पूर्व राजदुत मोरिसको खोजीमा नयाँ सूचनाका लागि प्रहरीको अपील

लण्डन । करिब चार महिना अघिदेखि एक बिहान मर्निङ वाकमा निस्किएका नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस सम्पर्कविहीन भए । उनको खोजी व्यापकरुपमा गरियो । केही समयपछि त्यसलाई सीमितमा झारियो तर प्रहरीले उनको खोजी जारी राखेको छ । गत सातामात्र एक सूचना प्रकाशित गर्दै ह्याम्पसायर प्रहरीले उनका बारेमा नयाँ सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अपील गरेको छ ।

१९ अगष्टमा जारी सूचनामा ह्याम्पसायर प्रहरीका चिफ इन्सपेक्टर अलेक्स रेडिङले भनेका छन्, ”हामीहरु फेरि रिचर्डलाई पत्ता लगाउन सक्ने नयाँ सूचनाका लागि सर्वसाधारणमा अपील गर्दछौँ  । सानो होस् वा ठूलो सबै किसिमका जानकारी हाम्रा लागि महत्वपूर्ण छन् ।”

५२ वर्षीय रिचर्ड मे ६ तारिखका दिन मर्निङ वाकमा निस्किएका थिए । उनलाई पछिल्लोपटक सोही दिन १०:५० बजे अल्टोनको इजिङटन रोडमा दगुर्दै गरेको सर्वसाधारणले देखेका थिए ।

विगत १५ सातामा प्रहरीले उनको खोजी ९ वर्गकिलोमिटर क्षेत्रभित्र गरिसकेको छ । जसमा एलिस हल्ट फोरेष्ट, केही पानीले ढाकेका क्षेत्र, अल्टोन र बिनस्टिड क्षेत्रसमेत छन् । खोजी कार्यमा ब्रिटिश ट्रान्सपोर्ट प्रहरी र ह्याम्पसायर सर्च एण्ड रेस्क्यु सर्भिसको समेत सहभागिता थियो ।

प्रहरीले घन्टौँको सिसिटिभी फुटेजको निगरानी, घरघरै गएर खोजिनीति गर्ने र समुदायबाट प्राप्त जानकारीलाई थप खोजी गर्दा पनि हालसम्म उनको अवस्था पत्ता लगाउन सकिएको छैन ।

प्रहरीले गत जुन ३ तारिखका दिन उनको खोजी कार्यको आकार घटाउने निर्णय गरेको थियो । तर उनको खोजी कार्य निरन्तर रहेको प्रहरीले प्रष्ट पारेको छ ।

६ फिट अग्ला रिचर्डको फुलेको कपाल र दाह्री पालेका छन् । उनको अनुहारमा प्रष्ट चिनिने दाग पनि छ । उनले नीलो गन्जी, कालो हाफ पाइन्ट / नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।

रिचर्ड हराएको केही समय भइसकेकाले उनको कपाल, दाह्रोजुँगा आदि परिवर्तन भइसकेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म प्राप्त सहयोगका लागि रिचर्डको परिवार र सर्वसाधारणलाई धन्यवाद पनि दिएको छ । उनको बारेमा केही जानकारी भए १०१ मा फोन गरी अपरेसन ट्वीलाइट उल्लेख गर्न वा ४४२००१६०३९८ मा फोन गर्न अपील गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री