्थित नेपाली राजदूत डा दुर्गावहादुर सुवेदी, प्रवक्ता आरन, दुतावासका कर्मचारीहरु, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पूर्वउपाध्यक्ष शेर सुनारलगायतका सामाजिक अगुवाहरु लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपाली दुताबास तथा गैरआवासीय नेपाली संघमार्फत करिब ४ सय ५० नेपालीहरुले नेपाल फर्कन इच्छा व्यक्त गरेका थिए । तर पछिल्लो समयमा भने एकतिहाइले नेपाल फर्कने मनसाय त्यागेका छन् । एकतर्फी टिकटको मूल्य अत्यधिक भएका कारण कतिपय व्यक्तिहरुले अन्तिम समयमा आएर टिकट काटेनन् । बेलायतबाट नेपाल जाने टिकटको ९ सय २० पाउण्ड भाडा नेपाल सरकार पर्यटन मन्त्रालयले तोकेको थियो । बेलायतबाट नेपाल उडान भर्ने जिम्मा पाएको जजिरा एयरवेजको टिकेटिङको जिम्मा पाएको सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजले शुक्रबार २६ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० नेपाल उडान भर्नेछ । यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।

२ मिटर सामाजिक दुरीको वेवास्ता
राजदूत सुवेदी, प्रवक्ता आरन र एनआरएनए यूके अध्यक्ष गुरुङसहित ग्याटविक एयरपोर्ट पुगेका सामाजिक अगुवाहरुले बेलायत सरकारले तोकेको २ मिटरको सामाजिक दूरीलाई पूर्ण रुपमा बेवास्ता गरेका थिए । सामाजिक दुरीलाई बेलायत सरकारले जुलाई महिनाबाट घटाउने बताएपनि अहिलेसम्म २ मिटर नै लागु भैरहेको छ । सामाजिक संजालमा पोष्ट भएका तस्विरहरुमा उनीहरुले एकअर्काबीच सामाजिक दूरीलाई वास्तै नगरी कोरोना संक्रमणभन्दा पहिलेको समयको झैँ गरी तस्विर खिचेका थिए । बेलायतमा अलपत्र परेर नेपाल जाने यात्रुहरुले पनि २ मिटरको सामाजिक दूरीलाई वेवास्ता गर्दै चार्टर फ्लाईटमा चढेका तस्विरहरु सार्वजनिक भएका थिए ।

हेरौं सामाजिक दूरीलाई वेवास्ता गर्दै खिचिएको सामूहिक तस्वीर

तस्विर :शिव भण्डारी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री