निर्वाचन समिति कुनै उम्मेदवारलाई जिताउन लागेको पाइयो: गाहामगर समूह

लण्डन । एनआरएनए युकेको निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका प्रेम गाहामगरले निर्वाचन सम्पन्न भैसकेपछि निर्वाचन समितिले मत बदर हुने बारेमा नयाँ नियम बनाउन लागेकाले त्यसमा हस्ताक्षर गर्न नसकिने बताएका छन् ।

गाहा मगर समूहले आज आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले विभिन्न चार चरण पार गरि अन्तिम मतदाता सूचीमा सूचीकृत मतदाताले दिएको मत जस्ताको तस्तै निर्वाचन समितिले सार्वजनिक गर्नुपर्ने माग गरे । उनले निर्वाचन समितिले मतदातले दिएको मत सार्वजनिक गर्न ढिलाइ गरिरहेमा त्यसका विरुद्ध साथ दिन बेलायतमा रहेका सबै स‌ंघसंस्थाहरुलाई आह्वान गरे ।

निर्वाचन समितिले विहीबार २ हजार १०० मत बदर गर्ने बारेमा तयार पारिएको पत्रमा हस्ताक्षर गर्न भनिएकोमा आफूले अस्वीकार गरेकाे उनले बताए । ‘त्यसलाई म सुसाइड नोट भन्न चाहन्छु । मलाई अध्यक्षका उम्मेदवारले २ हजार १०० भन्दा बढी मतले जितेको छ केही फरक पर्दैन भनेर मलाई फकाइएको थियो । तर मैले हस्ताक्षर गरिनँ’ उनले भने ।

पत्रकार सम्मेलनमा उपाध्यक्षका अर्का उम्मेदवार नारायण कँडेलले मत परिणाम घोषणा गर्न ढिलाई गरिएमा सूचनाको हकको प्रयोग गर्दै च्वाइस भोटिङबाट मतपरिणाम ल्याएर घोषणा गरेरै छोड्ने बताए ।

उनले एनआरएनए युकेको मतपरिणाम घोषणा नहुनुको कारण च्वाइस भोटिङबाट प्राप्त ड्राफ्ट रिजल्ट भएको बताए । सो ड्राफ्ट रिजल्टमा आफूले चाहेको उम्मेदवारले नजित्ने भएपछि मत बदर हुने र सदर हुने सम्बन्धमा नयाँ नियम बनाउन लागिएको आरोप उनले ल्याए ।

हालसम्म कति मत खस्यो भन्ने सार्वजनिक नगरिएका कारण आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्वाचन समितिले वास्तविक खसेको भन्दा धेरै मत खसेको देखाउन सक्ने आशंका पनि गरे ।

समावेशी समूहका संयोजक शेर सुनारले निर्वाचन समितिले कुनै उम्मेदवारलाई जिताउन र कुनै उम्मेदवारलाई हराउन निर्वाचन परिणाम घोषणा गर्न ढिलाई गरिएको आरोप लगाए ।

उपाध्यक्षका अर्का उम्मेदवार मोहन कार्कीले च्वाइस भोटिङले निर्वाचनको परिणाम सार्वजनिक गर्न कुनै कठिनाई नभएको बताइसकेको अवस्थामा निर्वाचन समितिले परिणाम घोषणा गर्न ढिलाई गर्नु रहस्यमय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री