कोभिड १९ बाट पीडित परिवार र एनएचएसलाई ननिटनबासीको सहयोग

लण्डन । कोभिड – १९ को विश्व महामारीको प्रकोप संसारभर फैलिने क्रममा युके पनि अछुतो रहन सकेन । यसै क्रममा युकेको (मिडल्याण्ड) ननिटनमा बसोबास गर्दै आएका नेपाली मूलका हाम्रा केही साथीभाइहरुको कोभिड–१९ को प्रकोपबाट निधन हुन गयो । यस्तो दुखदायी कहालीलाग्दो परिस्थितिमा सबै मिलेर सहयोग गर्नुपर्दछ भन्ने भावनात्मक सम्बन्ध बन्यो । त्यसको फलस्वरुप ननिटनमा बसोबास गर्दै आएका नेपाली मूलका सबै संघ, संस्था र समुदाय एक ठाउँमा भएर छलफल गरियो । यस्तो परिस्थितिमा सबै मिलेर काम गर्नु एक आपसमा सरसहयोग गरागर गर्नुको विकल्प छैन भन्ने निर्णयमा पुगियो । त्यसको तत्कालै छलफलमा उपस्थित भएका ब्यक्तित्वहरुमध्ये ननिटनका समाजसेवी ओम गुरुङको संयोजकत्वमा एउटा समितिको निर्माण गरियो । उक्त समितिको नामाकरण नटिटनका नेपालीहरुका लागि राहत कोष राखियो । समितिको निर्माण गर्नमा दिलसिँ मेन्याङबोको ठूलो भूमिका रह्यो । साथै त्यो समितिभित्र विभिन्न संघ सस्था जस्तैः किरात याक्थुङ याक्थुङ चुम्लुङ वार्विकशर, मगर संघ युके मिडल्याण्ड, गुरुङ्ग समाज ननिटन र बिट्रिश गोरखा भेट्रान्स एसोसिएन ननिटनको संस्थागत प्रत्यक्ष रुपमा सहभागिता रह्यो । अन्य संघ सस्था र समुदायहरुबाट ब्यक्तिगत रुपमा सहभागिता रहेको थियो । समितिको रकमको सङ्कलन रेखदेखमा धर्म राईको जिम्मा रह्यो भने पत्राचार कार्यक्रम सन्चालन गर्ने अभिभारा भिम सारुले गर्नुभयो ।
यस नटिटनका नेपालीहरुका लागि राहत कोष समितिबाट सबै नेपालीहरु भाइचाराको नाताले कोभिड – १९ बाट पीडित परिवारलाई केही राहतस्वरुप सहयोग गरिदिनको निमित्त ननिटन शहरलगायत नजिकका शहरहरुमा साथीभाइ संघ सस्थाहरु माझमा अपील गरियो । एक आपसमा सहयोगको हातेमालो गरौँ भन्दै सहयोगको अपिल गर्ने शिलशिलामा ननिटन लगायत रग्बी, कोभेन्ट्री, बर्मिङहाम, नोटिङहाम, मेडिस्टन र स्वीण्डन शहरहरुबाट सहयोग प्राप्त भयो । सहयोग गर्ने दाताहरु २०१ जनाबाट ३ हजार ६७५ पाउण्ड उठाउन सफल भैयो । यसरी जम्मा भएको रकमको २ तिहाई रकम रकम २ हजार ४५० पाउण्ड तत्काल कोभिड – १९ बाट निधन भएका परिवार र नेपालबाट पढ्न आएका आपत परेका बिद्यार्थीहरुलाई सहयोग गर्ने र बाँकी रकम १ हजार २२५ पाउण्ड पछि हुनसक्ने कोभिड – १९ को परिवारको लागि राख्ने निर्णय भयो र सोही बमोजिम गरियो ।
कोभिड – १९ कतिसम्म रहला भनेर समितिभित्र घनिभूत छलफल भयो । कतिसम्म रहला भनेर यसको उत्तर कसैसँग भएन । साथै हामीसँग पछिसम्म सहयोग बाँडिरहने उपयुक्त रकम पनि भएन । त्यसो हुनाले जुन महिनाको ३० गते अन्तिम दिन राखियो । यदि त्यस समयसीमा भित्रमा कोभिड – १९ बाट कसैको निधन भएमा सहयोग गर्ने यदि केही नभएमा सो रकम जर्ज एलियट अस्पतालको एनएचएसलाई सहयोगस्वरुप दिने निर्णय भयो । सोही बमोजिम जुन ३० मा बैठक बसी नटिटनका नेपालीहरुका लागि राहत कोष समिति भङ्ग भएको घोषणा गरियो । तर संयोग कस्तो भयो भने जुलाइको ५ मा ननिटनमा नै एक जना नेपालीको हुन गएको हुनाले र पैसा एनएचएसलाई हस्तान्तरण गरिनसकेको हुनाले बैठक बसी सहमतिको आधारमा ४०० पाउण्ड निधन भएको परिवारलाई हस्तान्तरण गरियो ।
अन्तमा जुलाइको १४ को दिन नटिटनका नेपालीहरुका लागि राहत कोष समितिका सदस्यहरु भेला भएर ८२५ पाउण्ड जर्ज एलियट अस्पतालको एनएचएसलाई हस्तान्तरण गरिएको अवगत गराउन चाहान्छौं । साथै यस्तो जटिल परिस्थितिमा आउँदा दिनहरुमा पनि एक आपसमा सहयोगको आदानप्रदान रहिरहोस् भन्ने कामना गर्दै यस्तो दुखद अवसरमा सहयोग गर्नुहुने सबै सहयोगी मित्रहरुलाई धेरैधेरै धन्यवाद टक्र्याउँछौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री