नयाँ वर्षको पहिलो सातामै बेलायतमा लाखौँलाई कोरोनाविरुद्ध खोप दिने तयारी

लण्डन । नयाँ वर्षको शुरुवातसँगै बेलायतमा लाखौँ मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताइएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै शनिबार प्रकाशित डेली टेलिग्राफले डिसेम्बरको अन्त्यमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले बेलायतको खोप नियामक निकायबाट अनुमति पाउने र जनवरीदेखि व्यापक मात्रामा खोप दिइने समाचार प्रकाशन गरेको छ ।
डेली टेलिग्राफ बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोन्सन निकट मिडियाका रुपमा मानिन्छ र उनी पहिले सो पत्रिकाको सम्पादक समेत रहिसकेका छन् ।
समाचारअनुसार बेलायतको खोप नियामक मेडिसिन्स एण्ड हेल्थकेयर रेगुलेटरी एजेन्सी (एमएचआरए) ले अक्सफोर्ड तथा आष्ट्राजेनिकाद्वारा संयुक्त रुपमा विकसित खोपको अन्तिम तथ्यांक गत सोमबार प्राप्त गरिसकेको छ । एमएचआरएले क्रिस्मस लगत्तै डिसेम्बर २८ वा २९ मा अक्सफोर्डको खोपलाई मान्यता दिने दाबी समाचारमा गरिएको छ ।
त्यसपछि ठूलो संख्यामा खोप दिनका लागि एनएचएसले फुटबल स्टेडियमहरुलाई जनवरीको पहिलो सातादेखि नै प्रयोगमा ल्याइने बताइएको छ ।
बेलायतमा एक सातामा करिब १ लाख ४० हजार बयोवृद्ध तथा केयर होमका बासिन्दा र त्यहाँका कर्मचारीलाई कोरोनाविरुद्ध फाइजर र बायोएनटेकले बनाएको खोप दिइसकिएको छ ।
शुरुमा ५० वटा अस्पतालबाट दिन शुरु गरिएको खोप गत सातादेखि करिब १०० जीपीमार्फत खोप दिन थालिएको छ र अर्को सातादेखि थप ३०० जीपी र ८३ वटा अस्पतालबाट खोप दिइने व्यवस्था मिलाइने छ ।
यो सप्ताहन्तसम्ममा करिब ५ लाखले खोप पाउने अनुमान गरिएको छ भने अर्को सातादेखि दैनिक २ लाख मानिसलाई खोप दिइने योजना छ । क्रिस्मसपछि भने सातामै १० लाख मानिसलाई खोप दिने महत्वाकांक्षी योजना ल्याइएको छ ।
बेलायतमा केयर होममा बसोबास गर्ने र केयर होममा काम गर्ने कर्मचारीहरुको कुल संख्या १० लाख ९८ हजार छ । त्यस्तै बेलायतमा ८० वर्ष माथिका उमेरका मानिसहरुको संख्या ५० लाख ६२ हजार जना रहेको छ । ७५ वर्ष माथि उमेर पुगेकाहरु २३ लाख २५ हजार २९६ जना रहेका छन् भने ७० वर्ष माथिकाको संख्या ३३ लाख १८ हजार ८६७ जना छन् ।
अक्सफोर्डको खोपले अनुमति पाउने बित्तिकै लाखौँलाई खोप दिन खोप केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ ।
सरकारले मार्चसम्ममा जोखिममा रहेका २ करोड मानिसहरुलाई खोप दिइसक्ने तयारी गरेको छ भने समरसम्ममा बाँकी सबै मानिसहरुलाई खोप दिने योजना छ ।
बेलायतले अक्सफोर्डको खोपको १० करोड डोज अर्डर गरेको छ जसमध्ये ४० लाख तत्काल उपलब्ध हुने अवस्थामा रहेको छ ।
अक्सफोर्डको खोप कम तापक्रममा राखे पनि हुने भएकाले भण्डारण गर्न र ओसारपसार गर्न सजिलो हुनेछ । एनएचएसका अधिकारीहरुले सो खोपलाई ‘गेम चेञ्जर’को रुपमा हेरेका छन् ।
खोप लगाउनका लागि ठूला ठूला ठाउँबाहेक फार्मेसीहरुलाई पनि अनुमति दिइनेछ ।
अक्सफोर्डको खोपको शुरुको ४० लाख डोज नेदरल्याण्डस् र जर्मनीबाट बेलायत आउने छ भने बाँकी डोज बेलायतमै उत्पादन हुनेछ । यसबाट खोप ल्याउन र खोप केन्द्रमा पुर्याउन सजिलो हुनेछ ।
आष्ट्राजेनिकाले थप १ करोड ५० लाख डोज केही दिनमै तयार हुने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री