बेलायत काग्रेसको राष्ट्रिय मेलमिलाप दिवस : ओलीको कदम असंवैधानिक

लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी) यूकेले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोभगतमा संघिय संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको छ । गत २ जनवरीमा भर्चुअल रुपमा मनाइएको राष्ट्रिय मेलमिलाप दिवसमा एनपीसीसी युकेका गरेका कार्यक्रममा शुभकामना दिने नेताहरुले प्रधानमन्त्री ओलीको असवैधानिक कदमको बिरोध गरेका हुन ।
शुभकामना मन्तव्यको क्रममा एनपीसीसीका सल्लाहकार चिरञ्जीवी ढकालले स्वर्गीय विपी कोइरालाले अख्तियार गरेको राष्ट्रिय मेलमिलापको नीति राष्ट्रिय राजनीतिको सन्दर्भमा मात्रै नभएर हरेक सर्वसाधारणले नीजि जीवनमा समेत अनुशरण गरि आपसी भातृत्वको विकास गर्नु पर्ने धारणा राखे ।
सल्लाहकार नरकुमारी लिम्बूले कम्युनिस्टलाई खाने बाघले कांग्रेसीहरुलाई पनि खान सक्ने बताइन । उनले राष्ट्रिय मेलमिलापको नीतिको अवलम्वन आजको सन्दर्भमा पनि अपरिहार्य भएको र विशेषगरी युवाहरुले एकार्कालाई सम्मान गर्ने बानीको विकास गर्नु पर्ने सुझाव दिइन्।
अर्का सल्लाहकार शिवजी श्रेष्ठले एनपीसीसी यूके कुनै एउटा च्यारिटेबल संस्था नभएर सिद्धान्त र विचार लिएको संस्था भएको हुनाले यो संस्था कुनै साना तिना कुराहरुमा अल्झेर स्रोत र शक्तिको खर्च गर्न नहुने सुझाव दिए ।
मेलमिलाप दिवसको सान्दर्भिकता अझै रहेको बताउदै सल्लाहकार शेर सुनारले भने, “१४ बर्ष जेल बसेको हुँ भनेर घमण्ड गर्ने प्रधानमन्त्री केपी आफैंले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई बाँदरको हातमा परेको नरिवल जस्तो बनाए ।” पूर्व सभापति विनोद राज मोक्तानले प्रतिनिधि सभा विघटनपछि कांग्रेसले अवलम्वन गर्नु पर्ने नीतिमा एकाकार हुनपर्ने जनाए । पूर्व उपसभापति कुमारी गुरुङले बेलायतमा आफ्ना सुरुका दिनहरुको स्मरण गराउँदै एनपीसीसी यूके सबै लोकतन्त्रवादीहरुको एउटा साझा थलो भएको बताइन । पूर्व महामन्त्री बिजन भट्टले तत्कालको फाइदा मात्रै हेरेर चुनावमा जान हतारिनु भन्दा कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउनतर्फ बढी चिन्तित हुन पर्ने सुझाव दिए । अर्का महामन्त्री आर. के. त्रिपाठीले भने, “बीपीको राष्ट्रिय मेलमिलापको नीति कुनै एउटा पार्टी वा गुट बलियो हुनका लागि नभएर राष्ट्रियताको सवालमा एक हुन पर्ने भन्ने थियो ।”

पूर्व कोषाध्यक्ष कृष्ण गुरुङले विपीको मेलमिलाको नीति राष्ट्रिय राजनीतिमा मात्रै नभएर निजी जीवनमै पनि फरक विचार राख्नेहरुसंग समेत मिलेर बस्न सुझाएको बताए । उनले एक पटकको नेपाली सधैं नेपाली हुनका लागि पनि नेपाली हुनु पर्ने पक्षमा एनपीसीसी यूके लविङ गर्नु पर्नेमा जोड दिए । त्यस्तै महामन्त्री केशव भण्डारीले २०३३ को राष्ट्रिय मेलमिलापको नीति २०७७ सालमा पनि उत्तिकै सान्दर्भिक भएको तर्क पेश गरे ।अर्का महामन्त्री प्रवेश केसीले राष्ट्रिय मेलमिलाप राजासँग मिल्नका लागि भएकाले राजतन्त्र व्युताउन पर्नेमा जोड दिए । तर आफ्नो मन्तव्यको क्रममा उपसभापति कोपिला सुब्बाले त्यस्तो विचारको प्रतिवाद गर्दै भनिन् – “राजतन्त्र पुनर्स्थापित हुन्छ भन्नु र चिहानबाट मुर्दा जिउँदो भएर आउँछ भन्नु एउटै हो ।”

राजतन्त्रकै सवालमा प्रवक्ता खुशी लिम्बुले कांग्रेस पार्टीको औपचारिक सिद्धान्तको बचाउ गर्दै राष्ट्रिय मेलमिलापको नीतिलाई अनावश्यक रुपमा राजतन्त्र फर्काउन वा चुनावी दाउको रुपमा प्रयोग गर्न नहुने धारणा राखे । सहमहामन्त्री उपेन पौडेलले प्रधानमन्त्रीले सनकमा जतिखेर पायो उत्तिखेर संसद बिघटन हुने परम्परालाई तोड्न नयाँ संविधान ल्याएको जनाए । उनले संविधानको ओलीले पालन नगरेको भन्दै संविधान र संसदको रक्षार्थ सबै प्रजातन्त्रवादीहरु एक हुन पर्नेमा जोड दिए । शुभकामना मन्तव्यका क्रममा नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौला र लोकतन्त्रप्रेमीहरु रञ्जन मल्ल, हरिभक्त न्यौपाने र शशांक शर्मा थिए । कार्यक्रममा नेपाल प्रेस युनियन यूकेका सचिब मन्दिप केसी पनि सहभागी थिए।

कार्यक्रमका अध्यक्ष तथा जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति महेश कुमार दाहालले ४५औं राष्ट्रिय मेलमिलाप दिवस सफल पार्न सहयोग गर्ने र सहभागी सबैलाई नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट धन्यवाद दिए । उनले भविष्यमा पनि सहयोगको अपेक्षा राखे । कार्यक्रमको संयोजन महामन्त्री सूर्य तामाङले सञ्चालन र सहमहामन्त्री ईन्द्रहांग लिङदेनले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री