एनआरएनए युकेद्वारा च्यारिटी डिनरबाट २८ हजार पाउण्ड संकलन

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतले शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रम आयोजना गरी युवा तथा महिला सशक्तीकरणका लागि करिब २८ हजार पाउण्ड संकलन गरेको छ ।

बेलायतमै आयोजना भइरहेको तेश्रो नेपाली विश्व स्वास्थ्य सम्मेलन तथा एनआरएनएको आसन्न दशौं महाधिवेशनको अवसर पारेर एनआरएनए युकेले आइतबार साँझ द पालेस अल्डरसटमा शुभकामना साँझ तथा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा आयोजित शुभकामना साँझ तथा च्यारिटी डिनरमा करिब २८ हजार पाउण्ड संकलन भएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । संघको आसन्न दशौं महाधिवेशनमा अध्यक्ष लगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनएका अभियन्ताहरुलाई शुभकामना दिने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको गाहा मगरले जानकारी दिए ।

युवा तथा महिला सशक्तीकरणलाई सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक तथा एनआरएनए युकेका उपाध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले रचनात्मक कार्यक्रमका लागि शुभकामना दिए । यस्ता रचनात्मक कार्यक्रममा सधैं सबैको सहयोग रहने अपेक्षा उनले गरे । आसन्न महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवारहरुलाई शुभकामना दिँदै उनले विदेशमा रहेका नेपालीहरुको हितका लागि राजदूतावास सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।

सो अवसरमा आइसीसी अध्यक्षलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका प्रत्यासीहरुले भौतिक उपस्थिति र भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले प्रवासी नेपाली र मातृभूमिलाई सही अर्थमा जोड्ने अभियानमा आफू लागेको बताएका थिए ।

त्यस्तै अन्य प्रत्यासीहरुले संघलाई वास्तविक अर्थमा परोपकारी संस्थाका रुपमा सञ्चालन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा एनसीसी यूकेले च्यारिटीबाट संकलित रकमको सदुपयोग हुने विश्वास दिलाएको थियो ।

अध्यक्ष गाहा मगरले जुन उद्देश्यका लागि रकम संकलित गरिएको हो, त्यही उद्देश्य प्राप्तिमा प्रयोग गरिने बताए । हामीले केमा खर्च गरियो भन्ने कुरा सार्वजनिक मिडिया र एनसीसीको वेभसाइटमार्फत सार्वजनिक गर्ने छौं, उनले स्पष्ट पारे ।

त्यस्तै च्यारिटी डिपार्टमेन्टका प्रमुख संयोजक खरेलले आर्थिक पारदर्शिता पहिलो शर्त रहेको स्पष्ट पारे । आर्थिक पारदर्शिता पहिलो शर्त हो, यसमा हामी प्रतिबद्ध छौं, उनले भने ।

अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनबाट निर्वाचित वर्तमान कार्यसमितिले एनआरएनमा युवा र महिलाको सशक्तीकरण तथा सहभागिता वृद्धिलाई मुख्य एजेण्डा बनाएको थियो । सोही एजेण्डा कार्यान्वयनको दिशामा समिति अगाडि बढेको कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री