एनआरएनए युके काउन्सिल बैठक : नेपालको हितमा काम गर्न राजदुत रेग्मीका आठ प्रस्ताब


लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले गैरआवासी नेपाली संघ (एनआरएनए)युके समक्ष देखिने गरि काम गर्न आठ प्रस्ताब गरेका छन । एनआरएनए युके छैठौं काउन्सिल बैठकलाई आइतबार भर्चुअल रुपमा उद्घाटनसहित सम्बोधन गर्दै नेपालको पुर्वाधारमा देखिने गरि काम गर्न आठ प्रस्ताव राखेका हुन ।
राजदुत रेग्मीले राखेको प्रस्ताबमा नेपालको पुर्वाधार विकासमा सडक, खानेपानी, स्वास्थ्य र जलस्रोत जस्तामा लगानी, पर्यटन प्रवद्धनसहित बेलायतदेखि नेपालसम्मको सिधा हवाई सम्पर्क, नवप्रवद्धन, महिला हिंसा विरुद्धको अभियान, आगामी नोभेम्बरमा बेलायतमा हुने क्लाइमेट चेन्ज शिखर सम्मेलनमा बिषय बस्तु किटानसहित सहभागीता र भुतपुर्व गोर्खाका समस्या समाधानका लागि प्राप्त गर्न सक्ने उपलव्धीलगायतका छन ।
उनले एनआरएनए युकेले तयार पारेका ठोस बिषयमा नेपाल सरकार र बेलायत सरकार सँग छलफल गरेर निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त समेत गरे । राजदुत रेग्मीले एनआरएनए युकेको प्रस्तावलाई गैरआवासीय नेपाली संघको सम्मेलनमा पनि प्रस्तावका रुपमा लैजान सुझाए ।
‘एनआरएनए युकेले ठोस बिषयहरु पहिचान गरि सर्वसम्मत प्रस्ताव तयार गरि कार्यान्वयनमा लैजान काउन्सिल बैठकले प्रस्ताव गर्नु पर्छ । त्यस बिषयमा दुतावास वा म आफै तपाईहरुसँग नजिकबाट काम गर्न तयार छु’, उनले भने । रेग्मी राजदुत नियुक्त भएर बेलायत आएपछि पहिलो पटक स्पष्ट रुपमा एनआरएनए युके समक्ष प्रस्ताव गरेका छन । उनले आगामी दिनमा अन्य संघसंस्थाहरुलाई भर्चुअल रुपमा भेटघाटलाई तीव्रता दिने जानकारी दिए ।
यसअघि निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको छैठौं काउन्सिल बैठकमा कार्यक्र संयोजक रोजीना राईले मन्तव्य राखेको थिइन । एनआरएनए पुर्व अध्यक्ष सुर्य गुरुङले काउन्सिल बैठकमा महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वर्गीय डा. चन्द्रकुमार लम्सम्बाको बारेमा आइसीसी सदस्य रामशरण सिंखडाले प्रस्तुती दिएका थिए । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रम दुई चरणमा संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री