एनआरएन यूकेले गर्यो सल्लाहकारहरुसंग अन्तरक्रिया

लण्डन । ‘एनआरएन डे’ को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरुसंग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक वर्ष पुगेको परिप्रेक्ष्यमा संघको वार्षिक गतिविधिको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

जुममार्फत भएको छलफलको शुरुवातमा वार्षिक गतिविधिको प्रतिवेदन महासचिव फडिन्द्र भट्टराईबाट प्रस्तुत गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आफुले कार्यभार ग्रहण गरेपछिको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सल्लाहकारहरुलाई स्वागत गर्दै अध्यक्ष पुनम गुरुङले गत वर्षमा कार्यसमितिले यथाशक्य कार्यसम्पादन गरेको र बाँकी समयमा एनआरएन यूकेका सल्लाहकार, अग्रज अगुवा तथा अभियन्ताको सल्लाह सुझावअनुसार काम गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा सहभागी सल्लाहकारहरुले विगत एक वर्षको समयमा कार्यसमितिले  सकारात्मक शुरुआत गरेको र बाँकी दिनमा अझै सुधारोन्मुख कार्यहरु गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो  । झन्डै ५ घण्टाभन्दा बढी चलेको छलफलमा नागरिकता, गोर्खा लगायतका बेलायतवासी नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर अगाडी बढ्न सुझाव दिइएको थियो ।

कार्यक्रममा बोल्दै सल्लाहकारहरुले कोषाध्यक्षको प्रतिवेदनले यो कार्यसमितिको  आर्थिक पारदर्शितालाई दर्शाएको र विगत कार्यकालको सवालमा उठेका प्रश्नहरुको समाधानको लागि गठित जाँचबुझ समितिको प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्न सुझाव दिनु भएको थियो । यस सम्बन्धमा मिडियामा देखिएका अभिव्यक्तिहरुप्रति दुख व्यक्त गर्दै सल्लाहकारहरुले संघ भित्रका विमतिहरुलाई संघ भित्रै समाधान गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बोल्दै अधिकांश सल्लाहकारहरुले कतिपय मिडियामा देखिने गरेका एनआरएन सम्वद्द सामाग्रीहरु पूर्वाग्रह प्रेरित भएकोले यसले मिडियाप्रतिको  विश्वनीयतामा ह्रास आएको  भन्दै चिन्ता र चासो व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विगत कार्यकालको आर्थिक गतिविधिको जाँचबुझ गर्न गठित  समितीका संयोजक तथा सल्लाहकार  एल एन पाण्डेले समितिले आफ्नो काम शुरु गरिसकेको र यसमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले गर्नु भएको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रमुख पदाधिकारीसहित केही आईसीसी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुल ८२ जनाको सहभागिता थियो ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री