बेलायतमा एक सातामा १ लाख ३८ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

लण्डन । कोरोना भाइरसका विरुद्ध विकसित खोप लगाउने पहिलो मुलुक बेलायतमा हालसम्ममा करिब १ लाख ३८ हजारले खोप लगाइएसकेको पाइएको छ ।

बेलायत सरकारका खोप मन्त्री नदिम जहावीले बुधबार साे जानकारी दिएका हुन् ।

उनले बुधबार एक ट्वीट गर्दै एक सातामा १ लाख ३७ हजार ८९७ जनामा फाइजर तथा बायोएनटेकद्वारा विकसित कोभिड-१९ विरुद्धको खोप दिइएको बताएका छन् ।

बेलायतले अघिल्लो मंगलबारदेखि खोप लगाउन शुरु गरेको थियो ।

उनका अनुसार हालसम्ममा इङल्याण्डमा १ लाख ८ हजार जनामा, वेल्समा ७ हजार ८९७ जनामा, स्कटल्याण्डमा १८ हजार जनामा र नर्देन आयरल्याण्डमा ४ हजार जनामा खोप दिइएको छ ।

उनले सो तथ्यांक अन्तरिम मात्र भएको बताएका छन् । धेरैवटा केयर संजालमा खोप बाँडिएकाले यो संख्या बढी हुनसक्ने पनि उनले ओैंल्याएका छन् ।

खोपका बारेमा पारदर्शिता अपरिहार्य हुने भन्दै उनले आगामी सातादेखि खोपका बारेमा नियमित जानकारी दिने पनि बताएका छन् ।

बेलायत सरकारको एक साताको तथ्यांक हेर्दा दिनमा सरदर साढे १९ हजारले खोप पाएको देखिन्छ । यो सुस्त भएको र पूरा जनसंख्यालाई यदि दरमा खोप दिने हो भने वर्षौै लाग्ने भन्दै सामाजिक सन्जालमा आलोचना पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री