इङ्ल्याण्डमा कोरोना नियन्त्रणका लागि तीन तहको सतर्कता आजदेखि लागू

लण्डन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि इङल्याण्डमा आजदेखि तीनतहको सतर्कता लागू भएको छ ।

सरकारले सोमबार मात्र स्थानीय तहमा कोरोना भाइरस संक्रमणको अवस्था हेरी मध्यम, उच्च र अति उच्च सतर्कतामा विभाजन गरी सोही अनुसारको नियन्त्रणकारी कदम चाल्ने घोषणा गरेको थियो । सो प्रस्तावमाथि संसदमा छलफल भई पारित समेत भएपछि आजदेखि लागू भएको हो ।

मध्यम सतर्कता भित्र परेका क्षेत्रहरुमा छ जनाभन्दा बढी घरभित्र वा बाहिर जमघट हुन नपाउने, राति १० बजेपछि पब, बार र रेष्टुरेन्टहरु बन्द गर्नपर्ने नियम छ । उता उच्च सतर्कताभित्र परेका क्षेत्रहरुमा भने एकाघरका बाहेक अरुसित घरभित्र भेला हुन निषेध गरिएको छ । यो वर्गमा उत्तर पश्चिमी इङल्याण्डका क्षेत्रहरु, मिडल्याण्डका केही भागहरु, पश्चिमी र दक्षिणी योर्कसायरका क्षेत्रहरु परेका छन् ।

अति उच्च सतर्कताका क्षेत्रहरुमा नियन्त्रणका उपायहरु कडा पारिएका छन् । जहाँ एकाघरका सदस्यबाहेक अरुसित घरभित्र र बाहिर पनि भेट्न मनाही गरिएको छ । पब तथा बारहरुको सेवामा पनि नियन्त्रण गरिएको छ । ती क्षेत्रमा बाहिरबाट भेटघाटका लागि जान र अत्यावश्यक काम बाहेक ती क्षेत्रहरुबाट बाहिर ननिस्कन पनि सुझाव दिइएको छ । स्थानीय निकायले ती क्षेत्रका जिम, लिजर सेन्टरहरु, जुवाघरहरु बन्द गराउन सक्ने बताइएको छ ।

सरकारको नयाँ नियमअनुसार देशका धेरैजसो भाग मध्यमस्तरको सतर्कताभित्र परेका छन् तर उत्तरी इङल्याण्डका भागहरु भने उच्च र अति उच्च सतर्कता भित्र परेका छन् ।

हालसम्म लिभरपुल क्षेत्र मात्र अतिउच्च स्तरको सतर्कता अपनाइएको क्षेत्रमा परेको छ । जहाँ कडा नियम लागू गरिएको छ ।

उता उच्च सतर्कताको क्षेत्रमा परेका म्यानचेष्टर क्षेत्रमा पनि अति उच्च सतर्कता अपनाउने कि नअपाउने बारेमा आज स्वास्थ्यविदहरुले निर्णय लिने बीबीसीले जनाएको छ ।

इङ्ल्याण्डबाहेक उत्तरी आयरल्याण्डले आगामी सोमबारदेखि ‘हार्फ टर्म’लाई लम्ब्याउने निर्णय गरेको छ भने वेल्समा सरकारले केही समयका लागि लकडाउन लगाउने बारेमा सोचिरहेको बताइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले इङल्याण्डमा देशव्यापी लकडाउन नलगाउने प्रष्ट पारिसकेका छन् भने प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीका नेता सर किअर स्टामरले भने कोरोना भाइरस संक्रमणको दरलाई टुटाउन तीन साताका लागि देशव्यापी लकडाउन लगाउनु पर्ने मत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री