किरात राई यायोक्खा युकेमा एकले अर्को पक्षलाई निष्कासन

लण्डन । बेलायतमा रहेका जातीय संस्थाहरुमध्ये एक प्रमुख संस्था किरात राई यायोक्खा बेलायत भित्रको अन्तरकलह छताछुल्ल भएको छ ।
दुई समूहमध्ये एकले अर्को समूहलाई कार्यसमितिबाट निष्कासन गर्ने क्रमसँगै यो झगडा संस्थाभित्रको आन्तरिक विषयमात्र नभई अब सार्वजनिक बन्न पुगेको छ ।
चन्द्रबहादुर राई कार्यबाहक अध्यक्ष रहेको समूहले यही अक्टोबर ३ तारिख २०२० का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष कल्पना राईउपर पेश गरिएको अविश्वासको प्रस्ताव साधारणसभाले पारित गरेको र उनी अब यायोक्खाको अध्यक्ष पदमा नरहेको स्पष्ट पारेको छ ।
प्रेस विज्ञप्तिमा अध्यक्ष राईमाथि ६ डिसेम्बर २०१९ का दिन अविश्वासको प्रस्ताव पेश भएको र कोरोना भाइरसबाट सिर्जित महामारीका कारण पूर्व घोषित साधारणसभा स्थगित हुँदै १९ सेप्टेम्बर २०२० मात्र बसेको बताइएको छ । सो साधारणसभाले अध्यक्ष कल्पना राई विरुद्ध प्रस्तुत अविश्वास प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको जनाइएको छ ।
यायोक्खाको केन्द्रीय समितिमा ४६ जना सदस्य रहेकोमा सो साधारणसभामा २६ जनाको उपस्थिति रहेको र २४ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेको बताइएको छ । बाँकी दुई जनाले मतदानमा भाग लिएनन् ।
सो साधारणसभाले अध्यक्ष राईलाई स्वविवेकले राजिनामा दिन दुई साताको समय दिएको तर सो समयभित्र उनी झन् गुटगत क्रियाकलापमा लिप्त रहेको आरोप प्रेस विज्ञप्तिमा लगाइएको छ ।
विज्ञप्तिमा अध्यक्ष राईले किरात राईभित्र संस्थागत विभेद गरेको, एक थरी भाषा र सँस्कृति अन्य राईहरुमा लाद्न खोजेको, किरात राईभित्र विखण्डन, घृणा, द्वन्द्व फैलाएको, संस्थाको विवाद समाधान गर्न नखोजी किरात राई यायोक्खा नेपालसित लम्पसार परेको र पदको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ ।
उता यायोक्खा युकेकी अध्यक्ष कल्पना राईले भने आफूलाई अध्यक्ष पदबाट निस्कासन गरिएको भन्ने समाचार गलत र भ्रामक भएको बताउनुभयो । कार्यबाहक अध्यक्ष भनेर भनिएका चन्द्रबहादुर राई र महासचिव भनिएकी चन्द्रावती राईलाई यसअघि डिसेम्बर ७, २०२० मा बसेको कार्यसमितिको बैठकले निष्कासन गरिसकेको पनि उहाँले बताउनुभयो ।
यसबाहेक यही सप्टेम्बर २७, २०२० मा कल्पना राईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले चन्द्रबहादुर राई पक्षका आठजना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई निष्कासन गरेको छ ।
यायोक्खामा अविश्वासको प्रस्ताव ल्याउन कुल सदस्य संख्याको एकतिहाई सदस्यले हस्ताक्षर गर्नुपर्ने उल्लेख गर्दै उहाँले तथाकथित साधारण सभामा उपस्थित भनिएकाहरुलाई १० पटक गन्दा पनि बहुमत नपुग्ने दाबी गर्नुभयो । उहाँका अनुसार यायोक्खाको कुल सदस्य संख्या करिब एक हजार सात सय छ । “यो संस्थालाई विथोल्न खोज्ने एउटा सानो झुण्ड हो, उहाँहरुलाई न केन्द्रीय समिति, न प्रारम्भिक समितिहरु, न सल्लाहकार र बुद्धिजीवीहरुको समर्थन छ”, उहाँले भन्नुभयो ।
संस्थाका पूर्व अध्यक्षको पालामा शुरु भएको समस्यालाई आफ्नो  पालामा समाधान गर्दा यो समस्या आएको उनको भनाइ छ ।
उहाँले समस्या समाधानका लागि वार्तामा बस्न पटकपटक अनुरोध गर्दा पनि अर्को पक्ष नआएको आरोप लगाउनुभयो । “आउनुहोस्, वार्ताको टेबलका बसौँ । मेरो काम गलत भएको प्रमाणित गर्नुहोस् । म एक सेकेण्ड पनि अध्यक्ष पदमा बस्दिनँ” राईले भन्नुभयो ।
किराया नेपालले पटकपटक वार्ता गर्न बोलाउँदा पनि अर्को पक्ष नआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म सम्मेलनबाट निर्वाचित अध्यक्ष हुँ । मैले संस्थालाई हानी पुर्याएको भए विधानसम्मत तरिकाले कारबाही गर्न सकिन्छ । विधिविधानभन्दा ठूलो म होइन । तर दुई चारजनाले आरोप लगाउँदैमा राजिनामा दिएर हिँड्ने कुरा आउँदैन ।”

प्रेस विज्ञप्ति पूरै पढ्न यहाँ क्लीक गर्नुहोस्

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री