बेलायतमा कसले पाउँछन् शुरुमा कोरोना विरुद्ध खोप ?

तस्विर : स्काई न्यूज

लण्डन । संसारमै बहुप्रतीक्षित कोरोना भाइरसविरुद्धको खोपमा फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरिररहेको खोपको प्रभावकारिता बारेको समाचार सोमबार सार्वजनिक भएसँगै संसारभर खोपको आशा जागेको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयमा सोमबार बेलुका आयोजित पत्रकार सम्मेलनमा क्रिसमसबाटै खोप दिन बेलायत तयार रहेको जानकारी पनि दिइयो तर अब जिज्ञासा उठ्न सक्छ सबैभन्दा पहिले कसले खोप पाउँछ ?

बेलायत सरकारले खोपको विकास हुनुभन्दा धेरै महिना अगाडी यस वर्षको शुरुवातमै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आन्ड्रयू पोलार्डको संयोजकत्वमा संयुक्त खोप तथा प्रतिरक्षा समिति गठन गरेको थियो । सो समितिको पहिलो बैठक फेब्रुअरीमा बसेको थियो । सो समितिले सेप्टेम्बर २५ मा यदि कोरोनाविरुद्ध खोप पत्ता लागेमा कसलाई पहिला दिने भन्ने बारेमा प्राथमिकता निर्धारण गरेर प्रकाशन समेत गरेको छ ।

जसअनुसार पहिलो प्राथमिकता केयर होममा रहेका वृद्धवृद्धा र केयर होमका कर्मचारीलाई दिइनेछ । उनीहरुमा पनि उमेरका आधारमा ८० वर्ष कटेकाहरुलाई शुरुमा दिइनेछ भने दोस्रो प्राथमिकता ७५ वर्ष वा सो माथिकाहरु, तेस्रो प्राथमिकतामा ६५ वर्ष वा सोमाथिकाहरु र त्यसपछि ६५ वर्षमुनीका उच्च जोखिममा रहेकाहरुलाई खोप दिइनेछ ।

त्यसपछिको प्राथमिकतामा मध्यम जोखिममा रहेका ६५ वर्ष वा सो मुनीकाहरु, त्यसपछि ६० वर्ष वा सोभन्दा माथिकाहरु त्यसपछि ५५ वर्ष वा सोभन्दा माथिकाहरु, त्यसपछि ५० वा सोभन्दा माथिकाहरु र बाँकी सबै मानिसलाई खोप दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री