हङकङका बिएनओहरुलाई बेलायत आउने बाटो जनवरी ३१ देखि खुल्दै

लण्डन । हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बिएनओ) हरुले जनवरी ३१ देखि बेलायत आउन आवेदन दिन पाउने भएका छन् ।
बेलायती गृह मन्त्रालयले यसैसाता प्रकाशन गरेको सूचनामा सो जानकारी दिइएको हो ।

बेलायत सरकारले बीएनओ राहदानीबाहकहरुलाई बेलायतमा बसाइ सराइ गर्न, काम गर्न र अध्ययन गर्न पाउने बताइएको छ । बीएनओहरुलाई उनीहरुको सीप र योग्यता र बेलायतको रोजगार सम्बन्धी कानुनअनुसार बेलायतका सबै क्षेत्रमा काम गर्ने अधिकार रहने  छ । हङकङमा रहेका सबै बीएनओहरु, उनीहरुका हङकङमा परिवारले अब बेलायत आउन पाउने छन् ।

गृह मन्त्रालयले बीएनओहरुलाई बेलायत आउन कुनै अधिकतम संख्याको सीमा नरहेको प्रष्ट पारेको छ । यसरी बेलायत आउने बीएनओहरुले बेलायतको नागरिकता पाउने पनि बताइएको छ ।

चिनियाँ सरकारले हङकङमा सुरक्षा सम्बन्धी कानुन लागू गरेर चीन तथा बेलायतको संयुक्त घोषणा पत्र उल्लंघन गरेको आरोप लगाउँदै बेलायत सरकारले बीएनओ राहदानीबाहक हङकङबासीहरुलाई बेलायतमा आउन दिन निर्णय गरेको हो । यो निर्णयबाट हङकङमा रहेका नेपाली मूलका बासिन्दाहरु पनि लाभान्वीत हुने अपेक्षा गरिएको छ ।

हङकङस्थित ब्रिटिश कन्सुलर जनरल आन्ड्रयु हेनले बीएनओहरुलाई बेलायतको नागरिकता दिने सम्बन्धी तरिकाका बारेमा जानकारी प्रकाशन गरिएको बताएका छन् । चिनियाँ सरकारले राष्ट्रिय सुरक्षा कानुन हङकङमा लागू गरेर हङहङबासीको अधिकार र स्वतन्त्रता हनन गरेको उनले आरोप लगाए । बीएनओलाई बेलायतको नागरिकता दिने निर्णय बेलायतको हङकङप्रतिको प्रतिवद्धताको पाटो भएको उनले प्रष्ट पारे । उनले भने, ‘बेलायत बीएनओ र उनीहरुका परिवारलाई बेलायतमा स्वागत गर्न तयार छ ।’

बीएनओहरुलाई बेलायतकी भिसा आवेदन गर्ने शुल्क पनि घटाइएको छ । पाँच वर्षको भिसाका लागि प्रतिव्यक्ति २५० पाउण्ड लाग्नेछ । त्यस्तै ३० महिनाको भिसाका लागि जनही १८० पाउण्ड लाग्नेछ । यो शुल्क अन्य बाटोबाट बेलायत आउनेको तुलनामा सस्तो हो ।

तर बीएनओहरुले पनि बेलायतको स्वास्थ्य सेवा (एनएचएस) प्रयोगवापतको शुल्क भने तिर्नुपर्नेछ । साथै शुरुको छ महिना आफू र आफ्नो परिवार पाल्न सक्ने स्रोत पनि देखाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री