वासिङ्टन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्नुहुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको छ ।
बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिनुभएको छ । तीन दिने अमेरिका भ्रमणका क्रममा उहाँले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सबै भेटवार्तामा उहाँले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्नुहुने भएको छ ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ ।
उहाँहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ ।
बुधबार अमेरिका आउनु भएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले क्वाड शिखर सम्मेलनमा शुक्रबार नै भाग लिनुहुने छ भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औं महासभालाई शनिबार सम्बोधन गर्नुहुनेछ ।
क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी हुनुहुने भएको छ ।प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ ।
मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो। सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात् र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनु भएको छ।
दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिका बीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उहाँहरू बीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।
दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उहाँहरू बीच तीनपटक टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही बर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गर्नु भएको छ। सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देश बीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गर्नुभएको छ।
उहाँहरुले बीच यस बर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गर्नु भएको छ। उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिनुभएको छ।
जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।
दुई प्रधानमन्त्री बीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उहाँहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट-अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गर्नुभएको छ।
त्यसै गरी दुई नेता बीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।
दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गर्नुभएको छ।