युकेमा कोरोना भाइरसविरुद्धको खोप क्रिसमसबाट शुरु हुनसक्ने

लण्डन । कोरोना भाइरसका विरुद्धमा फाइजर र बायोएनटेकको खोपले आशाजनक परिणाम देखाएको समाचार सार्वजनिक भएसँगै बेलायतमा सो खोप चाँडोमा क्रिसमससम्ममा दिन सकिने बताइएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य इङल्याण्डका उपप्रमुख प्रोफेसर जोनाथन भान टानले सो कुरा स्पष्ट गरेका हुन् ।

खोप बारेको समाचार सकारात्मक भए पनि धेरै प्रक्रियाहरु पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले नियामक निकायले स्वीकृति दिएमा क्रिसमससम्ममा खोप दिने कार्य शुरु गर्न सकिने बताए । उनले खोप कसलाई पहिले दिने भन्ने बारेमा स‌ंयुक्त खोप समितिले यसअघि नै प्रस्तावित खाका बनाइसकेको र पाको उमेरलाई प्राथमिकता दिइने जानकारी दिए ।

प्रधानमन्त्री बोरिस जोनसनले भने खोपका बारेमा आएका समाचारलाई आधार मानेर उत्साहित नहुन आग्रह गरे । उनले बेलायतले सो खोपको ४ करोड डोज अर्डर गरिसकेको उल्लेख गर्दै बेलायतका लागि सो पर्याप्त हुने बताए । उनले खोपको सफलताको समाचार महत्वपूर्ण सफलता भन्दै अझै खोप लगाउने चरणमा पुग्न बाँकी नै रहेको स्मरण गराए । उनले यदि नियामक निकायबाट खोप लगाउन स्वीकृति पाएको अवस्थामा बेलायत तयार अवस्थामा रहेको पनि प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री