मास्टरसेफ २०२० को ताज ‍‍‍एसेक्सका आलेक्स वेवलाई

तस्बिर : द सन

लण्डन । मास्टरसेफ द प्रोफेसनल्स २०२० को ताज एसेक्सका आलेक्स वेवले जितेका छन् ।

बिहीबार साँझ बीबीसीबाट प्रसारित साे प्रतियोगिताको १३ओैं संस्करणको फाइनलमा उनलाई विजेता घोषणा गरिएको थियो ।

३२ जना सेफबाट छानिएर फाइनल तीनमा नेपालका सन्तोष साह, नेदरल्याण्डसका बार्ट भान डर ली र एसेक्सका आलेक्स वेव पुगेका थिए ।

सिरहा कर्जन्हाका ३५ वर्षीय साह १५ वर्षको उमेरदेखि सेफ बनेका हुन् । सन्तोष विगत १० वर्षदेखि लण्डनमा सेफ छन् । उनले प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार बनाएर प्रस्तुत गरेका थिए ।

उनले प्रतियोगिता जित्नु हार्नु आफ्नो उद्देश्य नभएको तर नेपाली खानाको प्रबर्धन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउँदै आएका छन् ।

सानैमा पिताको देहान्त भएपछि उनकी आमाले सात दाजुभाइ दिदीबहिनीके देखभाल गरेकी थिइन् । परिवारको भरणपोषणका लागि उनी दाजुको साथ लागेर भारतको गुजरात पुगेका थिए । त्यहीँबाट उनी शुरुमा रेस्टुरेन्टमा सामान्य कर्मचारी हुँदै सेफ बनेका थिए ।

भारतीय खाना बनाउन निपुण उनी हाल लण्डनको द सिन्नामोन क्लव रेष्टुरेन्टमा हेड सेफका रुपमा कार्यरत छन् ।

उनी करिब दुई वर्षदेखि नेपाली खानाको अनुसन्धान र प्रबर्धनमा सक्रिय छन् ।

प्रतियोगिताको फाइनलमा पुगेका ली निजी सेफका रुपमा लण्डनमा कार्यरत छन् । उनले खानासम्बन्धी ब्लग पनि चलाउँदै आएका छन् ।

अर्का फाइनलिष्ट वेव डनमाउ एसेक्समा हेडसेफका रुपमा कार्यरत छन् । उनी फ्रेन्च खाना बनाउन मन पराउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री