विशेष अधिवेशनको औचित्य छैन, अब १० औं सम्मेलनतिर लागौं

लेखक ढकाल

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोसहित संस्थापकहरु हामीले गठन गरेको यस संस्थाको विश्व सम्मेलन हिन्दूहरुको महान चाड दशैं र तिहारको बीचमा पार्ने गरी निर्णय गरेका थियौं । नेपालमा परिवारसँग बस्न मन हुँदाहुँदै विभिन्न (अध्ययन, जागिर वा व्यापार) कारणले नेपालमा छाड्ने प्रवासी नेपालीहरुलाई परिवार, नातागोता र साथीहरुसँग भेटघाट हुने गरी धेरै सल्लाहपछि दशैं र तिहारका जस्ता ठूला चाडका बीचमा गैरआवासीय नेपाली संघको सम्मेलन राख्ने निधो गरिएको थियो । विश्वभरका नेपालीहरु एकै ठाउँमा जम्मा हुने आत्मीय सम्मेलन नै हो । हाम्रो इस्टमित्रसँग भेटघाट गर्न नै सम्मेलन प्रमुख मध्येको एक आकर्षण हो । यो सम्मेलन नेपालमा गर्दा होटल व्यवसाय क्षेत्रमा आर्थिक सहयोग पनि हुन्छ ।

रोजगारी, अध्ययन वा व्यापारको सिलसिलामा मातृभूमि छाडेर प्रवासमा गएका हामी गैरआवासीय नेपालीहरु नेपालमै जम्मा भएर खुशी साटासाट गरी मनाउने र सम्मेलन पनि गर्ने उद्देश्यले काम गरिरहेका थियौं । १७ वर्षको यो दौरानमा प्रविधिले विश्वभर फड्को मारेको छ । निर्वाचनका नयाँ-नयाँ प्रणालीहरु संसारभर आइरहेका छन् । गैरआवासीय नेपालीहरुले पनि बिस्तारै समयसापेक्ष यस्ता प्रणालीसँग अभ्यस्त हुँदै जानुपर्छ । प्रविधिको विकाससँग हामी अघि बढेनौँ भने संस्था काम लाग्ने हुन सक्दैन । संस्था गठनको मूल्य मान्यता नै त्यागेर प्रविधिलाई अपनाउनुभन्दा पनि मूल मर्मलाई सहयोग पुग्ने गरी काम गर्नु पर्छ । विश्व सम्मेलन दुई-दुई वर्षमा नेपालमा हुने भएकाले नै वार्षिक रुपमा क्षेत्रीय सम्मेलनहरु नेपाल बाहिर भएका हुन् ।

दुई साताअघि एनआरएनए बैठकले नि:शुल्क सदस्य वितरण, प्रतिनिधिले नि:शुल्क भोट हाल्न पाउने, निर्वाचन प्रणाली परिवर्तन गर्ने र एमआईएस सिस्टममा गएर संसारभरका सदस्यहरुको डाटा एउटै प्रविधिमार्फत काम गर्ने कुराहरु सुन्दा राम्रो लागे पनि यस विषयमा विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । नि:शुल्क सदस्यता दिँदा ती सदस्यहरुमा संस्थाप्रति स्वामीत्व हुन्छ कि हुँदैन ? निर्वाचन प्रणाली बदल्ने बित्तिकै सबै राम्रो हुन्छ त ? यस्ता प्रश्नहरुको जवाफ खोज्नु जरुरी छ । संस्था गठनका उद्देश्य अहिले बिस्तारै परिवर्तन भैरहेको आभास मैले गरेको छु । नि:शुल्क सदस्य वितरण गर्ने र प्रतिनिधिले भोट हाल्नु अघि तिर्दै आएको २० हजार तिर्नु नपर्नेलगायतका प्रस्ताव अहिले बाहिर आयो ।

