तमु प्हे ल्हु संघ युकेद्वारा एनएचएसलाई ७ हजार पाउण्ड सहयोग

लण्डन । तमु प्हे ल्हु संघ युकेले कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेकोमा बेलायतकाे राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई सहयोग गरेको छ ।
संघका अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङले आज ७ हजार ३७८ पाउण्ड ५० पेन्सको चेक एनएचएस इङल्याण्डको मुख्यालयमा एनएचएस इङल्याण्डकी निर्देशक जस्टिन डेभीलाई हस्तान्तरण गरे ।
संघका अध्यक्ष गुरुङले महामारीको यस्तो विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिएकोमा एचएनएसलाई धन्यवाद दिन र तपाईहरुको साथमा हामी नेपालीहरु पनि छौँ भन्ने सन्देश दिन सो सहयोग गरिएको बताए । संघले आफ्ना सदस्यहरुबाट दुई महिनामा स्वयंसेवीरुपमा संकलित सहयोगबाट सो सहयोग गरेको हो ।
संघले विगतदेखि नै नेपालमा विभिन्न किसिमका राहत सहयोग गरिररहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले बेलायत कर्मथलो भएकाले यहाँ पनि केही गर्नुपर्छ भनेर सहयोग संकलन गरिएको बताए ।
उनले संघका सदस्यहरु युकेका सबै क्षेत्रमा बसोबासरत रहेकाले कुनै एक क्षेत्रको एनएचएसलाई मात्र सहयोग गर्नुभन्दा मुख्यालयमै सहयोग हस्तान्तरण गर्नसके राम्रो हुने ठानेर मुख्यालयमै गई सहयोग हस्तान्तरण गरेको जानकारी दिए । सो क्रममा युकेमा रहेका नेपाली, गोरखा सैनिक परिवारका बारेमा पनि बताउने मौका मिलेको उनले बताए ।
सो अवसरमा श्रीमती मन्जु गुरुङ र संघका सल्लाहकार भेगलाल गुरुङको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष गुरुङले संघको सो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
तमु प्हे ल्हु संघ युकेले तमु धर्म र सँस्कृति प्रवर्धन गर्दै आएको छ ।
बेलायतमा रहेका नेपाली सामुदायिक संस्थाहरुले कोभिड १९ को महामारीका बेला राम्रो भूमिका खेलेको भन्दै यहाँको स्वास्थ्य सेवालाई सहयोग गर्दै आएका छन् ।
यसअघि विल्यासर नेपाली समाज, सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्ट, साउथ लण्डन नेपाली गोरखा समाजलगायतले पनि एनएचएसलाई सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री