गोर्खा भर्ती भएको दिनलाई फर्केर हेर्दा

तीनताका म फुसको छानोभित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएँ । मलाई सुस्तरी उमेरले डोर्याएर भर्खर अठार वर्षमा टेकाउँदै थियो । ओठमा जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै रहेको छ । म अति विपन्न परिवारमा जन्मेको हुनाले ‘मलाया भर्ती’ भन्ने विषय कुनै एउटा अजिव चिजको पहाड होला भन्ने सोचिरहेको थिएँ । त्यसैले तिनै मलाया भर्ती हुनको लागि हामी गाउँदेखि हिंडेर धरान घोपा क्याम्पसम्म जानु पर्दथ्यो । मैले धरान पुगेपछि बल्ल चाल पाएको थिएँ, तिनै अपरिचित र अनिश्चित स्थान मलाया भर्ती मलायामा नभएर हङकङ जान पर्ने रहेछ ।

सबैभन्दा पहिले मलाया भर्तीको लागि गाउँमा गल्लावालसँग नाम दर्ता गर्ने चलन थियो । बत्तीस इन्चदेखि ऊँभोउँभो फुलिदै गरेको छाती लिएर म एकदिन गल्लावालको सामुन्ने हाजिर हुन पुगेको थिएँ । उनले मेरो नजिक आएर ‘यति कलिलै रहेछ, अझै यस्को तल्लो ओठमा निचोर्यो भने भर्खर चुस्दै गरेको आमाको दुध पनि आउँछ होला’ भनेको तिनै कर्णप्रिय शब्द मेरो कानमा अहिलेसम्म गुन्जिरहेकै छ । तैपनि उहाँले मेरो छाती, तौल र उचाई नापी सकेपछि भर्ती हुनको लागि नाम लेखिदिनुभएको थियो ।

म खोटाङको बुईपा भन्ने गाउँमा जन्मेको थिएँ । गाउँमा हरेक पटकको मनसुनले बिदा लिएपछि लर्बरिदै लर्बरिदै हिउँदे मौसम आउने गर्दछ । हिउँदमा पर्ने पुस र माघ महिनाहरु अति जाडो महिनाहरुमा परिणत हुँदै जाने गर्दछन् । त्यसबेला तिनै हिउँदे महिनाहरुले ल्याउने कठ्याङ्ग्रिने जाडो मात्र नभएर सारा गाउँ नै उजाड देखिने गर्दछन् ।

२०४० सालको निर्मम हिउँद सुरु भएर माघ महिना बित्दै गइरहेको थियो । मध्य माघको एकदिन मेरी ममतामयी आमाले अलिकति दाल, चामल र थोरै गुन्द्रुकको झ्याम्टा एउटा झोलामा तयार गरिदिनु भएको थियो । त्यसको भोलिपल्ट जमिनमा मिरमिरे उज्यालो नखस्तै हामी सम्भावित भर्तीवाल साथीहरु सँगसँगै घर छाडेको थियौं । घर छाडेर हिंडेपछि बसेरी जङ्गलमा मानिस हिंडने स-साना गोरेटो बाटोहरु एउटा खाली कागजमा कोरिएका बक्ररेखा झैं लमतन्न टाङ्गिएका देखेको थिएँ । हामी तिनै गोरेटो बाटोहरुमा जिन्दगीका असंख्य आशाका सपनाहरु बोकेर निरन्तर अगाडि बढिरहेका थियौं ।

बसेरी जङ्गलमा भेटिएका धुले गोरेटोलाई रातभरि परेको हिउँदे शीतले मज्जाले भिजाएको थियो । तिनै धुले गोरेटोमाथि चालिएका हाम्रा पाइतालाहरुले प्रत्येक कदम कदममा निर्लज्ज डोबहरु बनाइरहेको थियो । तर पाइतालाले निर्माण गरेका हरेक डोबहरुलाई त्यसरी बिर्संदै अगाडि बढ्ने क्रममा कहाँसम्म पुगिने होला भनेर मेरो हृदयभरी अनुत्तरित प्रश्नहरु बर्षिरहेका थिए । जिन्दगीको सुनौला भविष्य निर्माण गर्न क्रमशः अगाडि बढिरहँदा आफ्ना आमाबाबु र सारा आफन्तहरुलाई गाउँमा छाडेर जान पर्दा स्खलित मन झन् विचलित र हलचल भइरहेकै थियो ।

