लकडाउनका वावजुद युकेको अर्थतन्त्रमा झीनो सुधार

लण्डन । कोरोनाभाइरसका कारण लकडाउनमा रहनु परे पनि बेलायतको आर्थिक वृद्धिदरमा वृद्धिको संकेत देखिएको छ ।

अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको तथ्या‌ंकअनुसार फेब्रुअरी महिनामा बेलायतको अर्थतन्त्र जनवरी महिनाको तुलनामा शुन्य दशमलव ४ प्रतिशतले बढेको पाइएको छ ।

ओएनएसकै अर्को तथ्या‌ंकअनुसार ब्रेक्जिटपछिको दोस्रो महिनामा युरोपियन मुलुकहरुसितको निर्यातमा ३.७ बिलियन पाउण्डले बढेको पाइएको छ । जबकि जनवरीमा ब्रेक्जिटका कारण निर्यात ५.७ बिलियन पाउण्ड घटेको थियो । तर युरोपियन मुलुकहरुबाट आयात भने फेब्रुअरी महिनामा १.२ बिलियन पाउण्ड बराबरको मात्र भएको छ । जनवरी महिनामा सो आयात ६.७ बिलियनले घटेको थियो ।

कोरोनाभाइरसका कारण बेलायतमा लकडाउन लगाइएकोले बेलायतको अर्थतन्त्र सामान्य अवस्थामा आउन भने धेरै बाँकी छ । फेब्रुअरी महिनाको सुधार पनि रोयटरले अनुमान गरेको प्रक्षेपणभन्दा कम्ती देखिएको छ । रोयटरले फेब्रुअरीमा शुन्य दशमलव ६ प्रतिशतले सुधार हुने अनुमान गरेको थियो ।

आइएनजीका अर्थशास्त्री जेम्स स्मिथले सन् २०२१ को दोस्रो चौमासिकमा कुल ग्राहस्थ्य उत्पादनमा ४ देखि ५ प्रतिशतसम्म सुधार हुनसक्ने अनुमान गरेका छन् । ठूलो संख्यामा खोप दिइएको र सोमबारदेखि व्यापारहरु खुला गरिएकाले अर्थतन्त्रमा व्यापक सुधार हुनसक्ने आशा गरिएको हो ।

फेब्रुअरीमा निर्माण क्षेत्रमा १.६ प्रतिशतले सुधार आएको छ भने उत्पादन क्षेत्रमा १.३ प्रतिशत बढेको छ । तथापि सन् २०२० को फेब्रुअरी महिनाको तुलनामा बेलायतको अर्थतन्त्र अझै ७.८ प्रतिशतले खुम्चिएको छ ।

ब्रेक्जिटका कारण बेलायत र युरोपियन युनियनबीचको व्यापारमा आएको कमी पनि अझै पूर्ति हुन सकेको छैन । फेब्रुअरी महिनामा केही सुधार भए पनि गत डिसेम्बरको दाँजोमा अझै निर्याततर्फ १५ प्रतिशत कमी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री