एनआरएनए अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माको सकृयतामा आएको प्रस्ताव सुन्दा जो कोहीले राम्रो भन्छन् । सुन्दा मलाई नि राम्रो लाग्यो । तर, हामीले एजेण्डा वा प्रस्तावका बारेमा विस्तृत रुपमा बुझेर मात्र धारणा बनाउनु पर्छ । किनकी कुनै पनि संस्था जीवन्त रहनका लागि धेर वा थोर पैसाको खाँचो पर्दछ । त्यसको आम्दानी वा खर्चका बारेमा हरेक गैरआवासीय नेपालीले थाहा पाउनु पर्दछ । जीवन्त चलिरहने संस्थाको गठनको उद्देश्य र यसको दीगोपन नै प्रमुख कुरा हो ।

एनआरएन नेतृत्वमा जान लाखौँ तिर्नु पर्छ

अहिले पनि एनआरएनए आईसिसी सदस्य भएपछि संघमा एक हजार डलरको लेवी बुझाउनु पर्छ । त्यसबाहेक संघको सम्मेलनका विभिन्न पदमा उम्मेदवार दिने व्यक्तिहरुले लाखौँ रुपयाँको उम्मेदवारी शुल्क तिर्नुपर्ने प्रावधान छ । त्यस विषयमा बैठकले केही निर्णय गरेको छैन । अझ बुझ्ने भाषामा भन्ने हो भने नि:शुल्क सदस्यता पाए पनि नेतृत्वमा पुग्नलाई तपाई-हामी पैसा नहुने एनआरएनएहरु त्यहाँ पुग्ने स्थिति छैन । उहाँहरुले त्यो कुरालाई तपाईहरुसमक्ष लुकाउनु भएको छ । अन्य देशको तुलनामा मध्यपूर्व वा खाडी मुलुकमा रोजगारीका लागि जाने मजदुर दाजुभाइ वा दिदीबहिनीहरु (एनआरएनए)का लासहरु आर्थिक अभावकै कारण नेपालमा महिनौंसम्म परिवारजनसमक्ष पुग्न सकेको छैन ।
यो सामाजिक संस्था परोपकारी भावनाले एकले अर्कालाई सहयोग गर्दै चल्दै आएको छ । अझ भनौं, नेपालीद्वारा नेपालीहरुलाई नै सहयोग गर्दै यो एनआरएनए यहाँसम्म आएको हो । १७ वर्षको इतिहासमा गत वर्ष एनआरएनए टाट पल्टेर अध्यक्ष कुमार पन्त (तत्कालिन उपाध्यक्ष) कुल आचार्य (तत्कालिन उपाध्यक्ष) हालका सचिव गौरीराज जोशीलगायतका व्यक्तिहरुले ऋणस्वरुप सहयोग दिएर संस्थालाई चलाएमान बनाएको तपाईहरुलाई थाहै होला । यस्तो अवस्थाका एनआरएनएलाई बिना पैसा दौडाउँछु भन्ने कुरा विश्वासयोग्य छैन ।
सस्तो लोकप्रियता केही दिनका लागि होला । आउने दिनमा एनआरएनएले कुनै आर्थिक संकलन गर्न सकेन भने हामीले दु:खले बनाएको संस्था कुनै व्यापारीलाई पदमा ल्याएर बिक्री गर्नु पर्ने अवस्था आउँछ । अहिले आएको प्रस्तावलाई हामीले स्वीकार गर्याैं भने व्यापारीको संस्था बन्ने निश्चित छ । जोसँग पैसा छ उसले एनआरएनएमा कव्जा जमाउँछ । तपाई र हाम्रो व्यक्तिगत विवरण खरीद गरेर ठूला कर्पाेरेट हाउस, होटल वा एयरलाइन्सले सजिलै केही प्रतिशत छुट दिन सक्छ । यो संस्था एक व्यापारीले अर्काे व्यापारीलाई बिक्री गर्दै जान्छ । हामी एनआरएनए सदस्यहरु बिक्रीका साधन मात्र हुन्छौं । काठमाडौंमा रहेको कार्यालको वार्षिक खर्च मात्रै करीब एक करोड ६० रुपैयाँ छ । बल्ल-बल्ल हाम्रो श्रमले खरिद गरेको घरको भविष्य अदालतको हातमा छ । यस्तो अवस्थामा सस्तो र लोकप्रिय नाराका पछि लाग्नु भन्दा विस्तृत अध्ययन गर्न दिऔं । अध्ययनका निष्कर्षमाथि विश्वभरका एनआरएनएबीच छलफल गरौं । अनि जे निष्कर्ष आउँछ त्यसलाई अबलम्बन गरौं ।