बिहानको झिसमिसेमा सुरु भएको त्यसदिनको यात्रा बेलुकी साँझमा रसुवा घाट पुगेर अन्त भएको थियो । कोशीको किनारमा रहेको त्यो घाट नै मेरो जिन्दगीले घर छाडेको पहिलो रात थियो । बाँसको भकारीले छाएको पुरानो गोठभित्र सुमधुर रातलाई बिदा गर्दै बिहान अबेलासम्म भुईमा तन्किरहेको अहिलेसम्म संस्मरण गरिरहेकै छु । लगातार बाह्र घण्टासम्मको अघिल्लो दिनको हिंडाइले दिइरहेको दर्दनाक पिडा सामना गर्दै भोलिपल्ट बेल्टार बजार पुगेको थियौं । आजको मितिभन्दा ठीक सैतीस वर्ष अगाडिको तिनै यादलाई निकोशिया, साइप्रसमा बसेर झल्झली संस्मरण गरिरहेको थिएँ ।

त्यसबेला मेरा मन अति नै चन्चल थियो । मेरो गाउँघरको अवस्था अहिलेको जस्तो पटक्कै थिएन । गाउँदेखि मोटर बाटो पुग्नको लागि टाउकोले टेकैर भएपनि फत्तेपुरसम्म पुग्नु पर्दथ्यो । मैले गाउँ छाडेको तेस्रो दिनमा फत्तेपुर पुगेर जिन्दगीमा पहिलो पटक ‘बिजय बस’ चढेको थिएँ । तिनै बसदेखि धरान जाने क्रममा देखिएका तराईका समथर भू-बनोट र चारकोशे झाडीलाई मन्त्रमुग्ध भएर यात्राका क्रमभरी हेरिरहेको थिएँ ।

त्यसदिन जनवरी १, १९८४ को दिन थियो । बिहानीको उज्यालो भुईंमा खस्तैगर्दा म धरानको घोपा क्याम्प भित्र पसेको थिएँ । म अहिले मेरो दिमागलाई राम्ररी खियाएर तिनै दिनहरु सम्झिरहेको छु । अनि मैले त्यसबेला भोगेका तिनै यादहरु मेरा मानसपटलमा अहिलेसम्म नाचिरहेकै छन् । थोरै कौतुहल र हलचल मन लिएर क्याम्पभित्र पसेपछि हामीलाई भर्ती गराउने गुरुजीहरुले हिँडाएर समथर जमिनमा रहेको खाली चउरमा पुर्याएका थिए ।

म त्यहाँ पुगेर चउर वरिपरि देखिएका ठूल्ठूला रुखहरुका मनोरम दृश्यहरु देख्न थालिसकेका थिएँ । विभिन्न चराचुरुङगीहरुले मधुर सङ्गीत भरिरहेको तिनै रूखहरुमुनी लहरै मिलाएर तम्बुहरुको सहर ‘टेन्ट सिटी’ निर्माण गरिएको थियो । मैले तम्बुहरुको सहरलाई दिग्भ्रमित हुँदै निक्कै लामो समयसम्म हेरिरहेको थिएँ । हरेक तम्बुहरुमा १०-१२ जना सम्भावित रिक्रुटहरुलाई बास बस्नको लागि सुकिलो स्थान बनाइएको थियो । जस्लाई देखेर हामी सबै युवाहरु हर्षले आमोदी भएका थियौं ।

त्यस बेलुकी सम्ममा सबै युवाहरुले को कहाँ सुत्ने भनेर तम्बुमा आ-आफ्ना स्थानहरु पाइसकेका थियौं । तर सबैजनाले सुत्ने ठाउँ पाएको भएतापनि हामी एकअर्काको अनुहार बिल्कुलै फरक-फरक देखिरहेका थियौँ । अब कस्लाई के भनेर सम्बोधन गर्नेहोला भनेर मेरो मनभरि काउकुती खेलिरहेको थियो । किनभने तम्बुभित्र भेटिएका हरेक युवाहरुको पृष्ठभूमि फरक-फरक धरातलदेखि आएका थिए । अझ भनौं, मैले जिन्दगीमा पहिलो चोटी लिम्बु, सुनुवार, शेर्पा र तामाङहरुलाई भेटेको (देखेको) थिएँ ।

