हङकङमा आदिवासी जनजाति मूलको महावाणिज्यदुत नियुक्तिको अन्तर्कथा
लेखक भक्तबहादुर दुरा
नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महावाणिज्यदुतमा आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिव उदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासंघ हङकङको मागलाई सम्बोधन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट र धन्यवाद टक्रयाउँदै नवनियुक्त हावाणिज्यदुत उदय राना मगरलाई हार्दिक बधाइ र सफल कार्यकालको लागी शुभकामना टक्रयाउँदछु ।
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले गत भाद्र १३ गते आइतवारको दिन हङकङको लागी नेपाली महावाणिज्यदुतमा उदय राना मगरलाई नियुक्ति गर्ने ऐतिहासिक निर्णय गरेको छ । किनभने हङकङका लागी नेपाली महावाणिज्यदुत आदिवासी जनजाति मुलका यो भन्दा पहिले थिएन । हङकङमा पुगनपुग ५० हजार हजारको हाराहारीमा नेपालीहरू बसोवासरत छन् । जसमध्ये ९८% आदिवासी जनजाति रहेका छन् । हङकङमा नेपाली आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ हङकङ स्थापित छ । जुन संस्थाले विगत १४ वर्षदेखि नेपाल सरकारसंग आदिवासी जनजाति मूलका महावाणिज्यदुत पठाइओस् भन्ने माग राखेकोमा सरकारले बेवास्ता गरेको कारण शान्तिपूर्ण आन्दोलन गर्न बाध्य पारिएको थियो । महासंघको मागलाई नेपाल सरकारले बेवास्ता गर्दा हङकङमा कार्यरत महाणिज्यदुतहरूले सामाजिक बहिष्कार जस्तो अपमान भोग्नु परेको थियो भने नेपालका नेताहरूले हङकङेली नेपालीहरूबाट कालो झण्डाको विरोधसम्म खेप्नु परेको थियो । हङकङका नेपालीहरूको अनवरत आन्दोलनका कारण आखिर नेपाल सरकारले माग पूरा गर्न बाध्य भयो । त्यसैको परिणाम हो – उदय राना मगरको नियुक्ति ।
हंगकंगमा नेपालीको प्रवेश
हङकङको सन्दर्भमा कुरा गर्नुपर्दा हङकङमा नेपालीहरूको प्रवेश कसरी भयो भन्ने कुरा जानकारी लिनु अत्यन्त आवश्यक देखिन्छ । १९९७ भन्दा पहिले हङकङ बेलायत सरकारको अधिनमा रहेको थियो । हङकङ १९९७ पछि मात्र चीन सरकारको स्वशासित क्षेत्रको रूपमा रहेको छ । हङकङ बेलायत सरकारको अधिनमा रहंदा हङकङको शान्ति सुरक्षा र विकास निर्माणका लागी बेलायती सेनामा सेवारत गोर्खाहरू हङकङको भूमिमा रहेका थिए र गोर्खा सेनाका परिवार पनि जागिरको सन्दर्भमा निश्चित समयका लागी जान र बस्न पाउने हुंदा हङकङमा सेवारत गोर्खा सेनाका परिवारहरूबाट कयौं नानीहरू जन्मेका थिए । बेलायत सरकारको शान्ति सुरक्षा र विकास निर्माणमा महत्वपूर्ण भूूमिका खेलेका गोर्खाहरूको योगदान र बलिदानलाई बेलायत सरकारबाट बेवास्ता र भेदभाव गरिरहेका कारण सचेत गोर्खाहरूले गोर्खाहरूलाई गरिएको भेदभावविरूद्ध आवाज उठाउन गोर्खा भूतपूर्व सैनिक संघ स्थापना गरेका थिए । जुन हालसम्म पनि अनवरत संघर्षमा गोर्खाहरू हुनुहुन्छ । गेसोले आम गोर्खाहरूलाई संगठित गरी समान अधिकारको लागी अनवरत संघर्षका कारण हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवासीय सुविधा दिने निर्णय बेलायत सरकारले गर्यो । बेलायत सरकारको निर्णयका कारण हङकङमा गोर्खाका सन्तान नेपालीहरूको प्रवेश भएको हो । हामी सबैलाई थाहै भएको कुरा हो कि गोर्खा सेनामा सेवारत कुन समुदायका थिए त भन्दा नेपालका आदिवासी जनजातिहरू नै थिए । हालसम्म पनि बेलायती सेनामा आदिवासी जनजाति मूलकै बाहुल्यता छ ।
गोर्खा भर्ति कति ठीक कति बेठीक ?