८४ वटा एनआरएनएका राष्ट्रिय समन्वय समिति छन् । ती एनआइसिसीहरु पनि नेपाली समुदायले आर्थिक सहयोग गरेर चलेका छन् । उल्टो संघलाई सम्मेलनताका दुई-दुई वर्षमा पैसा बुझाउनु परेकै छ । तिनका खर्चहरु कसरी चल्छन् ? त्यो पनि अध्ययन गरौं । सदस्यता सित्तैमा दिँदा स्वामीत्व ग्रहण गर्न मानिसले सक्दैन । कालान्तरमा यसको अवमूल्यन हुन थाल्छ । त्यसैले कम्तिमा एक वा दुई डलरमा सदस्यता वितरण गरौं । त्यसो गर्दा कार्डको प्रिटिङ र पोस्टेज मूल्य उठछ ।

विशेष अधिवेशन असंभव
नवौं सम्मेलनमा विभिन्न कारणले आर्थिक प्रतिवेदन पारित हुन सकेन । तीन महिना, ६ महिना भन्दै झण्डै आधा कार्यकाल सकिन लाग्दा समेत विशेष गर्न सकिएन । कोभिड-१९ महामारीका कारण विशेष अधिवेशन गर्न गाह्रो परेको सर्वविदितै छ । अहिले पनि महामारीको अवस्था छ । यस्तो परिस्थितिमा ‘भर्चुअल’ विशेष अधिवेशन गर्ने प्रयास अहिले संस्थापनबाट हुन सक्छ । भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्थामा ‘भर्चुअल’ विशेष अधिवशेन गर्न दिनु हुँदैन ।
अबका केही महिनाहरुमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन हुन थाल्छन् । यस्तो अवस्थामा विशेष अधिवेशनतिर नलागि १० औं राष्ट्रिय सम्मेलनको तयारीमा लाग्नु पर्छ । कोरोना महामारीको संक्रमणमा धेरै मानिसहरुबीच भेटघाट पनि संभव छैन । प्रवासका धेरै मुलुकहरुले अत्यावश्यक काम बाहेक मानिसहरुलाई जम्मा हुन दिएका छैनन् । त्यसलाई हामी सबैले मान्नै पर्ने हुन्छ । त्यसकारण यो अव्यहारिक कामतिर लाग्नु हुँदैन ।

निर्वाचन पद्दति
हामीले १७ वर्ष अपनाएको निर्वाचन प्रणालीमा कमजोरी छ भने खोज्नु पर्छ । त्यो भनेको विशेषज्ञद्वारा विस्तृत अध्ययन गराउनु नै हो । भविष्यमा उम्मेदवार नहुने व्यक्तिहरु सम्मिलित एक टोली बनाएर यसका नकारात्मक पक्षहरु हटाउँ । यो पद्दतिबाट नकारात्मक पक्ष हटाउन सकिँदैन भने परिवर्तन गरौं । आफैं प्रस्ताव ल्याउने अनि आफैंले राम्रो छ भन्दै प्रचार गर्दै हिंड्नुपर्ने लाजमर्दाे अवस्था बन्द गरौं । विश्वभरका एनआरएनएहरुलाई विश्वास गरेर उहाँहरुको विचार बुझौं । विश्वभरका हामी एनआरएनए सदस्यहरु प्रत्यक्ष निर्वाचन चाहन्छौं भने प्रत्यक्ष निर्वाचन र अनलाईन भोटिङ जाऔं । संस्थापकमध्येका हामी प्राय अहिले बाहिर छौं । तपाई कार्यसमितिका पदाधिकारीहरु पनि भोलि हामी जस्तै बाहिर हुनु हुनेछ । एनआरएनएको उद्देश्यमाथि खेलबाड नगरौं । सके राम्रो बनाउँ नसके अहिलेको अवस्थामा छाडिदिनु होस् । शक्ति दुरुपयोग नगरौं ।

जय एनआरएन !
(लेखक एनआरएनएका संस्थापक सचिव हुन)

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री