प्यानलमा महिला सहभागिता नभएपछि दुताबासको आलोचना

दुताबासले शुरुमा सार्वजनिक गरेको पोष्टर (बाँया) सामाजिक सन्जालमा आलोचनापछि परिवर्तन गरिएको पोष्टर (दाँया)

लण्डन । नेपाली राजदुताबास लण्डनले यही शनिबार आयोजना गर्न लागेको नेपाल विकाससम्बन्धी सम्मेलनका वक्ताहरु समावेशी नभएको भन्दै सामाजिक सन्जालमा आलोचना भएपछि दुताबास वक्ताहरुको नाम परिवर्तन गर्न बाध्य भएको छ ।

दुताबासले मंगलबार बिहान आधिकारिक फेसबुक तथा ट्वीटर पेजमा सार्वजनिक गरेको पोष्टरमा छ जना पुरुष वक्ताहरुको मात्र नाम र तस्वीर सार्वजनिक भएपछि सामाजिक सन्जालमा आलोचना भएको थियो ।

‘नेपालको विकास बारेमा बेलायतमा बसोबासरत पीएचडी होल्डरहरुको विचार र दृष्टिकोण’ विषयमा दुताबासले जुममार्फत सो सम्मेलन आयोजना गरेको हो ।

शुरुमा सार्वजनिक पोष्टरमा प्रमुख वक्ताका रुपमा प्रा. डा. सूर्यप्रसाद सुवेदी र अन्य वक्ताहरुमा प्रा. डा. पदम सिम्खडा, डा. कृष्ण अधिकारी, डा. बच्चुकैलाश कैनी, डा. बीरेन्द्र श्रेष्ठ र डा. भास्कर अधिकारी रहेका थिए ।

सो पोष्टर सार्वजनिक भएपछि अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका सोर्चिस कार्कीले महिला सहभागिता नभएकोमा ध्यानाकर्षण गराएका थिए । त्यस्तै, युवा अभियन्ता लेक्स लिम्बुले सो प्यानल समावेशी नभएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेका थिए । डा. सन्तोष गैरेले प्यानलमा महिला तथा आदिवासी जनजातिको सहभागिताका बारेमा प्रश्न उठाएका थिए । सोलिसिटर दीपक भट्टराईले भने पीएचडी हुँदैमा मात्र विकास सम्बन्धी विचार दिन सकिने हो भन्दै कार्यक्रमको अवधारणामाथि नै प्रश्न गरेका थिए । कार्यक्रममा वक्ता रहेका अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले पुरुष वक्ता मात्र रहेको कुरा आयोजकलाई जानकारी गराएको सामाजिक सन्जालमा लेखेका थिए ।

सामाजिक सन्जालमा चर्को आलोचना पछि दुताबासले मंगलबार अपराह्न डा. पुनम यादवलाई थप गरेर नयाँ पोष्टर सार्वजनिक गरेको छ । तर पोस्टर परिवर्तन गरिनुको कारण भने कतै खुलाइएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री