आफन्तको अन्तिम सँस्कार वा उपचारका लागि बेलायतबाट नेपाल जान पाइने

लण्डन । नेपाल सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फेला परेपछि बेलायतबाट नेपाल जान लगाएकाे प्रतिबन्धमा केही खुकुलो बनाएको छ ।

अध्यागमन विभागद्वारा प्रेषित सूचना अनुसार अब बेलायतमा रहेका नेपाली वा नेपाली मूलका मानिसहरुले नेपालमा आफन्तको अन्तिम सँस्कार वा उपचारका लागि नेपाल जान पाउने छन् । तर उनीहरुले यसरी जानु पूर्व बेलायतस्थित नेपाल दुताबासबाट पत्र लिनुपर्नेछ ।

अन्यको हकमा भने नेपाल यात्रामा प्रतिबन्ध जारी नै छ ।

यसैगरी सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा दिन पनि शुरु गरेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि सो सेवा बन्द गरिएको थियो । सरकारले हालमा कुटनीतिक राहदानीबाहक, स‌ंयुक्त राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय नियोगमा कार्यरत कर्मचारी, राहदानीमा जन्मस्थल नेपाल लेखिएका विदेशीहरु वा गैरआवासीय परिचय पत्रबाहक वा उनीहरुको परिवारलाई मात्र अनअराइभल भिसा दिइने छ ।यसबाहेक अरुको हकमा भने विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट भिसा प्राप्त गरेको वा नेपाल सरकारका अधिकारीहरुले अनअराइभल भिसा दिनु भनी पत्राचार गरिएको हुनुपर्नेछ ।

सरकारले स्थलमार्गबाट नेपाल भित्रिन भने अहिले पनि बन्देज कायमै राखेको छ । सरकारद्वारा पहिल्यै अनुमति पाएकाबाहेक अरुले स्थलमार्गबाट नेपाल प्रवेश पाउने छैनन् ।

नेपाल आउने सबै यात्रुले यात्रा गर्नुभन्दा ७२ घण्टा पहिले कोभिड टेष्ट गरी त्यसको नतीजा नेगेटिभ भएको कागजात देखाउनु पर्नेछ तर ५ वर्षमुनीका बालबालिकाको हकमा भने यो प्रावधान लागू हुने छैन।


प्रतिक्रिया

सम्बन्धित सामाग्री