खुशी लिम्बु फोनिज युकेबाट निष्काशित

लण्डन । गत केही वर्षदेखि विवादको घेरामा मुछिँदै आएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका पूर्व महासचिव खुशी लिम्बुलाई महासंघको साधारण सदस्यबाट निष्काशित गरिएको छ ।
उनले फोनिज युकेको महासचिव पदबाट राजिनामा दिनुभन्दा अगाडि र राजिनामा दिएपछि पनि विभिन्न गैर जिम्मेवारीपूर्ण गतिविधि र संस्थाको मान मर्यादामाथि आँच पुर्याउने कार्य गरेको ठहर गरी गत ८ अगस्ट २०२० को दिन फार्नबरोमा बसेको फोनिज युकेको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । उनलाई किन कारबाही नगर्ने भनी उनीसित दुई हप्ताको समयावधि दिएर स्पष्टीकरण माग गरेको थियो । तर सो समयावधिभित्र कुनै स्पष्टीकरण वा प्रतिकृया प्राप्त नभएपछि महासंघले उनलाई साधारण सदस्यबाट समेत निस्कासन गरेको बताएको छ ।
लिम्बुले समय र परिस्थितिको फाईदा उठाउँदै सामाजिक संजाल र मिडियाहरुमार्फत फोनिज युकेलाई आँच पुर्याउने उद्देश्यले त्रुटिपूर्ण समाचारहरु सम्प्रेषण गर्दै आएको फोनिज युकेको दाबी छ । जसमध्ये ९ मार्च २०२० मा नेपाल संसार डटकम र १० मार्च २०२० मा डेनमार्क डटनेटमा प्रकाशित लिम्बुद्वारा उपलब्ध गराइएको समाचारमा ‘फोनिज युकेका आधाभन्दा बढी सदस्यले राजिनामा दिएकोले महासंघ लंगडो भएको’ झूठो भन्ने दाबी गरिएको छ । फोनिज युकेले सो समाचारका बारेमा स्पष्टीकरण दिन उनलाई पत्राचार गरेको थियो ।
यस्तैगरी,  नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन)को महासचिव समेत रहेका उनले ६ अगष्ट २०२० का दिन फोनिज युकेको सामाजिक सञ्जालमा ८ अगस्त २०२० मा हुने भनिएको फोनिज युकेको बैठकलाई इङ्गित गर्दै .’…संस्थालाई टुक्र्याउने असफल प्रयासपछि फोनिज युके अध्यक्षको आँखा अब नेफिन युकेमा’ भन्ने शीर्षकमा फोनिज युके र यसका अध्यक्षप्रति आपत्तिजनक लान्छना लगाएको फोनिज युकेले बताएको छ । सो पोष्टका बारेमा प्रष्ट पार्न फोनिज युकेले नेफिन युकेलाई पनि पत्राचार गरिसकेको पनि बताइएको छ ।
लिम्बुले फोनिज युकेको महासचिव पदमा बहाल रहँदा १२ मार्च २०१८ सालमा नेपाल पत्रकार महासंघ, बेलायतको सदस्यता वितरण र नविकरणको विषयमा अध्यक्षलगायत कुनै पनि पदाधिकारीहरुसँग सल्लाह नगरी मध्यरातमा आफूखुशी फोनिज युकेको लोगो दुरुपयोग गरी अनाधिकारिक विज्ञप्ति जारी गरेका थिए । त्यसपश्चात फोनिज युकेले सो विज्ञप्तिको बारेमा बुझ्न खोज्दा उनले कुनै सकारात्मक प्रतिकृया नदिई आफ्नै मनोमानीमा फोनिज युकेको प्रतिष्ठामा आँच आउने काम गर्न थालेपछि फोनिज युकेको कार्यसमितिका पदाधिकारीहरुसँग उनको विवाद बढ्न थालेको थियो । यसपछि ९ सेप्टेम्बर २०१९ देखि लगातार आठ महिना कुनै पनि आधिकारिक जानकारी बिना महासचिवजस्तो गरिमामय पदमा रहेको व्यक्ति संघको काम ठप्प हुने गरी महासंघको सम्पूर्ण कागजपत्र आफैंले कब्जा गरी संस्थाले गर्नुपर्ने सम्पूर्ण काममा भाँजो हाल्ने काम गरेको फोनिज युकेको आरोप छ ।
उक्त समयावधिमा फोनिज युकेले मुखपत्र निकाल्न लागेको थियो । यस्तो अवस्थामा कार्यसमितिका विभिन्न सदस्यहरुले फोन र ईमेलमार्फत बारम्बार ताकेता गरी सोध्दा कुनै जवाफ नदिई निश्कृय रहेर महासंघलाई निस्क्रिय अवस्थामा राखेका लिम्बुले अचानक आठ महिनापश्चात फोनिज युकेका अध्यक्षलाई नभई लिम्बु पत्रकार संघ बेलायतलाई सम्बोधन गरी आफूले फोनिज युकेको महासचिव पदबाट राजिनामा दिएको जानकारी दिएका थिए ।
स्मरण रहोस् लिम्बुलाई सन् २०१८ सेप्टेम्बरमा नेपाल पत्रकार महासंघ बेलायतले पनि साधारण सदस्यबाट निष्कासित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री