कसोकसो अरु जातिका युवाहरुभन्दा लिम्बुहरुसँग म थोरै त्रसित पनि भइरहेको थिएँ । कुनैकुनै लिम्बु युवाहरुले निक्कै अग्लाअग्ला टोपीहरु पहिरिएका थिए । उनीहरुले लगाएका टोपी र बोलेको भाषा सुनेर म यदाकदा तर्सेको बाख्रा झैं छट्पटी गरिरहेको हुन्थेँ । गाउँमा सानो छँदा सुङ्गुरको रौँ किन्ने र चुरा बेच्ने लिम्बुहरुले बोक्ने खुकुरीको विषयमा भयङ्कर डरलाग्दो कथाहरु सुनेको थिएँ । यदि उनीहरुसँग नराम्रो ब्यवहार गरियो भने शरीर र टाउको दुई टुक्रा पार्छन् भन्ने कथा सुनेको हुनाले मेरा मन र मस्तिष्क थरङ्गै भइरहेका थिए । त्यसैले उनीहरुसँगको प्रत्यक्ष भेटघाटमा भित्रभित्रै कट्टुमा छुलछुली पिसाब फेरिरहेको अहिलेसम्म याद गरिरहेकै छु ।

तर तम्बु सहरमा भेटिएका धेरैजसो युवाहरुले खस भाषाभन्दा पनि आ-आफ्ना जातीय भाषा एवम् उपभाषाहरु बोलिरहेको सुन्दा मलाई बिछट्टै अफठ्यारो महसुस भइरहेको थियो । अनि उनीहरुले लगाएका विभिन्न प्रकारका भेषभूषाले म निश्चय नै अचम्मित भइरहेको थिएँ । अझै सबैभन्दा बढी अचम्म त म त्यसबेला भएको थिएँ । जतिबेला मैले सोच्तै नसोचेका त्यति धेरै उपभाषा बोल्ने राईहरुका उपथरीहरुसँग पहिलोचोटी घोपा क्याम्पमा भेट भएको थियो ।

धरानमा रहेको बेलायती सैनिक क्याम्पभित्र लगभग एक हप्तासम्म रिक्रुट छान्ने काम भएको थियो । सम्भावित रिक्रुटहरुको शारीरिक, मानसिक, भौतिक, शैक्षिक र चिकित्सा सम्बन्धी सम्पूर्ण परीक्षाहरु भएका थिए । सबै परीक्षाहरु सकिएको अन्तिम दिन क्याम्प भित्रको विशाल फुटबल खेल मैदानमा युवाहरुलाई एकै ठाउँ भेला गरिएको थियो । रिक्रुट परीक्षण कालभरी हामी सबै युवाहरुको छातीमा अल्पकालिन नम्बर दिइएको थियो । र, मध्यान्हको समयमा युवाहरुको छातीमा लेखिएको तिनै नम्बर बोलाएर हामी सबै जनालाई दुई भागमा विभाजन गर्न थालिएको थियो ।

हामी त्यसबेलासम्म भर्ती हुने सुन्दर सपना साँचेर बाँचिरहेका थियौं । त्यसैले निष्ध्यान लगाएर आ-आफ्नो नम्बर आउने प्रतीक्षा गरेर बसिरहेका थियौं । भर्ती लागेका हरेक युवाहरुको छाती नम्बर नजिकै रहेको तीनकुने जङ्गल थर्कने गरेर पुकारी रहेको थियो । केही बेरमा मेरो छाती नम्बर पनि हावामा बरालिँदै आएर कानसम्म पुगेर बज्रिएको थियो । त्यसरी आएको नम्बर हावामा बिलिन हुन पाउँदा नपाउँदै म भर्ती लागेका युवाहरुको नजिकै पुगेर थपक्कै बसेको थिएँ ।

