मर्जिङ नेप्सोसको हेल्पलाईन बन्द


लण्डन । मर्जिङ नेप्सोसले कोभिड-१९ बाट प्रभावित नेपाली विद्यार्थीहरुका लागि संचालन गरेको हेल्पलाईन औपचारिक रुपमा बन्द गरेको छ । नेप्सोस सदस्य तथा बेलायतस्थित समुदायहरुबाट संकलित २१ हजार ६ सय ७२ पाउण्ड आर्थिक सहयोग वितरणसहित हेल्पलाईन बन्द गरेको मर्जिङ नेप्सोसका अध्यक्ष पवन कंडेलले बताएका हुन । नेप्सोसले हेल्पलाईन मार्फत गरेका काम र सहयोग रकम पारदर्शी ढंगले सामाजिक संजालहरु मार्फत शुक्रबार सार्वजनिक गरेको छ ।

नेप्सोसको हेल्पलाईनले कोभिड-१९ बाट प्रभावित विश्वविद्यालयका विद्यार्थीहरुलाई तीन चरणमा आर्थिक सहयोग बितरण गरेको थियो । बेलायतका ४८ विश्वविद्यालयका ४ सय ६ विद्यार्थीले कन्सल्टेसन पाएका थिए । ती मध्ये २ सय ७१ विद्यार्थीहरुले नेप्सोसबाट आर्थिक सहयोग पाएका थिए । ६४ जना विद्यार्थीले खानाको प्याकेज र ८ जना विद्यार्थीले मेन्टल हेल्थ सम्बन्धी सहयोग पाएको नेप्सोसले जानकारी दिएको छ ।

आर्थिक सहयोग पाउनेमा यूक्लान, हडर्सफिल्ड, हार्डफोर्डसायर, लण्डन साउथव्याँक, इस्ट लण्डन, पोर्टसमाउथ, कोभेन्ट्री, वेस्ट स्कटल्याण्ड, वेस्ट लण्डनलगायतका विश्वविद्यालयका  विद्यार्थीहरु छन । यद्यपी, नेप्सोस अध्यक्ष कंडेलले विद्यार्थीहरुलाई गलत सुचना प्रवाह गरि विश्वविद्यालयमा भर्ना गर्न ल्याउने कन्सेल्टेन्सीको नाम भने सार्वजनिक गर्न सकेनन् । बेलायत अध्ययनका लागि ल्याउने कन्सेल्टेन्सीका नाम सार्वजनिक गर्न वीनेपालीले पटक -पटक आग्रह गरेपनि “गोपनियताको कारण देखाउदै” कंडेल पन्छिए ।

गत २६ मार्च २०२० बाट नेप्सोसले विश्वविद्यालयका विद्यार्थीहरुको लगत संकलन सुरु गरेको थियो । २२ मार्चबाटै नेपाली विद्यार्थीहरुको लागि हेल्पलाइन सुरु गरे पनि ६ अप्रिलमा  नेपाली दूतावास लण्डनले कोरोना भाइरस महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्न सक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपालीमूलका विद्यार्थीहरुको संस्था मर्जिङ नेप्सोसलाई जिम्मा दिएको थियो । दूतावासका प्रवक्ता शरदराज आरणले विज्ञप्ति जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न तथा सहयोगको लागि समन्वय गर्न नेप्सोसका अध्यक्ष  कँडेललाई संयोजक तोकेका थिए ।

विद्यार्थीहरुका समस्या समाधानका लागि राजदूतावासले बेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको र विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या आउन नदिन गैरआवासीय नेपाली संघ यूकेलगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुलाई पनि आफ्नो सहयोग मर्जिङ नेप्सोस मार्फत गर्न दूतावासले अनुरोध गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री