गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन

नेपालमा स्टाले

लण्डन । गोरखाहरुलाई बेलायतमा अधिकार दिलाउन र अन्तरघुलन हुनमा सहयोग गर्ने पूर्व काउन्सिलर ब्रायन स्टालेको निधन भएको छ ।

क्यान्टरबरी काउन्सिलको पूर्व काउन्सिलर समेत रहेका उनको गत आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो ।

भियतनाम युद्धका बेला सम्वाददातासमेत रहेका उनले गोरखाहरुलाई बेलायतमा समान अधिकार दिलाउनका लागि अभिनेत्री जोअना लुम्लेसित मिलेर अभियान गरेका थिए ।

लिबरल डेमोक्रयाटिक पार्टीका पूर्व राष्ट्रिय सचिव स्टालेले सन् २००४ मा गोरखाहरुमाथिको विभेदका बारेमा थाहा पाएपछि गोरखाहरुको न्याय दिलाउन अभियानमा जोडिएका थिए । उनले यस बारेमा त्यतिबेलाका फोल्कस्टोन क्षेत्रका लिवरल डेमोक्याटिक पार्टीका प्रस्तावित सांसद पिटर क्यारोललाई केन्टमा बसोबास गरिररहेका गोरखाहरुको समस्याका बारेमा जानकारी गराएका थिए ।

क्यारोलले स्टालेलाई स्मरण गर्दै भनेका छन्, ”उन(स्टाले)ले मलाई फोन गरे र केही सेवा निवृत्त गोरखाहरुलाई सहयोग चाहिएको छ । तिमीले उनीहरुलाई भेट्न सक्छौ ? भने । हरेक लामो यात्रा सानो पाइलाबाट शुरु हुन्छ । गोरखाहरुको आवासीय अधिकारका लागि त्यही नै पहिलो पाइला थियो । कसलाई के थाहा यदि त्यो फोन कल नभएको भए गोरखाहरुको यात्रा यहाँसम्म आइपुग्थ्यो ?”

त्यसपछि क्यारोलले गोरखाहरुलाई भेटे र गोरखा जस्टिस क्याम्पेन शुरु गरे । त्यही क्याम्पेनलाई अभिनेत्री जोअना लुम्लेले समर्थन गरिन् र पछि अभूतपूर्व रुपमा अदालत र संसदबाटै गोरखाहरुले बेलायतको आवासीय अधिकार पाए ।

स्टालेले गोरखाहरुको पक्षमा बेलायतको संसदमा, रेडियो र टेलिभिजनमा पनि बोलेका थिए ।

उनी पटकपटक नेपालमा पनि गएका थिए ।  उनले नेपालमा शिक्षाको अवसरबाट वन्चित बालबालिकाहरुलाई सहयोग गर्नका साथै तत्कालिन परराष्ट्र मन्त्री सुजाता कोइरालासित पनि भेट गरेका थिए ।

गोरखा जस्टिस क्याम्पेनको सफलतापछि उनले गोरखा पिस फाउण्डेसन खोलेर गोरखाहरुलाई बेलायतमा अन्तरघुलन हुनमा सहयोग गरेका थिए । उनी धेरै लामो समय सो संस्थाको अध्यक्ष रहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी सो पदबाट राजिनामा दिएका थिए । सो संस्थाले आसफोर्ड र फोल्कस्टोनमा हरेक मंगलबार र विहीबार पूर्व गोरखा सैनिकहरुलाई भेट हुने स्थान उपलब्ध गराई उनीहरुका विभिन्न समस्याका बारेमा सल्लाह प्रदान गर्ने गरेको छ । यसबाहेक अंग्रेजी कक्षा पनि चलाउने गर्दछ ।

स्टालेको निधनमा अभिनेत्री जोअना लुम्लेले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउनमा स्टालेले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । गोरखाहरुलाई सहयोग गर्ने स्टालेको प्रतिवद्धताबाट नै गोरखाहरुको ठूलो अभियान शुरु भएको उनले उल्लेख गरेकी छिन् ।

“अभियान पछिका समयमा पनि आफूले व्यक्तिगत रुपमा स्टालेमा आफूले स्थापना गरेको गोरखा पिस फाउण्डेसनप्रति कटिवद्धता, न्यानोपन पाएको छु । उनी महान र प्रिय मानिस थिए । हामी सबैले उनको अभाव महसुस गर्नेछाैँ” उनले भनेकी छिन् ।

