इङ्ल्याण्डमा आजदेखि पसल जाँदा मास्क नलाए जरिवाना

लण्डन । इङल्याण्डमा आजदेखि सार्वजनिक स्थलहरुमा अनुहार ढाक्न अनिवार्य गरिएको छ ।

कोरोना भाइरस फैलन नदिन सरकारले पसलहरुमा, सार्वजनिक यातायातका साधनहरुमा तथा रेष्टुरेन्ट तथा वारहरुमा खाना वा पेय पदार्थ किन्दा मास्क लगाउन अनिवार्य गरेको हो ।

स्कटल्याण्डमा भने यसअघि नै पसलहरुमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिइसकिएको छ । वेल्समा भने जुलाई २७ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिँदै छ भने त्यहाँ मास्क लगाउन अनिवार्य अझै गरिसएको छैन । नर्देन आयरल्याण्ड सार्वजनिक यातायातमा, अस्पतालमा र केयर होममा मास्क लगाउन अनिवार्य गरिएको छ ।

नयाँ नियमअनुसार इङ्ल्याण्डमा मास्क लगाउन वा कपडाले नाक र मुख ढाक्न, गलबन्दीले नाक र मुख ढाक्न सकिने बताइएको छ ।

नयाँ नियमअनुसार सुपरमार्केटहरुमा, पसलहरुमा, सार्वजनिक यातायातहरु बस, रेल, ट्याक्सीमा, विमानस्थल र रेलवे स्टेशनमा अनुहार ढाक्नु पर्ने छ । तर पव, रेष्टुरेन्ट, क्याफे, कपाल काट्ने स्थान, व्यूटी पार्लर, जीम, सिनेमा, थियटर र कन्सर्टहल आदिमा अनुहार ढाक्न अनिवार्य छैन । यी व्यवसायहरुमा आफ्ना कर्मचारीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्न उपायहरु अपनाइने भएकाले अनुहार ढाक्न आवश्यक नभएको तर्क दिइएको छ ।

तर कानुनीरुपमा बाध्यकारी नबनाइएमा पनि ती स्थानमा जाँदा त्यहाँका कर्मचारीहरुले मास्क लगाउन वा अनुहार ढाक्न लगाउन भने सक्नेछन् ।

यसअघि नै इङल्याण्ड, स्कटल्याण्ड तथा नर्देन आयरल्याण्डमा सार्वजनिक यातायातमा अनुहार ढाक्न अनिवार्य गरिसकिएको छ । सरकारले ट्याक्सी चढ्दा मास्क लगाउन अनिवार्य गरेको छ । यदि तपाईले मास्क नलाउनु भएको खण्डमा तपाईलाई ट्याक्सी ड्राइभरले नलैजान सक्नेछ ।

यसअघि नै स्कटल्याण्डमा पसलहरुमा मास्क लगाउन अनिवार्य गरिसकिएको छ भने अस्पताल र केयर होमहरुमा पनि पहिले नै अनुहार ढाक्न अनिवार्य गरिएको छ ।

इङल्याण्डका कतिपय स्थानमा भने तपाईले लगाउनु भएको मास्क हटाउन पनि लगाइने छ । जस्तै बैँक, पोष्ट अफिस, ओैषधि पसल, परिचय खुलाउनका लागि पसलहरुमा जाँदा तपाईलाई मास्क खोल्न लगाइने छ ।

यस्तै इङल्याण्डमा ११ वर्षमुनीका बालबालिकाहरु र स्कटल्याण्डमा ५ वर्षमुनीका बालबालिकाले मास्क लगाउनु पर्दैन । यस्तै श्वास फेर्न गाह्रो हुने, अस्वस्थताका कारण मास्क लगाउन नसक्ने, मानसिक स्वास्थ्य समस्या भएका, अटिज्म भएका आदिलाई मास्क लगाउन अनिवार्य गरिएको छैन ।

मास्क नलगाएको पाइएमा १०० पाउण्ड जरिवाना तोकिएको छ । यसको अनुगमन प्रहरीले गर्ने छन् । यस्तै सार्वजनिक यातायातमा यसको अनुगमन ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री