बेलायतको अर्थतन्त्र तङ्ग्रिँदै

लण्डन । कोरोना महामारीका कारण खुम्चिएको बेलायतको अर्थतन्त्र सुधार हुँदै गएको छ ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जुलाई महिनामा बेलायतको अर्थतन्त्र ६ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ । यद्यपि महामारी पूर्वको अवस्थामा पुग्न धेरै नै बाँकी रहेको छ ।

बेलायतको अर्थतन्त्र लगातार तेस्रो महिना वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार महामारीका कारण बेलायतले गुमाएकोमध्ये आधामात्र वृद्धि भएको छ ।

हेयरड्रेसरहरु, पवहरु र रेष्टुरेन्टहरुले जुलाईमा अर्थतन्त्र सुधार हुनमा मद्दत गरेको बताइएको छ । यी व्यवसायहरु जुलाईबाट खुलेका थिए ।

बीबीसीका अनुसार कोरोना महामारी शुरु हुनुपूर्व फेब्रुअरीको अर्थतन्त्रभन्दा जुलाईको अर्थतन्त्र ११ दशमलव ७ प्रतिशत सानो छ । जबकि जुन महिनामा पनि बेलायतको अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले सुधार भएको थियो ।

कोरोना भाइरसका कारण लकडाउनमा जाँदा बेलायतको अर्थतन्त्र अप्रिल महिनामा २०.४ प्रतिशतले खुम्चिएको थियो र बेलायतमा आर्थिक मन्दी शुरु भएको थियो ।

क्यापिटल इकोनोमिक्सका अर्थविद् थोमस पुगका अनुसार रेष्टुरेन्ट र पव खुल्नाले जुन र जुलाईमा फुड सर्भिस क्षेत्रमा १४० दशलब ८ प्रतिशतले सुधार आएको बताए । उनले इट आउट हेल्प आउट योजनाले अगष्ट महिनामा समेत थप सुधार आउने आशा व्यक्त गरे ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डारेन मोर्गानले उत्पादन क्षेत्र, कार बिक्री, मदिरा उद्योगमा आएको सुधारका कारण अर्थतन्त्र तङ्ग्रिँदै गएको बताए । उनले कारको बिक्रि महामारीपूर्वको समयमा पुगेको पनि बताए ।

विद्यार्थीहरु विद्यालयमा फर्केको, पवहरु, होलिडे क्याम्पहरु खुलेका कारण आगामी महिना समेत अर्थतन्त्र सुदृढ हुँदै जाने आँकलन गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री