गोर्खा भर्ती कति ठीक थिए र छ वा ठीक थिएन वा बाध्यता थियो भन्ने विषयमा कुरा गर्नु पर्दा हिजोको सन्दर्भमा शासकहरूको स्वार्थ पूरा गर्न गोर्खा भर्तिको शुरूवात भएको बुझिन्छ तर पछि आएर रोजगारको अवसरको उच्चतम स्थान ओगाट्नसम्म पुगेको देखिन्छ । हालसम्म पनि युवाहरूको बृटिस गोर्खा भर्ति पहिलो रोजाइमा पर्दछ । अहिलेको सन्दर्भमा पनि मुलुकको अवस्थालाई हेर्दा त गोर्खी भर्ति वा बेलायती सेनामा भर्ति भएर रोजगारको राम्रो अवसर मिल्यो भन्न सकिन्छ तर अरूको देशको लागी रगत र पसिना बगाउनु पर्ने, प्रथम विश्व युद्ध र दोश्रो युद्धमा ज्यान गुमाएका अंगभंग भएको कहालीलाग्दो दुख्ख पाएको र मुलुकमा बसेर सेवा गर्ने अवसर गुमाउँदाको कारण आज मुलुकको नीति नियम बनाउने ठाउँमा पुग्न नसकेको अवस्थालाई हेर्दा अत्यन्त दुख्ख लागेर आउँछ ।
हुनत गोर्खाका सन्तानले विकसित मुलुकको विकसित क्षेत्रमा बस्ने सेवा गर्ने अवसर त मिल्यो तर हिजो गोर्खा भर्तिको नाममा सक्षम आदिवासी जनजाति युवाहरूलाई विदेशी सेनामा सेवा गर्न पठाएर राज्यले जुन किसिमको षडयन्त्र रचेका थिए । त्त्यो षडयन्त्रको मार अहिलेसम्म पनि आदिवासी जनजातिहरूले खेप्नु परिरहेको छ । अहिले पनि हङकङको आवासीय सुविधालाई उच्चतम वैदेशिक रोजगारको रूपमा हेरिन्छ र पछिल्ला दिनहरूमा युकेको आवासीय सुविधालाई पनि उच्चतम रोजगारको रूपमा हाम्रा समुदायले हेरेको देखिन्छ । यो मुलुकको परिस्थितिमा सत्य र सही होला तर हङकङको आवासीय सुबिधा हुनुभन्दा पहिला आदिवासी जनजाति मूलका गोर्खा सैनिकका छोराछोरीहरूले जुन किसिमको प्रगति मुलुकमा गर्न लागिरहेका थिए त्यस प्रगतिमा बाधा पुग्न पुग्यो । गोर्खाका सन्तानहरू डाक्टर, इन्जिनियर बनेका थिए । नेपाल सरकारको सेवामा सबैले चासो लिएको अवस्था थियो तर ती सबै कुराहरू ओझेलमा पर्न गयो । अवसरको नाममा गोर्खाका सन्तानहरू आफ्नो मुलुकको सेवा गर्ने अवसर गुमाउँदै विकसित राष्ट्र र विकसित ठाउँमा त पुगे तर कन्स्ट्रक्शन्सका कामदार, रेष्टुरेन्टका कामदार र सेकुरिटी गार्ड बन्न पुगे । यस्तो अवस्थालाई हामी सबै आदिवासी जनजाति राजनेता, बुद्धिजीवी र समाजसेवीहरूले के सम्झनु पर्छ भने गोर्खाका सन्तानहरूको रूपान्तरण कुन ठाउँमा भयो ? गोर्खाहरू भनेको बहुसंख्यक नेपालका आदिवासी जनजातिहरू हुन् । यिनीहरू राष्ट्रको मूलधारमा आउन नसक्नु मूल कारण गोर्खा भर्ति नै हो र अहिले आएर बैदेशिक रोजगार नै हो भनेर सम्झनु पर्ने हुन्छ ।
विदेशमा बस्ने आम नेपालीको मुलुकप्रतिको योगदान कस्तो छ र राज्यले कसरी हेरेको छ ?
