सोमबारदेखि इङल्याण्डका माध्यमिक तहका विद्यार्थी र शिक्षकमा मास्क अनिवार्य

लण्डन । कोरोना भाइरसको संक्रमण रोक्न सोमबारदेखि इङल्याण्डका माध्यमिक तहका विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।

बेलायत सरकारले बुधबार जारी गरेकाे निर्देशनअनुसार अब कक्षा ७ र सोभन्दा माथिका कक्षाका विद्यार्थी, शिक्षक र कर्मचारीहरुले सामूहिक स्थानहरु, करिडर, कक्षा बाहिर र सामाजिक दुरी कायम गर्न नसकिने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ ।

यसअघि टियर २ र ३ मा परेका क्षेत्रका माध्यमिक कक्षाका विद्यार्थी र शिक्षकहरुमा मात्र लागू गरिएको यो नियम अब इङल्याण्डभर लागू गरिने भएको छ ।

इङल्याण्डमा लकडाउन विहीबारदेखि नै शुरु भए पनि माध्यमिक कक्षाका विद्यार्थीहरु र शिक्षकहरुलाई मास्क लगाउने नियम लागू गर्न भने सोमबार सम्मको समय दिइएको छ ।

प्राथमिक विद्यालयका विद्यार्थीहरुले भने मास्क लगाउनु पर्ने छैन । यसैगरी विशेष शिक्षा लिइरहेका र अपाङ्ता भएका विद्यार्थीहरुलाई पनि मास्क लगाउनै पर्ने बाध्यता छैन । तर प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीले मास्क लाउने नलगाउने भन्ने निर्णयको अधिकार भने सम्बन्धित विद्यालयलाई नै दिइएको छ ।

स्कटल्याण्डमा यसअघि नै माध्यमिक कक्षाका विद्यार्थी र कर्मचारीहरुले सामूहिक स्थानमा मास्क लगाउनु पर्ने नियम लागू भइसकेको छ ।

यसका साथै विद्यालयका कर्मचारीहरुलाई सामाजिक दुरी कायम हुन नसक्ने स्थानमा अनुहार ढाक्न निर्देशन दिइएको छ भने अभिभावकहरुलाई समेत केटाकेटी छोड्न र लिन आउँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।

गत अगष्टमा बेलायतका प्रधानमन्त्रीले माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा मास्क लगाउन नपर्ने निर्णय लिएका थिए । तर अहिले सरकारले सो निर्णय उल्टाएको छ ।

सामूहिक स्थान, करिडोरहरुबाहेक विद्यालयका अन्य स्थानमा मास्क लगाउनु पर्ने किन नपर्ने भन्ने निर्णय गर्ने अधिकार विद्यालका प्रधानाध्यापकलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री