दुर्भाग्यवश ! छाती नम्बर आउन नसकेकाहरुलाई अर्को वर्ष प्रयत्न गर्नु है भनेर क्याम्पबाट बिदाइ गरेर पठाइएको थियो । भर्ती हुने सपना टुटेपछि उनीहरुका अनुहार अति मलिन मलिन भएका थिए । त्यति मात्रै नभएर जिन्दगीको उज्वल भविष्य बनाउने सपना तुहिएपछि कसैकसैले आँखाभरी आँशु बनाएर घोपा क्याम्प छाडेको दृश्य देख्दा मलाई साह्रै बिरमाईलो लागिरहेको थियो ।

भर्ती हुन नसकेकाहरुले क्याम्पदेखि बिदा लिएपछि भर्ती भएकाहरु चउरको बिच भागमा झुरुप्पै बसिरहेका थियौं । केहीबेर पछि हामी सबैको ध्यानाकर्षण गराउँदै नेपाली भाषामा, ‘ल केटा हो, तँहरु आजदेखि भर्ती भइस्,’ क्याम्पका कमाण्डर ब्रिग्रेडियर जनरल हन्ट डेभिसले नजिकै रहेको तीनकुने जङ्गल गर्जने गरी आवाज निकालेर बधाई तथा शुभ-कामना दिएका थिए । पूर्व सातौं गोर्खा राइफल्सका दक्ष नेपाली भाषी बेलायती सैनिक अधिकृतदेखि मैले त्यसबेला प्रथम चोटी नेपाली ब्याकरणमा प्रयोग गरिएको ‘एकवचन’ शब्दलाई ‘बहुवचन पुच्छर’ झुन्डाउने गरेको ‘ब्रिग्रेड अफ गोर्खाजको’ चलन चल्तीको भाषालाई सुनेको थिएँ ।

सन् १९५९ देखि धरान घोपा क्याम्पमा पहिलोपटक पूर्वी नेपालका नेपालीहरु बेलायती सेनामा भर्ती हुन थालेका थिए । त्यसको ठीक पच्चीस वर्षपछि ७ फेब्रुवरी १९८४ का दिन मैले बेलायती सैनिकमा भर्ती भएर सैनिक नम्बर ‘२११६६५३४’ हात पारेको थिएँ । भर्ती हुँदा पाएको त्यस नम्बरसँग औधी खुशि भएतापनि त्यस नम्बरलाई कण्ठस्थ बनाउनको लागि मलाई फलामको च्यूरा चपाउन झैं चर्को परेको थियो । अझै त्यसबेला मेरो सैनिक नम्बर मात्र नभएर आफू जन्मेको र भर्ती भएको मिति अङ्ग्रेजी पंचाङगअनुसार जान्न पर्ने भएकोले निक्कै हम्मेहम्मे परेको याद अहिलेसम्म सम्झिरहेको छु । त्यसवर्ष हामी धरानदेखि २३५ जना कलिला युवाहरु बेलायती गोर्खा सैनिकमा भर्ती भएका थियौं ।

पश्चिम नेपालका हकमा भने पोखरामा भर्ती हुने चलन रहिआएको थियो । त्योभन्दा पहिले बेलायती सेनामा भर्ती हुनको लागि पक्लिहवा क्याम्प पुग्नुपर्छ भन्ने मैले सुनेको थिएँ । हामी भर्ती भएको त्यसदिन मध्यान्हको टण्टलापुर घाम सँगसँगै ब्रिग्रेडियर जनरलको भाषण पनि सकिएको थियो । ब्रिग्रेडियर जनरलले भर्ती भएको आधिकारिक जानकारी दिएपछि खुशीले उफ्रँदैउफ्रँदै हामी आ-आफ्नो तम्बुमा फर्केका थियौं । तर हामीलाई त्यसबेला आफू बसिरहेको तम्बुदेखि नयाँ तम्बुमा सारिएको रहेछ । नयाँ तम्बुमा सरेपछि नयाँ साथीहरुसँग चिनजान गर्न मलाई झन् चुनौतीको पहाड थपिइरहेको थियो ।