मुलुकको अवस्थालाई मध्येनजर गरेर हेर्दा हामी हाम्रो सुन्दर देश नेपालमा जन्मियौं, हुर्कियौं, पढ्यौँ तर रोजगार नपाएका कारण बैदेशिक रोजगार रोज्न बाध्य भइयो । यो सरकारमा हालिमुहाली भएका सबै खालका व्याक्तिहरूलाई जानकारी छ र पार्टी नेता समाजसेवीहरूलाई पनि थाहा छ । हामी युवाहरूले पनि बुझेका छौं कि कुनै उपय नभए पछि सरकारको सहयोगको लागी नेपाली युवाहरूले वैदेशिक रोजगार रोज्न बाध्य भएका छौं । विदेशमा रगत र पसिना बगाएर परिवारको सपना पूरा गरेको, सुन्दर नेपाललाई सुन्दार बनाउन र आफ्नो बालबच्चाको भविष्य निर्माण गर्नको लागी महत्वपूर्ण भूमिका खेलेका छौं । त्यति मात्र होइन मुलुकको आमूल परिवर्तनका लागी विदेशमा भएका सबै सचेत नागरिकहरूले धेरै थोरै योगदान गरेका छौं । हामीले नढाँटीकन भन्नुपर्दा हाम्रो मुलुकमा जति पार्टी, सामाजिक संस्था, धार्मिक संस्था र जातिय संस्था लगायत जति पनि संस्था छन् ती सबै संस्थाको भातृ संस्थाहरू विदेशमा पनि छन् । तिनै संस्थाहरूको माध्यामबाट पार्टी नेता साथै मुलुकमा परेको सबै खाले समस्याको समाधानका लागी सहयोग गरिरहेका छौं । त्यति मात्र होइन मुलुकको आमूल परिवर्तनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको कुरा घाम जत्तिकै छर्लंग छ । नेपालको राजनीतिक पार्टीको हकमा त पार्टीका नेताहरूको विदेश घुम्ने. उपहार लिने र चुनाव खर्च जुटाउने थलोको रूपमा परिचित छ । पार्टी र नेतालाई सहयोग गर्नु विदेशमा रहेका नेपालीहरूको काम र कर्तव्य नै हो जस्तो गरिन्छ । विदेशमा भएकाहरूले पनि हामीहरूले मुलुकको परिवर्तनका लागी नेताहरूले गरेको योगदानलाई सम्मान गर्नु पर्छ र आवश्यक सहयोग गर्नु पर्छ भन्ने भावना बोकेका हुन्छौं । त्यसकारण नेपालका नेता, पार्टी, बुद्धिजीवी र समाजसेवीहरू मुलुक बैदेशिक रोजगारको रेमिटेन्सले चलेको छ भन्ने कुरा स्वीकार गर्दछन् तर विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा भने नेपालका पार्टी नेताहरूले कहिलै चासो राखेनन् । यसको सबुद प्रमाण हो – बिदेशमा आवासीय सुविधा लिएका नेपालीलाई नागरिकताबाट बंचित गर्नु । यो दुखत बिषय बनेको छ ।
हङकङमा नेपालका आदिवासी जनजातिहरूको बाहुल्यता कसरी भयो ?
