एनआरएनए युकेको नयाँ सदस्यता स्वीकृत गर्ने अधिकार अध्यक्ष एक्लैले राखेपछि चर्कियो बिबाद


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)युके भित्र एमआइएस सिस्टममा आवेदन दिएका नयाँ सदस्यहरुको सदस्यता स्वीकृत गर्ने अधिकार वर्तमान अध्यक्ष पुनम गुरुङ एक्लै राखेपछि विवाद सिर्जना भएको छ । गत महिना भएको एनआरएनए काउन्सिल बैठकमा आफैले गरेको प्रतिवद्धता विपरीत अध्यक्ष गुरुङले एकलौटी गरेपछि नयाँ सदस्यता आवेदन स्वीकृतको बिषयलाई लिएर विवाद सुरु भएको हो ।

एनआरएनए युके अध्यक्ष  गुरुङले नयाँ आवेदन गर्ने व्यक्तिका सदस्यता स्वीकृत गर्ने कार्य गर्दै आएकी छिन । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले एमआइएस सिस्टम अन्तर्गत आउने आवेदनको चेकजाँच गर्ने र स्वीकृत गर्ने काम अध्यक्ष गुरुङले एक्लै गरेको जानकारी दिए ।
यसअघि, एनआरएनए युके काउन्सिल बैठकमा अध्यक्ष गुरुङले एनआरएनए युके र राज्य समन्वय परिषद्बाट संयुक्त रुपमा टिम बनाएर कम्तिमा सात जनाले सदस्यता चेक जाँच गरि स्वीकृत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन । तर, लामो समय कार्यसमितिको पुर्ण बैठक समेत नराखि अधिकारको दुरुपयोग भएको भन्दै केही उपाध्यक्षहरु, राज्य समन्वय परिषदका पदाधिकारीहरु र सदस्यहरुले उनको कदमको विरोध गरेका छन । उनीहरुले आफ्नो पक्षलाई भोट नदिने व्यक्तिहरुको सदस्यता होल्ड गरेको आरोप समेत लगाएका छन । समुहमा लामो बिवाद भएपछि महासचिब भट्टराईलाई बैठक बोलाउन समेत भनिएको  एनआरएनए युके स्रोतले जनायो ।

‘एनआरएनए युके अध्यक्ष गुरुङले कार्यसमितिको बैठक समेत नराखि जवर्जस्ति शक्ति हातमा लिएकोमा एनआरएनए युके कार्यसमितिको भर्चुअल समुहमा विवाद भएको छ’, एनआरएनए स्रोतले भन्यो ।

लामो समय अध्यक्षलाई मात्र यस्तो अधिकार दिने हो भने उनलाई मन नलागेका व्यक्तिहरुको नयाँ आवेदन अस्वीकृत हुने अवस्था सिर्जना हुने भएकाले तत्काल कार्यसमितिको बैठक बोलाउन  उक्त समुहमा माग गरिएको छ ।  एनआरएनए युके कार्यसमिति बैठकले नयाँ सदस्य आवेदन आव्हान गर्दै १ अप्रिलबाट एमआइएस सिस्टममा जाने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री