तैपनि भर्ती भएपछिको गोधुली साँझले मलाई खुबै आकर्षण गरिरहेको थियो । भेडेटारदेखि बहँदै झरेका चिसो बतासले मलाई मात्र होइन, हरेक रिक्रुटहरुको भौतिक शरीरलाई शान्त बनाइरहेको थियो । त्यति शान्तमय वातावरणमा सँगसँगै भर्ती भएका नयाँ साथीहरुसँग हाम्रो सुस्तरी परिचय हुन थालिसकेको थियो । चारैतर्फ फलामे तारले बारेको जालीभित्र एउटै समयमा भर्ती भएका साथीहरुलाई पल्टने साइनोअनुसार ‘नम्बरी’ भनेर बोलाउन पर्ने चलन थियो ।

भर्ती भएको भोलिपल्ट नम्बरीहरुलाई भेट्न धरान वरिपरिका आफन्तहरु क्याम्पभित्र आउन थालेका थिए। आफन्तहरु क्याम्पभित्र आउँदा उनीहरुको हातहातमा सुन्दर सयपत्री फूलका मालाहरु पनि लिएर आउँदथे । तर त्यति ठूलो धरान सहरमा मेरा कुनै आफन्तहरु छँदै थिएनन् । किनभने म गाउँदेखि आएको बिल्कुल एक्लो ठेट्ना थिएँ । त्यसैले मैले कुनै सयपत्री फूलका माला लगाउन पाइनँ र पाउने आशा पनि गरेको थिइनँ । तर झ्याम्मै टुक्रेर फुटेका सिसाझैँ दिल लिएर तम्बुको एउटा कुनामा बसिरहेको थिएँ । अनि नम्बरीहरुले गालाभरी गर्लम्मै सयपत्री फूलका माला उनेका दृश्य बितृष्णासहित निक्कै लामो समयसम्म हेरिरहेको थिएँ ।

नयाँ दिनको नयाँ ब्रेकफास्टपछि हामी सैनिक बर्दीहरु लिनको लागि मूख्य गोदामको कार्यलयमा पुगेका थियौ । हामीले त्यहाँ एउटा सुरिलो प्लाष्टिकको झोलाभरी खाकीबाट बनेका विभिन्न प्रकारका पोशाकहरु पाएका थियौँ । तिनै झोलामा तयार भएका एकभारी कपडाहरु लिएर आ-आफ्ना तम्बुमा फिर्यौं । दशैंताका गाउँमा मुश्किलले एकजोर कपडा फेर्ने चलन थियो । अब त्यति धेरै सैनिक पोशाकहरु कुन कुन समयमा पहिरनु पर्ने होला भनेर म रनभूल्लमा परिरहेको थिएँ ।

भोलिपल्टको झुल्केघाम सँगसँगै तम्बुमा गुरुजीहरुको अनुहार देखापरेको थियो । त्यसपछि उहाँहरुले कुन समयमा कुन पोशाक लगाउने भनेर हामीलाई सिकाउन थाल्नु भएको थियो । त्यस दिनदेखि हामीले सैनिक पोशाक पहिरन गर्न मात्र नसिकेर अनुशासनको साथसाथमा खान, पिउन, हिँड्न र बोल्न पनि सिक्न सुरु गरिसकेका थियौं । हुन त धेरै नम्बरीहरु म जस्तै गाउँको एउटा अनकन्टार कुनादेखि आएका थिए । त्यसैले खाना खाँदा प्रयोग गरिने साधनहरु चम्चा, काँटा र छुरीको प्रयोग कसरी गर्ने भनेर गुरुजीहरुले प्रर्दशन गरेको दृश्य रमाइलो मान्दै हेरेका थियौं ।

त्यसदिनदेखि फित्तावाल चप्पलले मेरो पयर पड्काउन छाडेको थिएँ । जिन्दगीमा पहिलो पटक जुत्ता धारण गर्दा हृदय औधी हल्का भएको थियो । अझ त्यस दिनको रमाईलो क्षण चाहिँ त्यतिबेला भएको थियो, जतिबेला एकजना भुक्त्तभोगी नम्बरीले भैंसीको पुँठो आकारका टोपी लगाएर हामी सबैलाई देखाउँदै ख्यालठट्टा गर्दा भएको थियो । तर विधिको बिडम्बना र समय कति बलवान रहेछ । तिनै विनम्र, मिलनसार, फरासिला र मृदुभाषी मेरा नम्बरी केही वर्ष अगाडि ईश्वरको प्यारो भइसकेका छन् । अहिले यी हरफहरु कोर्दै गर्दा तिनै प्रिय नम्बरीको आत्मालाई चिरशान्ति मिलोस् भन्ने कामना गर्न चाहन्छु ।