गोर्खाका सन्तानहरू जो बेलायत र हङकङमा गएका छन् उहांहरू अधिकारको उपभोग गर्न गएका हुन् । बेलायत सरकारको शान्ति सुरक्षा र विकास निर्माणका लागी महत्वपूर्ण योगदान दिएबापत बेलायत सरकारले हङकङमा जन्मेका गोर्खाका सन्तानहरूलाई आवासीय सुविधा दिए । हामी सबैलाई थाहा छ गोर्खा भर्तिको शिलशिला नेपालको आदिवासी जनजातिहरूलाई राज्यले अघि सारे । राज्यको आदेशलाई सिरोपर गरी लाखौं आदिवासी जनजातिका छोराहरू बेलायती सेनामा भर्ती भए । नेपालका शासकहरूको स्वार्थका लागी बलिदान दिए । त्यसैको उपहारस्वरूप आदिवासी जनजातिहरूको हङकङमा प्रवेश गरेको हो र बाध्यतावस गोर्खाहरूले यसलाई अवसर भन्न परेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।
हङकङमा नेपाली आदिवासी जनजातिहरूले किन आदिवासी जनजाति मूलका महावाणिज्यदुत माग गर्नु पर्यो ?
नेपालका आदिवासी जनजातिहरू सिधासाधा त छँदैछन् त्यसमा पनि गोर्खा सेनाका सन्तान जसले इमान्दार, कर्तव्यनिष्ट, सहनशील र बहादुरको पहिचान विश्वमा चिनाएको थिए गोर्खाहरूले । उनिहरूमा कुनै किसिमको षडयन्त्र र स्वार्थ हुदैन । थिएन । आफ्नो काम पर्दा मुख मिलाउन नजान्ने र जाने पनि आवश्यक नठान्ने यो नै गोर्खाका पहिचान हो । यो सोझो पनको फाउदा उठाएका थिए तत्कालिन महावाणिज्यदुतहरूले । अर्को पक्ष नेपालमा आमूल परिवर्तनका लागी नेपालका आदिवासी जनजातिहरूको महत्वपूर्ण योगदानका कारण निरंकुश राजतन्त्रको अन्त भई लोकतान्त्रिक गणतन्त्रको उदय भएको थियो । संघीयता, समानुपातिक, समावेशिता, सहभागिता र समानाधिकारको पक्षमा आदिवासी जनजातिहरू थिए । मुलुकको आमूल परिवर्तनका समयमा मुलुकको पार्टी नेताहरूले पनि यसलाई सहर्ष स्वीकार गरेका थिए । मुलुकको आमूल परिवर्तनमा हङकङमा बसोवास गर्ने नेपालीहरूले पनि कांधमा कांध मिलाएर महत्वपूर्ण योगदान गरेका थिए । अर्कोतिर तत्कालिन महावाणिज्यदुतहरूको रबैया निरंकुश शासकहरूको पालामा जे थियो त्यसमा परिवर्तन भएको थिएन । किनभने उनिहरू निरंकुश शासकहरूले जन्माएर हुर्काएका शक्ति सम्पन्न व्यक्तिहरू हुन्थे । आदिवासी जनजातिहरूको सोझोपनको फाइदा लुट्न खोज्ने, नाजायज दुख्ख दिने, आदिवासी जनजातिहरू संस्थाहरूको विरोध गर्ने, हिन्दु धर्म संस्कृति र चाडपर्वलाई मात्र सम्मान गर्ने, बहुसंख्यक आदिवासी जनजातिहरूको धर्म संस्कृति चाडपर्वलाई अपहेलना गर्ने , अनैतिक धन्दा गर्नेहरूलाई विश्वासिलो पात्र