क्यान्टरबरीका लिबरल डेमोक्याट्रिक ग्रुपका उपनेता निक इडेन ग्रीनले स्टाले आफूलाई विश्वास लागेको कुरा चाहे राजनीतिमा होस वा गोरखाका बारेमा होस् पूरा गरी छाड्ने छाड्ने मानिस भएको बताएका छन् ।

फाउण्डेसनका अध्यक्ष भीम तुम्बाहाम्फे स्टालेलाई गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय अधिकार दिनका लागि राजनीतिक पार्टीहरुसित सम्पर्क गराउने ‘पुल’का रुपमा लिन्छन् । सन् २००४ तिर गैरकानुनी रुपमा बेलायतमा बसिरहेको अवस्थामा सहयोगका लागि भौँतारिँदा स्टालेलाई आफूहरुले भेटेको र उनकै सिफारिसमा पिटर क्यारोललाई भेटेपछि गोरखा भूतपूर्व सैनिकहरुको बेलायतको आवासीय अधिकारको माग पूरा भएको तुम्बाहाम्फेको भनाइ छ । ‘उहाँ गोरखाहरु भनेपछि ज्यान दिने व्यक्ति हुनुहुन्थ्यो’ तुम्बाहाम्फेले भने ।

सन् २००९ मा बेलायतले चार वर्ष नोकरी गरेका सबै गोरखा सैनिक र उनका परिवारलाई बेलायतको आवासीय भिसा दिने निर्णय गरेपछि स्टालेको अगुवाईमा नेपालबाट बेलायत आउने गोरखाहरुलाई सहयोग गर्न सन् २०१० मा गोरखा पिस फाउण्डेसन शुरु भएको थियो । सो संस्था सन २०१३ मा  च्यारिटी कमिसनमा दर्ता भई अहिले नेपाल र बेलायतमा काम गरिरहेको छ । स्टाले सो संस्थाको स्थापनाकालदेखि २०१६ सम्म अध्यक्ष थिए । अहिले सो संस्थाले नेपालका १२ वटा विद्यालयहरुलाई सहयोग गरिरहेको अध्यक्ष तुम्बाहाम्फे बताउँछन् ।

गोरखा पिस फाउण्डेसनलाई कसरी चिनाउन सकिन्छ भन्ने बारेमा चिन्तित स्टालेको पहलमा सो संस्था अहिले संयुक्त राष्ट्र संघको परेडमा हरेक वर्ष सहभागी हुँदै आएको छ । त्यस्तै उनको योजना नेपालमा शिक्षाको पहुँच नपाएका बालबालिकालाई कसरी शिक्षाको अवसर कसरी दिलाउने भन्नेमा पनि स्टालेको चिन्ता रहने गरेको तुम्बाहाम्फे बताउँछन् ।

स्टालेलाई गोरखाहरुले कसरी सम्झनुपर्छ भन्ने प्रश्नमा तुम्बाहाम्फेले भने, ‘अहिले बेलायतमा बसिरहेका गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउनमा भूमिका खेल्ने मुख्य पात्र उहाँ (स्टाले) हुनुहुन्छ । ‘

गोरखा पिस फाउण्डेसनका ट्रष्टी मेजर रिटायर्ड देवबहादुर पुन स्टालेको अगुवाइमा नेपाल तथा बेलायतमा नेपालीहरुका लागि धेरै सेवामूलक कार्य भएको जानकारी दिन्छन् । उनको पहलमा नेपालका विभिन्न विद्यालयहरुको बेलायतका विद्यालयहरुसित मित लाएर उनले शैक्षिक अनुभव आदानप्रदान गरिएको र धेरै विद्यालयहरुमा इन्टरनेटको सुविधा दिइएको पुन बताउँछन् । ‘गोरखा पिस फाउण्डेसनका लागि मिलियन पाउण्ड कोष जम्मा गर्ने उहाँको चाहना थियो’ पुनले भने ।

आसफोर्डमा गोर्खाहरुलाई सम्बोधन गर्दै स्टाले

प्रतिक्रिया

सम्बन्धित सामाग्री