हरेक बिहानीको नित्यकर्मदेखि बेलायती सैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण काम सिक्दै गरेको भएतापनि त्यसबेला ‘कसम खाने कवाज’ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कार्य थियो । त्यसैले तिनै कवाजलाई सफल बनाउन क्याम्पमा सबैभन्दा धेरै प्राथमिकता दिइएको थियो । त्यस बिहानदेखि हामीले कसम खाने कवाजको अभ्यास पनि सुरु गरिसकेको थियौँ । तर भर्खर भर्खर पहाडदेखि मधेश झरेका ठिटाहरुलाई धराने गर्मीले सात्तो लिइरहेको थियो ।

परेड मैदानमा बिस्तारै बिस्तारै कसम खाने कवाजको तालिम आरम्भ भएको थियो । कवाज सुरु भएको हरेक ४५ मिनेटमा रिक्रुटहरुलाई एउटा सानो बिश्राम मिल्ने गरेको थियो । त्यो बिश्राम केबल दश मिनेटको लागि मात्र हुन्थ्यो । म पहिलो पटक गाउँदेखि शहर झरेको आलाकाँचा एउटा युवा थिएँ । अनि ऊनीको मोजा लगाएर कवाजको अभ्यास गर्दा खुट्टाका औंलाहरू पसिनै पसिना भएर रोइरहेको भित्रभित्रै आभास गरिरहेको थिएँ । त्यसैले तिनै दस मिनेट बिश्रामको फाइदा लिँदै जुत्ता र मोजा खोलेर आँपको रुखमुनी शीतल तापेर बसेको थिएँ ।

‘रिक्रुट ! परेडको समयमा जुत्ता खोल्छस् ?’

निक्कै टाढाबाट गिध्दे दृष्टि लगाइरहेका गुरुजीले अचानक कराएर मेरो सात्तो खाइदिएका थिए । उनले केबल मेरो सात्तो मात्र खाएका थिएनन् नजिकै रहेको फोहोर पानी बग्ने नालीको वारपार सुतेर पुल बन्न पनि सिकाएका थिए । अहिले सम्झँदा सम्भवत त्यो नै मेरो सैनिक जीवनको सबैभन्दा पहिलो पटकको सजायँ थियो । सैनिक जीवनमा बिताएको त्यसपछिको सजायँहरुलाई संस्मरण गर्ने हो भने प्रशान्त महासागरको पानीभन्दा धेरै छन् । अझै त्यस्तो सन्की गुरुजीले हङकङको तालिम केन्द्रमा पुगेपछि लामा-लामा जुङ्गा पालेका गुरुजीहरुले गर्ने अमानवीय ब्यवहार चाल पाउने छस् भनेको सुन्दा मेरा आङ जिरिङ्गै भएको थियो । जे होस्, सैनिक कवाजको बेला जुत्ता खोल्न नपाइने रहेछ भनेर पहिलो पाठ मैले धरानको घोपा क्याम्पमा सिकेको थिएँ ।

जलमार्ग, वायुमार्ग र स्थलमार्ग कुनैपनि ठाउँदेखि आएको दुश्मनलाई दुई टुक्रा पार्छु भन्दै बेलायती झण्डा छोएर ठूलो तामझामको साथ अर्को हप्ता मैले कसम खाएको थिएँ । त्यसपछि धरानदेखि काठमाण्डौ हुँदै हङकङ जानको लागि हामीलाई विभिन्न समूहहरुमा छुट्याइन थालिएको थियो । त्यसबेलासम्म मैले घर छाडेको पूरै तीन हप्ता भइसकेको थियो । मलाया भर्ती मेरो लागि सोखको विषय नभएर दरिद्रताको उपज रहेको थियो ।

