जुलाई २४ देखि इङ्ल्याण्डमा पसल जाँदा मास्क नलगाए १०० पाउण्ड जरिवाना

लण्डन । जुलाई २४ देखि इङ्ल्याण्डमा पसल जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।

स्काइ न्युजका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सो घोषणा गरेका हुन् ।

मास्क लगाएको नलगाएको अब पसलका कर्मचारीले होइन प्रहरीले जाँच गर्नेछन् र नलगाएको पाएमा १०० पाउण्डसम्म जरिवाना गर्ने उनीहरुलाई अधिकार दिइएको छ । सो जरिवाना १४ दिनभित्र तिरे आधा छुट हुने पनि बताइएको छ ।

यसअघि नै जुन १५ देखि इङ्ल्याण्डमा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क लगाउन अनिवार्य गरिसकिएको छ । जसमा ११ वर्षमुनीका बालबालिका र अपाङ्गता भएकालाई भने छुट दिइएको छ ।
यसैगरी स्कटल्याण्डमा जुलाई १० देखि पसल जाँदा मास्क लगाउनु अनिवार्य गरिसकिएको छ तर वेल्स र नर्देन आयरल्याण्डले भने यसबारेमा निर्णय गरिसकेका छैनन् ।
कोरोना भाइरसको संक्रमणपछि विश्वका १२० देशहरुमा मास्क अनिवार्य गरिएको छ ।
नयाँ नियमको घोषणा गर्दै बेलायती प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले भनेका छन्, ”साँघुरो ठाउँमा मास्क लगाउँदा लगाउने व्यक्ति र उसको वरपर रहेका मानिसहरुमा कोरोना संक्रमण फैलनबाट रोक्न सकिन्छ भन्ने प्रमाणहरु थपिँदै छन् ।”
प्रधानमन्त्रीले प्रष्ट रुपमा मानिसहरुले जुलाई १४ देखि पसल जाँदा मास्क लगाउनैपर्ने बताएको पनि प्रवक्ताले दोहोर्याएका छन् ।
यस सम्बन्धी थप जानकारी स्वास्थ्यमन्त्री म्याट ह्यानककले आज संसदमा दिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री