फर्लो योजना लम्ब्याउन संसदीय समितिको सुझाव

लण्डन । बेलायतको संसदीय समितिले सरकारलाई फर्लो योजना लम्ब्याउन सुझाव दिएको छ ।

सरकारले ठूलो संख्यामा हुने बेरोजगारीलाई कम गर्न फर्लो योजना ल्याएको थियो र अक्टोबरको अन्त्यदेखि सो योजना समाप्त हुँदैछ ।

संसदको ट्रेजरी सेलेक्ट कमिटीले फर्लो योजना अन्त्य गर्दा ठूलो संख्या लामो समय बेरोजगार हुने र व्यापारिक फर्महरुमा असर पार्ने भएकाले फर्लो अन्त्य गर्ने योजनामा विचार गर्न सरकारलाई सल्लाह दिएको छ ।

सो योजनाअन्तर्गत निजी क्षेत्रका कामदारहरुले आफ्नो तलवको ८० प्रतिशत र मासिक २ हजार ५०० पाउण्डसम्म सरकारबाट पाउँदै आएका छन् । यही सेप्टेम्बरदेखि सो योजनामा सरकारले ७० प्रतिशत र अक्टोवरमा ६० प्रतिशत मात्र दिन थालेको छ ।

अर्थ मन्त्रालयले संसदीय समितिको सुझावको प्रतिक्रियामा मन्त्रालयले रोजगार र आयलाई सहयोग गर्ने सृजनात्मक योजनाहरु निरन्तर कायम गरिने बताएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले अक्टोबरदेखि फर्लो योजना अन्त्य गर्ने बताएका थिए ।

समितिका सभापति मेल स्ट्राइडले अर्थमन्त्रीले सावधानीपूर्वक फर्लो योजना लम्ब्याउनु पर्ने बताएका छन् ।

बेलायतको बेरोजगार दर ३ दशमलव ९ प्रतिशत रहेको छ र बैँक अफ इङल्याण्डका अनुसार यस वर्षको अन्त्यसम्ममा ७ दशमलव ५ प्रतिशतसम्म पुग्नसक्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री