तर हङकङ जाने समय जतिजति नजिकिँदै थियो । नयाँ नयाँ ठाउँहरु के कस्तो हुने होला भनेर मेरा हृदयभित्र केही असहज उत्पन्न भइरहेको थियो । कता कता अनेकन भावहरु सल्बलाई रहेको जस्तो अनुभव गरिरहेको थिएँ । अझै त्यति कलिलो उमेरमा आफ्नो परिवारलाई छाडेर हिँड्नुको पिडाले कता कता सताइरहेको जस्तो अनुभूति हुन्थ्यो । किनभने भर्ती भइसकेपछि आफ्नो जन्मघर फर्केर आउन टन्नै तीन वर्ष कुर्नु पर्दथ्यो । अझै त्यो समयभित्र जिन्दगीले डोर्याएर कहाँ कहाँ पुग्नु पर्ने होला ? के के अनुभव गर्नुपर्ने होला भनेर झन् हृदयमा असङ्ख्य हलचल पैदा भइरहेको अवस्था थियो ।

त्यसदिन फेब्रुवरी १४, १९८४ को दिन थियो । बिहानीको नास्ता खाइसकेपछि हामी आ-आफ्नो कुम्लो कुटुरो बोकेर कवाज खेल्ने मैदानमा पुगेको थियौँ । घडीले बिहानीको समय दश बजाएपछि गुरुजीले सबै रिक्रुटहरुको नाम र नम्बर बोलाएर हाजिरी गरेका थिए। सबैको नाम आएपछि धरान छाडेर काठमाण्डौ जानका लागि हामी तयार भएका थियौँ । हाम्रा सीधै अगाडि कवाज खेल्ने मैदानमा चार वटा कोचहरु लहरै मिलाएर रोकिएका थिए। गुरुजीले हाजिर गरिसकेपछि हामीलाई कोचमा चढ्ने आदेश दिए । त्यसपछि कमिलाको पङ्ति झैं मिलेर हामी कोचभित्र पसेका थियौं ।

हामी कोचमा पसेको केहीबेरमा कोचको चक्का सुस्तरी गुड्न थाल्यो । घोपा क्याम्पको पछाडि ढोकादेखि निस्केको कोचले बिस्तारै तीनकुनेलाई सँधैसँधैको लागि छाड्दै गयो । थोरै भत्केको गाउँले मन र मुटु लिएर म कोचको सबैभन्दा पछाडि सिटमा आसन गरिरहेको थिएँ । त्यति आरामले कोचभित्र बसेतापनि मेरा हृदयभित्र अनेकन प्रश्न र जिज्ञासाहरु सुस्तसुस्त गतिमा सल्बलाई रहेका नै थिए। मैले बिस्तारै कोचको झ्याल खोलेर चारकोशे झाडीलाई निक्कै लामो समयसम्म नियालि रहेँ । त्यसपछि झ्यालदेखि मुन्टो फर्काएर कोचको अगाडि हेर्दा गुरुजीको इसारामा हामी सन् १९८४ सालको रिक्रुटहरुले, ‘नैनी ताल, नैनी ताल, घुमी आयो रेल……,’ भन्ने गLत सुरु गरिसकेका थियौं ।

दिउँसोको एकबजे विराटनगर विमानस्थलदेखि आरएनएसीको एभ्रो विमानले विराटनगर सहरमाथि धुवाँ छाड्दै गर्दा मेरा अनुहार बिरमाइलो मान्दै कालो बादलमा परिणत भइसकेको थियो । विमानले सुस्तरी सुस्तरी खुला आकाशलाई चुम्नको लागि सीधै माथि आकासिँदा मैले आफ्नो सीधै अगाडिको सिटलाई मज्जाले समातिरहेको थिएँ । बिना बादलको त्यस मध्यान्हको मौसम अति नै आकर्षक रहेको थियो । तिनै आकर्षक मौसमको बेला मेरा पापी नयनहरुले दुरदृष्टिमा रहेका हिमालय श्रृखँलाको क्रमशः नजर लगाइरहेका थिए ।

केहीबेरमा निक्कै टाढा क्षितिजमा देखिएको सगरमाथाको लोभलाग्दो दृश्यमा मेरा नजर मज्जाले गाडिरहेको थिएँ । मैले सगरमाथादेखि पटकपटक नजरलाई हटाउन प्रयत्न गरेतापनि मेरो दिल पटक्कै मानिरहेको थिएन ।

अक्सफोर्डसायर, इङल्याण्ड ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री