पोर्चुगलमा निधन भएका रेग्मीको अन्तिम संस्कार

लिस्बन, (पोर्चुगल), । गत १९ जुलाईका दिन असामयिक निधन भएका पर्वतका स्व. रमेशकुमार रेग्मीको  शुक्रबार पोर्चुगलमा श्रद्धाञ्जली सहित अन्तिम संस्कार सम्पन्न भएको छ । स्व. रेग्मी विगत ५ बर्षदेखि पोर्चुगलको अलेन्तेजु स्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका थिए । पोर्चुगल हेर्ने पेरिसस्थित आवासीय नेपाली राजदूत दीपक अधिकारीले शुक्रबार एक समवेदना पत्र पठाइ स्व. रेग्मीप्रति अन्तिम श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

स्व. रेग्मीको शव व्यबस्थापन र अन्तिम संस्कार प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्याएकोमा एआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे र पर्वत समाज पोर्चुगल लगायत सम्बद्ध संघ संस्था र व्यक्तिहरुलाई दु:खको घडीमा खेलेको भूमिकाप्रति राजदूत अधिकारीले धन्यवाद समेत दिएका छन् ।

शुक्रबार आयोजित छोटो श्रद्धाञ्जली सभामा अन्तिम विदाइ गर्न र श्रद्धाञ्जली दिन लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे, महासचिव हेमराज सुवेदी लगायत उनका पारिवारिक नातेदारहरु, साथीहरू र पर्वत समाजका मानिसहरु उपस्थित थिए । ४३ बर्षिय स्व.रेग्मीका श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) नेपालमा रहेका छन् । उनीहरू भिसा लागेर पोर्चुगल आउने तयारी भइरहेको बेला कोरोनाका कारण लकडाउनले नेपाल मै अड्किरहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री