हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो । रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ । खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो । भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ । महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरु प्रदान गरेका छन् ।
यसैवीच, भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।