बनाउने, हङकङमा रहेका नेपालीहरूको काममा ढिला सुस्ती र दुख्ख दिने आदि कारण मुख्य थिए । झनै हङकङमा आवासीय सुविधाका लागी गएका गोर्खाका सन्तानहरूलाई हेर्ने दृष्टिकोण नै फरक थियो । हङकङमा आवसीय परिचय पत्र लिने सम्बन्धमा त नेपालदेखि हङकङसम्म मुलुकको कर्मचारी तन्त्रलाई गोर्खाका सन्तानहरूले कयौं थैली भेटी चढाउनु पर्यो गणना गरेर सकिने अवस्था छैन । यसबाट मुक्ति पाउनका पनि आदिवासी जनजाति मूलका महावाणिज्यदुत माग गरेको हो ।
आन्दोलनलाई सहयोग गर्ने सबै हङकङवासी नेपाली समुदायप्रति हार्दिक धन्यवाद
पंक्तिकार हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदुत पठाइओस् भन्ने शान्तिपूर्ण आन्दोलनको एक सदस्यको नाताले हङकङवासी दाजुभाइ, दिदीबहिनीहरू, संघ संस्था, बुद्धिजीवी, पत्रकार र समाजसेवी महानुभावहरूमा हङकङमा नेपाल आदिवासी जनजाति महासंघको मागलाई अन्तरआत्मादेखि नै सहयोग गरिदिनु भएकोमा हार्दिक आभार प्रकट र धन्यवाद टक्रयाउन चाहन्छ । आन्दोलनको क्रममा पर्न गएको समस्याप्रति क्षमा माग्न पनि चाहन्छ । आन्दोलनको समयमा विरोध गर्न नसकेता पनि महावाणिज्यदुतको नजिकको पात्र बन्न चाहनेहरू हङकङमा नभएको हैन तर यो संख्या अत्यन्त न्यून रहेको थियो । ती पात्रहरु जो मौन बसिदिनु भयो यहांहरूप्रति पनि आभार प्रकट र धन्यवाद भन्न चाहन्छु ।
तत्कालीन महावाणिज्यदुतहरूमा क्षमायाचना
यसभन्दा पहिलेका महावाणिज्यदुतहरूले नेपाली समुदायको हरेक क्रियाकलपमा खुलेर सहभागी हुन पाउनु भएन । सामाजिक बहिष्कार जस्तो अपमान सहनु पर्यो । हामीले बुझेका छौं । यो गल्ति तपाईहरूको होइन राज्यको हो । हामीले भनेका थियौं कि तपाईहरू नआउनुहोस् । तपाईहरू सचिव, मुख्य सचिव साथै सम्बैधानिक अंगका प्रमुख बन्नु होस् तर हाम्रो कुरा न उहांहरूले सुन्नुभो न राज्यले । आदिवासी जनजाति महासंघको माग जायज थियो । यो जायज मागको लागी हामीले गरेको मागको उद्देश्यको मूल्यांकन पनि यहांहरू जस्ताले गर्न नसक्ने कुरै भएन । सत्यको एक दिन जित हुन्छ भन्ने हामीले सोचेका थियौं । मुलुकमा निरंकुश राजसंस्था हुँदासम्म त आश गर्ने कुरा भएन तर मुलुक सत्ता संरचना परिवर्तन पछि पनि हाम्रो आवाजलाई सुनुवाई गरिएन । जसको कारण कति नेताले कालो झण्डाको स्वागत खेप्नु पर्यो । कति नेता स्यालको चालबाट हङकङमा छिरेर फिर्ता हुनु पर्यो । कति नेता हङकङ छिर्न समेत सकेनन् ।
आन्दोलन कस्तो थियो ?
