बेलायतमा आतङ्कवादी आक्रमणको खतरा बढ्यो

लण्डन । फ्रान्स र अष्ट्रियामा आतङ्कवादी घटनापछि बेलायतले आतङ्कवादी आक्रमणको खतराको स्तर बढाएको छ ।

यसअघि  ‘पर्याप्त’ रहेको आतङ्कवादी आक्रमणको स्तर मंगलबारबाट ‘गम्भीर’ बनाइएको छ । जसको अर्थ हुन्छ बेलायतमा आतङ्कवादी आक्रमण हुने सम्भावना धेरै छ ।

बेलायतकी गृह मन्त्री प्रीति पटेलले कुनै विशेष आक्रमणको सूचनाको आधारमा सावधानी अपनाउन खतराको स्तर बढाइएको बताइन् । आममानिसहरुलाई सतर्क रहन र कुनै सन्देहास्पद गतिविधि देखिए प्रहरीलाई सूचित गर्न आह्वान गरेकी छिन् ।

गत राति अष्ट्रियामा र गत साता फ्रान्समा आतङ्कवादी आक्रमण भएको थियो । ती घटनापछि बेलायतको संयुक्त आतङ्कवादी विश्लेषण केन्द्रले खतराको स्तर बढाउने निर्णय गरेको हो ।

गत वर्षको आतङ्कवादी आक्रमणको स्तर गम्भीरबाट पर्याप्तमा झारिएको थियो ।

बेलायतमा आतङ्कवादी आक्रमणको खतराको स्तर कम, मध्यम, पर्याप्त, गम्भीर र नाजुक गरी पाँच वटा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री