आजदेखि बेलायतमा जीपीबाट पनि कोभिड-१९को खोप दिइँदै

लण्डन । आजदेखि बेलायतमा जेनेरल प्राक्टिसनर (जीपी)बाट पनि कोरोना भाइरसविरुद्ध फाइजर र बायोनटेकले बनाएको खोप दिइँदै छ ।

आजबाट छानिएका १०० जीपीहरुले र भोलिबाट थप १०० जीपीहरुले सो खोप उपलब्ध गराउने बताइएको छ तर बेलायतभरका सबै जीपीमा भने खोपको सुविधा उपलब्ध छैन । बेलायतमा १२०० जीपी रहेको बताइएको छ । बाँकी जीपीहरुमा पनि क्रमश खोप लगाउने सेवा उपलब्ध गराउँदै जाने योजना रहेको छ ।

रोयल कलेज अफ जेनेरल प्राक्टिसनर प्रोफेसर मार्टिन मार्शलका अनुसार जीपीहरुले खोप लगाइने मानिसलाई निमन्त्रणा गर्नेछन् । त्यसैले सबैलाई खोपका लागि जीपीमा नआउन र फोन नगर्न पनि उनले अनुरोध गरे । शुरुमा जीपीले ८० वर्ष माथिका मानिसहरुलाई खोप दिने पनि उनले जानकारी दिए । यसका साथै स्थानीय क्षेत्रको अवस्थाअनुसार जोखिममा रहेका अल्पसंख्यक समुदाय वा अन्यलाई पनि खोप दिन सकिने उनले बताए ।

खोप लगाउनका लागि बोलाइएका मानिसहरुलाई अरु खोप लगाउँदा जस्तै शुरुमा रिसेप्सनमा नाम रुजु गरेपछि नर्सले खोप लगाउन मन्जुर भएको कागजमा सही गराउने छन् । खोप लगाइसकेपछि १५ मिनेटसम्म जीपीमै बस्नुपर्नेछ । खोपबाट शरीरमा कुनै असामान्य प्रतिक्रिया उत्पन्न हुन्छ कि भनेर यसो गरिएको बताइएको छ ।

प्रोफेसर मार्शलले विगतमा एलर्जीको बिरामी भएकाहरुलाई खोप नलगाउन सुझाव दिएका छन् ।

बेलायतमा गत सातादेखि खोप लगाउन शुरु गरिएको हो । शुरुमा ५० वटा अस्पतालबाट खोप लगाउन शुरु गरिएको थियो ।

सरकारले कुन समूहलाई शुरुमा खोप दिने भन्ने प्राथमिकताका आधारमा सूची यसअघि नै बनाइसकेको छ ।

बेलायतमा गत साता फाइजर र बायोनटेकले उत्पादन गरेको ८ लाख डोज खोप आइसकेको छ । थप डोज यसैमहिना आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री