लिम्बुवान समाज यूकेको अध्यक्षमा मेन्याङ्वो

लन्डन । लिम्बुवान समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् ।

समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिनिकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सुवर्ण इधिङ्गोले मेन्याङ्वोलाई पदीय जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

मेन्याङ्वो यसअघि सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष रहिसकेका छन् । उनी ब्रिटिस गोर्खा भेट्रान एसोसिएनका वरिष्ठ उपभापति, मेन्याङ्वो कल्याणकारी संस्था यूकेका अध्यक्ष, यूके ब्याडमिन्टन एसोसिएसनका महासचिव, युमा साम्यो महासभा यूकेका उपाध्यक्ष समेत हुन् । त्यसबाहेका दर्जन बढी सामाजिक अभियानहरूमा सक्रिय छन् ।
पदीय हस्तान्तरण कार्यक्रममा उपस्थित भएर नवनियुक्त अध्यक्षलाई सपथ खुवाउँदै जसपा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले निर्णायक लिम्बुवान आन्दोलनमा प्रवासमा रहने समर्थकहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । ‘प्रवासमा रहेका नेपाली र लिम्बुवानवासी समर्थकहरूको नैतिक साथले धेरै महत्व राख्नेछ,’ उनले भने । उनले महामारी नियन्त्रण हुनेबित्तिकै नेपालमा बृहत लिम्बुवानी सभा आयोजना गर्ने जानकारी समेत दिए ।

यसैगरी, समितिका सल्लाहकार लाहाङ चेम्जोङले लिम्बुवान भूगोल सभ्यताको आन्दोलन पनि भएको जिकिर गर्दै संसारभर छरिएर रहेका लिम्बुवानवासीहरूको सहयोगले रणनीतिक हिसाबले भूमिका खेल्नुपर्ने कुरा ओैंल्याए । उनले नेपालका हरेक ठूला राजनीतिक आन्दोलनहरूमा प्रवासले कूटनीतिक रूपमा पहल गरेको उदाहरण दिए ।

कार्यक्रममा सल्लाहकार नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, युमा लिम्बु, मान तबेबुङ, अमित थेवे लगायतले शुभकामना दिएका थिए । कार्यक्रम समाजका सचिव छन्त वनेमले सञ्चालन गरेका थिए ।

नवनियुक्त अध्यक्ष मेन्याङ्वोले निकट भविष्यमै समितिलाई अधिवेशनमार्फत पूर्णता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री