एनआरएनको चुनाव सारिएकोमा कुल आचार्य समूहको आपत्ति

काठमाडौं । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सारिएकोमा आपत्ति जनाएका छन् ।
टीम कुलद्वारा बुधबार आयोजित खुला डबली भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले  परराष्ट्र मन्त्रालयको पत्र देखाएर  दशौं महाधिवेशन स्थगित गर्नु र  चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए  ।
“अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले एजेन्डा मात्रै तयार गर्ने हो, महाधिवेशन स्थगित गर्ने वा चुनाव सार्ने उसलाई कुनै अधिकार छैन,” आचार्यले भने। उनले  विभिन्न बहानाबाजी गर्दै चुनाव सारेर  संस्थालाई दूर्भाग्यपूर्ण परिस्थितिमा धकेल्न खोजिएको बताए । ‘डेलिगेट्स चयन प्रक्रियालाई पारदर्शी गर्नुको साटो बरु चुनाव सार्ने कुरा भएको छ । संसारभरका गैर आवासीय नेपालीलाई चुनाव सार्ने कुरा मान्य हुने छैन’, आचार्यले भने, ‘छिटोभन्दा छिटो अधिवेशन साथसाथै चुनाव पनि गर्नुपर्छ । अहिले सम्पूर्ण एनआरएनहरुको भावनाविपरित काम भैरहेको छ ।’
‘हामी संस्थालाई कसरी हुन्छ बचाउनुपर्छ भनेर, सधैं लोयल रहेर, संस्थाको मर्यादा बचाउन लागि परेका छौं । चुनाव सार्ने काम संस्थाको हितमा छैन’, आचार्यले भने। ‘हामीले संयम राखी राखेका छौं, धैर्य गरेका छौं । तर एउटा पक्षले निरन्तर सिस्टमलाई दुरुपयोग गर्न खोजिरहेको छ ।’  ‘संस्थालाई धरासायी बनाउने काम भएको छ । यो वास्तवमा मान्य हुने छैन । जे भैरहेको छ, राम्रो भएको छैन ।‘ उनले सबै एनआरएन अभियन्ता र मिडियालाई सत्य र न्यायको पक्षमा बुलन्द रुपमा बोल्न आह्वान पनि गरे।
त्यसैगरी एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१-२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले समस्या कहाँबाट आयो त्यो पहिचान गरेर त्यसलाई कसरी समाधान गर्ने भन्ने तिर जानुपर्ने बताए । पौडेलले एकपक्षीय रुपमा कुल आचार्य पक्षका कारण चुनाव पछाडि धकेलिएको भन्ने कुप्रचार भैरहेकोप्रति आपत्ति जनाए ।  संसारभरका एनआरएनहरु कसका कारण चुनाव सरेको हो भन्नेमा स्पष्ट छन्। ‘एनआरएनलाई कब्जा गर्ने प्रवृत्तिविरुद्ध समयमै परराष्ट्र मन्त्रालयमा निवेदन दिइएको थियो । मन्त्रालयले विवाद समाधान नगरी चुनाव नगर्न भनेको थियो,’ उनले भने, ‘तर, समस्या समाधानको लागि नेतृत्वबाट कुनै पनि प्रयास गरिएको छैन । मन्त्रालयले बनाएको कमिटीले दिएको निर्देशन स्पष्ट नभएपनि नेतृत्वले दायित्व बहन गर्नुपर्छ ।’
अन्तर्क्रियामा बोल्दै संघका युरोप संयोजक तथा २०२१-२३ का लागि सचिव पदका उम्मेदवार नारायण आचार्यले कार्यकाल बढाउने उद्देश्यले महाधिवेशन स्थगित गर्न खोजिएको बताए।  उनले छिटो भन्दा छिटो अधिवेशनमा जानुको विकल्प छैन भन्दै प्रतिनिधि चयन लगायतका विवाद सुल्झाउने जिम्मा संरक्षक परिषद्लाई दिन पनि माग गरे।
एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले संस्थापन पक्षले धांधली गरेर संस्था कब्जा गर्न खोजेकाले अहिलेको स्थिति आएको बताए।  उनले अरु एनसीसीहरुसंग पनि सल्लाह गरेर आफुहरु अगाडी बढ्ने बताए।  एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सुनील साहले संस्थालाई सबैभन्दा माथि राखेर अहिलेको विवाद समाधान गर्नु पर्ने र ३१ डिसेम्बर २०२१ अगावै चुनाव गर्नु पर्ने सुझाव दिए।
एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले दुवै पक्ष बीच गहन संवाद गर्न आग्रह गरे।  उनले पनि डिसेम्बर २०२१ भित्रै निर्वाचन गर्नु पर्ने बताए। आइसीसी सदस्य गुणराज (गुरांस) पौडेलले संस्थाभित्र सिन्डिकेट जोगाइ राख्न महाधिवेशन सार्न खोजिएको आरोप लगाए।  कार्यक्रममा  २०२१-२३ का लागि सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपाने, एनसीसी क्यानाडाका उपाध्यक्ष शैलेन्द्र चापागाईं, डा इन्दिरा तिवारी लगायतका वक्ताले समयमा चुनाव गराउन नसक्नु वर्तमान नेतृत्वको कमजोरी भएको भन्दै जति सक्दो चांडो चुनाव र महाधिवेशन गर्न माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री