बेलायतमा बेरोजगारी तीन वर्षकै सबैभन्दा उच्च

लण्डन । कोरोना भाइरसको महामारीका कारण बेलायतमा बेरोजगारीको संख्या विगत तीन वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

बेलायतको राष्ट्रिय तथ्या‌ंक कार्यालय (ओएनएस) का अनुसार जुन-जुलाई-अगष्ट सम्ममा बेरोजगारीको दर ४ दशमलव ५ प्रतिशतले बढेको छ । जबकि सोभन्दा अघिल्ला तीन महिनामा सो दर ४ दशमलव १ प्रतिशत रहेको थियो ।

कार्यालयले जागिर कटौती सन् २००९ यताकै उच्च विन्दुमा पुगेको बताएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि तीन तहको सतर्कता अपनाई कडाइ गर्ने घोषणा गरेकै भोलिपल्ट यो तथ्या‌ङ्क आएको हो ।

कार्यालयका डेपुटी तथ्यांकशास्त्री जोनाथन आथोले मार्चयता मानिसहरुले जागिर गुमाउने र जागिर खोज्ने क्रम अति नै बढेको बताए ।

महामारी शुरु भएयता करिब ५ लाख मानिसले बेलायतमा जागिर गुमाएको अनुमान गरिएको छ । जसमा युवावर्ग सबैभन्दा प्रभावित रहेको उनले बताए । १६ देखि २४ वर्ष उमेर समूहका ३ लाख मानिसहरु रोजगारविहीन भएको र यो संख्या कूल बेरोजगार संख्याको ६० प्रतिशत रहेको बताइएको छ।

धेरैजसो जागिर गुमाउनेहरुमा हस्पिटालिटी, ट्राभल र रिक्रुटमेण्ट क्षेत्रका रहेको उनले बताए।

कार्यालयका अनुसार बेरोजगार भएर सरकारसित भत्ता आवेदन गर्नेहरुको संख्या सेप्टेम्बरमा २७ लाख पुगेको बताएको छ ।

यसै महिनादेखि सरकारले ठूलो संख्यामा जागिर कटौती नहोस् भनी ल्याएको फर्लो योजना पनि सकिने भएपछि बेरोजगारको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

सीटी बैँकका एक विश्लेषकले अर्को वर्षको आधासम्ममा बेरोजगारीको दर ८ दशमलव ५ प्रतिशतसम्म पुग्नसक्ने आँकलन गरेका छन् । जुन सन् १९९० यताकै सबैभन्दा उच्च हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री