आन्दोलन शान्तिपुर्ण थियो तर अत्यन्त पेचिलो थियो । अफसोच आदिवासी जनजातिहरूको पक्षमा मिडिया थिएन । आन्दोलनको सही कुरा सम्प्रेषण कतै भएन । महावाणिज्यदुतलाई ससम्मान नआउन आग्रह गरिएको थियो । उहाँहरूलाई हङकङमा बाहेक मुलुकमा र अन्य मुलुकमा सम्मानित पदमा सम्मान सरकारले गरोस् भन्ने चाहना आन्दोलनको ध्येय थियो । सामाजिक बहिष्कार गरिएको थियो । देशको प्रतिनिधिले कतै जान नपाउनु र सामाजिक बहिष्कार जस्तो अपमान हुनु कस्तो अवस्था होला ? हामी सबैले बुझ्न पर्ने कुरा हो । यो हाम्रो चाहना नहुंदानहुंदै राज्यका कारण बाध्य भएका थियौं ।
आन्दोलनको नेतृत्वप्रति सबैले सम्मान गर्न जरूरी
आदिवासी जनजातिहरूको मागलाई नेतृत्वले गरेको संघर्षको भूमिका अत्यन्त महत्वपूर्ण र प्रशंसनीय छ । आदिवासी जनजाति आन्दोलनका लागी महासंघका लागी नेतृत्व गर्ने नरहाङ राई, भुपेन्द्र चेम्जोंग, मैनबहादुर थापा वर्तमान अध्यक्ष किसान राईको भूमिका महत्वपूर्ण भएको कुरा कसैले बिर्सनु हुँदैन । उहांहरूको कुशल नेतृत्वका कारण आदिवासी जनजाति महासंघ हङकङको आन्दोलनलाई ९८% हङकङमा रहेका नेपालीहरूको समर्थन गरेका थिए तर नालायक राज्यसत्ता मौन थियो । आदिवासी जनजाति महासंघको मागलाई देख्न नसक्नेहरू नगण्य रूपमा मात्र होइन तिनीहरू समाजबाट तिरस्कृत र स्वार्थका खेती गर्ने पात्रहरू थिए । उहांहरूलाई पनि नेतृत्वले आफ्नो वसमा ल्याउन सफल भएको थियो । हिजोका दिनमा आन्दोलनको विरूद्धमा लागेको पात्रहरू मलाई लाग्छ आदिवासी जनजाति मूलका महावाणिज्यदुतलाई स्वागत गर्ने र खादा लाउने पनि तिनै पात्रहरू अगाडी हुनेछन् ।
आदिवासी जनजाति मूलका महावाणिज्यदुत आउँदैमा ठूलो आश नगरौं तर हिजोको भन्दा फरक होस्
आदिवासी जनजाति मूलका महावाणिज्यदुत आउदैमा ठूलो परिवर्तन हुन्छ भन्ने छैन । आदिवासी जनजातिहरू कुनै पनि तह तप्का होस् मुख मिलाउनसम्म जान्दैनन् । किनभने मुख मीठो हुनेहरूको मन राम्रो हुदैन । मुख मीठो हुनेहरू तिनै अनैतिक क्रियाकलाप गर्नेहरूसंग मिलेको हुन्छ । मुख नमिलाओस् तर छिटो छरितो तरिकाले काम होस् । अनयासमा दुख्ख नदियोस् । भ्रष्ट अनैतिक काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइओस् । कसैलाई पनि भेदभाव नगरिओस् । सबैलाई समान दृष्टिले हेरिओस् । हङकङ र नेपालको सम्बन्ध सुमधुर बनाइओस् । एउटा सक्षम, दक्ष, इमान्दर र कर्तव्यनिष्ट व्यक्तिले नयां नेतृत्व लिएपछि नयां कुरा सृजना गरी हिजोका ग़लत संस्कृति र परम्परालाई समाप्त पार्नु नै महान योगदान मानिन्छ । आशा छ आदिवासी जनजाति मूलका महावाणिज्यदुत उदय राना मगर यस विषयमा जानकार हुनुहुन्छ ।
अस्तित्व र पहिचानका लागी काम गर्दाका अनुभव
हङकङमा केही गरौं भन्ने समूहलाई समाप्त पार्न सक्रियहरूका कारण हारेका समाजसेवीहरू मध्येमा यो पंक्तिकार पनि एक हो । कुरा ठूलो गर्ने तर समाजका हितका लागी गर्न खोज्नेहरूको खुट्टा तान्नेहरू आज हङकङमा टाउको उठाउँदै लुकाउँदै हिडिरहेका छन् । नेपाली भाषाको, शिक्षाको, संस्कृतिको र पहिचानको कुरा गरी हिँडेको देख्दा लाज लाएर आउने अवस्था हामीलाई भएको छ । जो व्याक्तिहरू नेपालीको अस्तित्व र पहिचान जोगाउन लागी सृजना भएका