लण्डन । बारुदी सुरुङ पत्ता लगाउने एउटा मुसालाई ‘साहसिक कार्य गरेको र कामप्रति समर्पित रहेको’ भन्दै स्वर्णपदक दिइएको छ ।
मागावा नाम दिइएको सो मुसोले क्याम्बोडियामा ३९ वटा बारुदी सुरुङ र २८ वटा विष्फोटन नभएका बम फेला पारेको थियो ।
मागावाले १ लाख ४१ हजार वर्गमाइलमा विष्फोटक पदार्थ खोजी गरेको थियो । सो कार्यका लागि उसलाई बेलायतको जर्ज क्रस जत्तिकै मानिएको पीडीएसए गोल्ड मेडल दिइएको छ ।
मागावालाई मुसाहरुलाई बारुदी सुरुङ र क्षयरोग पत्ता लगाउन तालिम दिने एपीओपीओ नामक च्यारिटीले तालिम दिएको थियो । मागावा सो च्यारिटीको ७७ वर्षमा इतिहासमा यस्तो सम्मान पाउने पहिलो मुसा भएको बताइएको छ ।
सो अवार्डले क्याम्वोडियामा बारुदी सुरुङको अवस्थाका बारेमा विश्वको ध्यान तान्न सहयोग पुग्ने आशा गरिएको छ ।
क्याम्बोडियामा ४० देखि ६० लाख बारुदी सुरुङ बिच्छ्याइएको विश्वास गरिएको छ । जसमा परी ६४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
मुसाहरु बारुदी सुरुङ पत्ता लगाउन मेटल डिटेक्टरिष्ट भन्दा प्रभावकारी भएको बताइन्छ । एउटा टेनिस कोर्ट आकारको क्षेत्रफलमा बारुदी सुरुङ खोजी गर्न मागावालाई ३० मिनेट लाग्छ भने मेटल डिटेक्टरिष्टलाई चार दिनसम्म लाग्न सक्छ । साना आकारका कारण मुसाहरु बारुदी सुरुङ विष्फोटको जोखिममा पनि नपर्ने बताइएको छ ।
एपीओपीओले मुसालाई एक वर्ष तालिम दिन्छ । त्यसपछि उनीहरुले बिहानै आधा घण्टा काम शुरु गर्छन् । जब उनीहरुले बारुदी सुरुङ भेटेपछि मुसा लिएर हिँड्ने व्यक्तिलाई जानकारी दिने गर्दछन् ।
पीडीएसएका महानिर्देशक जान म्याकलोलिनले मागावा र एपीओपीको कार्य अनौठो र विशिष्ट रहेको बताए । उनले मागावाको कार्यले प्रत्यक्षरुपमा मानिहरुको जीवन जोगाउन र उनीहरुको जीवनमा परिवर्तन ल्याउन सहयोग गरेको बताइन् । हरेक बारुदी सुरुङ पत्ता लाग्दा मानिसहरुमा ज्यान जाने र अंगभंग हुने जोखिम घटने पनि उनले थपिन् ।
मागावाको समर्पण, सीप र साहस सबैभन्दा उच्च सम्मान पाउन योग्य रहेको बताउँदै उनले मागावालाई स्वर्णपदक दिन पाउँदा हर्ष लागेको बताइन् ।