विपक्षी मोर्चाद्वारा दोस्रो चरणको आन्दोलनमा, लाठी जुलुसदेखि आमहड्तालसम्म

काठमाडौं। सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान निर्माणका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलसँग सहमति जुट्न नसकेपछि आइतबार बसेको मोर्चा बैठकले चैत ५ देखि २६ सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 30 dal
सिंहदरबारस्थित एमाओवादी संसदीय कार्यालयमा भएको बैठकको निर्णयअनुसार चैत ५ गते जिल्लामा ३० दलीय मोर्चाको आन्दोलन तयारी बैठक हुनेछ । त्यसपछि विरोध प्रदर्शन, सिठी तथा लाठी जुलुसलगायतका कार्यक्रम हुने मोर्चाले जनाएको छ । मोर्चाले चैत १९ गते र चैत २४ देखि २६ गतेसम्म लगातार तीन दिन गरी चार दिन आमहड्तालको घोषणा गरेको छ।
चार शक्तिबीच शनिबार भएको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो नौबुँदे प्रस्ताव नै मान्न जोड गरेर वार्तालाई असफल बनाउने प्रयत्न गरेको मोर्चा संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए । उनले देशको चुनौतीपूर्ण संक्रमणकालीन अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिई सहमतिका निम्ति तयार हुन सत्तारूढ दललाई आग्रह पनि गरेका छन् ।
नयाँ संविधान निर्माणका लागि संविधानसभामा शुरु भएको बहुमतीय प्रक्रिया रोक्नु पर्ने माग विपक्षी मोर्चाहरुले गर्दै आएको छ ।
पहिलो चरणको प्रचारात्मक आन्दोलन फागुन १६ गते राजधानीमा आमसभा गर्दै सकिएको थियो । दोस्रो चरणको आन्दोलन क्रियात्मक हुने मोर्चाले जनाएको छ । पहिलो चरणको आन्दोलन समाप्तिपछि सत्तारुढ दल र विपक्षी मोर्चा संविधानको अन्तर्वस्तुको बारेमा सहमति जुटाउने कोसिस भएको थियो । यसबीच दलहरुबीच द्वीपक्षीय र बहुपक्षीय वार्ताहरु भएपनि कुनै पनि वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री