संरचनाका स्तम्भहरू भत्काउन अहो रात्र खटे आज हङकङमा नेपाली समुदायको त्यति ठूलो उपस्थिति भएता पनि आफ्नो अस्तित्व र पहिचानसंग गाँसिएका विषयहरूको संरक्षण र सम्बर्धन गर्ने स्तम्भहरू बनेको छैन । यो दुखद कुरा हो । नेपाली समुदायले गोरव गर्न लायक स्तम्भहरू निर्माण गर्न खोज्दा भत्काउनेहरूको जित भएकोमा अत्यन्त दुखी बनेको छु । समाजका केही तत्व र नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासंघ हङकङले आन्तरिम संविधानलाई सम्मान गर्दा, आमूल परिवर्तनका भावनालाई व्यवहारमा उतार्न खोज्दा हामी माथी विभिन्न खालको आरोप लगाइयो । सामाजिक सद्भाव बिथोल्न खोजे । सांप्रदायिक दंगा भड्काउन खोजे । विभाजनकारी जस्ता पगरी गुथाइयो । तिमीहरू सक्षम पनि हुनु पर्यो । तिमीहरूको मान्छे सहसचिव पनि हुनुपर्यो नि जस्ता कुराहरू गर्थे । हामीले आदिवासी जनजाति मुलका सहसचिवहरूको सूची समेत दिएका थियौं तर हामीले बुझेका कुरा के हो भने हङकङमा महावाणिज्यदुत बन्न मुलुकमा ठूलो दौडधुप चलखेल चल्दोरहेछ । त्यसका कारण के हो बुझ्न त्यति गार्हो नहोला ।
अन्तमा नेपाली समुदायको हितका लागी काम गर्न चाहने, स्वार्थका खेती नगर्ने र हङकङको राजनीतिमा संलग्न नहुनाका कारण हामीले उठाएको विषयहरूले पूर्णता पाएन । आखिर राजनीति महत्वपूर्ण विषय रहेछ भन्ने कुरा पंक्तिकारको बुझाइ छ । शासकहरू कहिलै पनि कुनै पनि दयालु मन भएका र सहजरूपले जनताका आवाजलाई स्वीकार गर्दो रहेनछ भन्ने विषयमा हङकङवासी नेपाली समुदाय स्पष्ट भएका छन् । हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदुत आएता पनि खासै परिवर्तन त केही हुन सक्दैन किनभने राज्य सन्चालनका परिपाटीमा खासै परिवर्तन आएको देखिँदैन । महावाणिज्यदुतले पनि नुनको सोझो गर्नु पर्यो । हामीले देखेको कुरा के हो भने नयाँ ठाउंमा नयां जिम्मेवारी लिएको व्यक्ति वा पदाधिकारीले जनताको हितको लागी नयां कुरा ल्याउने र नयां चिनो छोडेर इतिहास रचोस् भन्ने हाम्रो चाहना हो । यसका लागी हामीले पाइला चाल्न खोजियो । गन्तव्य स्थानमा पुग्नका लागी हामीले भोग्न परेको सम्पूर्ण घटना विवरण यहां उल्लेख गर्न सकिने अवस्था छैन । राज्यले हाम्रो मागलाई संबोधन गरेको कारण हिजोका दुख्खका घाउहरू आज निको भएको छ । पुन: नेपाल सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ हङकङले घुँडा टेकायो भन्नेवाला हामी छैनौं तर जनताको आवाज स्वीकार नगरी सुख्खै छैन र माग पूरा गरी छाड्छौं भन्ने संकल्प पूरा भएको छ । यो जित हङकङेली नेपालीको जित हो । आमनेपालीको जित हो । यो नेपाल सरकारको जित हो । यो आदिवासी जनजातिको जित हो । उदय राना मगरलाई पुन बधाई । हाम्रो मागलाई पूरा गर्न नेपाल सरकारको सहसचिव बनेर आदिवासी जनजातिको शिर उच्चो पारि दिनु भयो । नेपालको आदिवासी जनजातिको कुशल भुमिपुत्रको सदस्य भएर हङकङका लागी नेपाली महावाणिज्यदुत जस्तो गरिमामय पदमा पुगेर इतिहास रच्न सफल हुनु भयो । सफल कार्यकालको लागी शुभकामना ।
लेखक दुरा दुरा सेवा समाजको संस्थापक अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को पूर्व सचिव, नेफिन हंगकंग र युकेको सल्लाहकार रहिसकेका छन् ।