कोरोना भाइरस नियन्त्रण गर्न बेलायतमा तीन स्तरको सतर्कता प्रणाली

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । बेलायत सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्न इङ्ल्याण्डमा तीन चरणको सतर्कता प्रणालीको घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलगायतलाई ध्यान दिँदै तीन चरणको सतर्कता प्रणालीको अवधारणा ल्याइएको बताए ।

आज बेलायती संसदमा घोषित सो प्रणालीअनुसार कोरोनाको सतर्कता तह मध्यम, उच्च र उति उच्च गरी तीन तहको हुनेछ । स्थानीय स्तरको संक्रमणलाई हेरी तीन चरणमा विभाजन गरिने छ ।

मध्यम स्तरको सतर्कतामा देशका धेरै भूभाग समेट्छन् । अहिले लागू गरिएको कोरोना नियन्त्रणका लागि अपनाइएका उपायहरु छ जनामात्र भेला हुन पाउने नियम र १० बजेपछि पव, रेस्टुरेन्टहरु बन्द गर्नपर्ने निर्देशनहरु सोहीअन्तर्गत पर्नेछन् ।

उच्च तहको सतर्कताअन्तर्गत मानिसहरुलाई अन्य घरको मानिसहरुसित घरभित्र भेटघाट हुन पाइने छैन । ती क्षेत्रमा अहिले नै स्थानीय लकडाउन लागू गरिएका छन् । म्यानचेष्टर, बर्मिङघम लगायतका क्षेत्र यस भित्र पर्नेछन् ।

अति उच्च तहको सतर्कताभित्र मानिसहरुलाई आफ्नो घरभित्र र बाहिर पनि अन्य घरका मानिसहरुसित भेटघाट गर्न मनाही गरिएको छ । यस क्षेत्रमा बाहिरबाट मानिसहरुलाई जान निषेध गरिने छ । यस्तै लिजर सेन्टरहरु, क्यासिनोहरु र जिमहरु सो क्षेत्रमा पनि बन्द रहनेछन् । तथापि पसलहरु, विद्यालयहरु र विश्वविद्यालयहरु भने खुल्ला रहने छन् ।

प्रधानमन्त्री जोन्सनले यसबारेमा आज बेलुकी ७ बजे टेलिभिजनमार्फत सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री