शाह वंशको उदय

द्रव्य शाह

केही इतिहासकारहरूको भनाइअनुसार दिल्लीका तत्कालीन सुल्तान अलाउदीन खिलजीले सन् १३०३ को हाराहारीमा राजस्थानको चितौड़ गढ़को किल्लामाथि हमला गरे । किल्लालाई धवस्त पारे । त्यसबेला मुसलमान शासकहरूको आक्रमण तथा अत्याचार बढ्दै गएको थियो । चितौड़ गढ़को राजपूत चन्द्रवंशीय राजवंशले आफू र आफ्नो परिवार तथा कुटुम्बको मान मर्यादा र ईज्जत मुसलमान सुल्तानहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँको खोजीमा थिए ।
क) सन् १४९५ मा चितौड़ गढ़का चन्द्रवंशीय राजपूत राजवंश आफ्नो सुरक्षा सैनिकका साथ कुटुम्ब परिवार लिएर पश्चिम नेपालको मगरात राज्यको रिधी (रिडी) भन्ने ठाउँमा आश्रय लिन आई पुगेका थिए । त्यसभन्दा अझ सुरक्षित ठाउँको खोजीमा केही समयपछि मगरात राज्यको भीरकोट खिल्लु भन्ने ठाउँमा स्थायी शरण र आश्रय लिन पुगेका थिए । केही समय पछि भीरकोट खिल्लुको नजिक ढोरमा आफ्नो सानो राज्य स्थापित गरेर राज्य गर्न थाले ।
ख) यसै क्षेत्रमा दक्षिणतर्फ थेपे नदीको छेउमा घले थरका मगरहरूको लिगलिग भन्ने प्रसिद्ध राज्य थियो । त्यस राज्यमा आफ्नो राजा वा मुखिया छान्ने र छनोट गर्ने प्रजातान्त्रिक पद्दति थियो । प्रत्येक दशैको अवसरमा राज्यका सम्पूर्ण नागरिकहरू लिगलिगको तल्लो कोटमा भेला हुन्थे । तल्लो कोटबाट माथिल्लो कोटमा दौडेर पुग्न ईच्छुक युवाहरूको दौड़ प्रतियोगिता हुन्थ्यो । दौड़ प्रतियोगितामा जुन नागरिक वा युवा माथिल्लो कोटमा पहिलो पुग्न सफल हुन्थ्यो उही नै त्यस वर्ष भरिको राजा वा मुखियाको पगड़ी वा फेटा पहिरनको हकदार हुन्थ्यो । वर्षभरि लिगलिग राज्यको कार्यभार सम्हाल्ने जिम्मा उसैको हुन्थ्यो ।
ग) त्यसबेला मगरहरूको वा मगरातको यो प्रजातान्त्रिक अभ्यास (Democratic Practice) अत्यन्त चर्चित थियो । मगरहरूले सघात्मक शासन (Federal State) को अवधारणा पनि विकसित गरेका थिए । सो अनुसार मगरहरूको साना–साना राज्य तथा थुमहरूलाई आ–आपस्तको समझदारी तथा सम्झौतामा आधारित एकीकरण गरेका थिए । सो एकीकरण अभियानमा १२ मगरात तथा १८ मगरात राज्यको उदय र स्थापना भएको पाइन्छ । यो मगर राजाहरूको साझा सम्झौता र सद्भावनाको विकसित अवधारणा (Cooperative Integration) थियो ।
घ) त्यस धारणाको विपरीत शाहवंशीय राजाहरूले युद्धको माध्यमबाट एकीकरणको अभियान संचालन गरेको पाइन्छ । मगर र गुरुङ्ग युवाहरू दशैंको अवसरमा बिना शस्त्र अर्थात हात हतियार नभिरेर परम्परा अनुसार लिगलिग राज्यको राजा वा मुखियाको छनोट गर्न दौड़ प्रतियोगिता भाग लिई राखेका थिए । त्यसै समयमा शाहंवशीय राजा द्रव्य शाहले लिगलिग राज्य माथि एक्कासी हमला गरे । लिगलिग राज्यका निशस्त्र मगर र गुरुङ्ग युवाहरू राजा द्रव्य शाहको फौजबाट पराजित हुन गए ।
ङ) लिगलिग राज्य जितेपछि मगरहरूको गोरखा राज्यमाथि आक्रमण गर्न राजा द्रव्य शाहलाई सजिलो भयो । तैपनि पहिलो पटकको हमलामा राजा द्रव्य शाहलाई गोर्खाका मगर थरका राजा मानसिंह खड़काबाट नराम्रोसँग अपमानित तथा पराजित हुनु पर्यो । केही समय पछि शाहवंशीय राजा द्रव्य शाहले रातिको समयमा गोर्खा राज्यमाथि फेरि हमला गरे । त्यसबेला गोर्खा राज्यका कुनै असंतुष्ट नागरिकले राजा द्रव्य शाहलाई गुप्त सूचना र सहयोग गरेको थियो । निद्रीत अवस्थामा रहेका मगर थरका राजा मानसिह खड्का राजा द्रव्य शाहको तरवारबाट घाइते भए । तत्काल मृत्यु भयो भनेर भनिन्छ । त्यसै राति द्रव्य शाहले आफूलाई गोर्खा राज्यको विधिवत राजा घोषणा गरे । सन् १५५९ देखि गोर्खा राज्यमा मगर राजाको अवसान भयो तथा शाह वंशीय राजाको उदय भयो । भनिन्छ राजा द्रव्य शाहले मगर थरको राजा मानसिंह खड्काको रगतमा चामल मुछेर टिका थापेर दशैंको चाड शुरु गरेका थिए । तर केहीको भनाइ छ दशैं र राजा द्रव्य शाहको हमलाको तिथि मिति मेल खाँदैन । (सत्य तथ्यको खोजी गर्न सकिन्छ । वि.सं १६०६ भाद्र २५ गते तदअनुसार २४ अगष्ट १५५९ ई. मा राजगद्दी ग्रहण गरेको ।)

एकीकरणको अभियान
क) राजा द्रव्य शाहले स्थापित गरेको शाहंवंशीय गोर्खा राज्यको उत्तराधिकारी पृथ्वीनारायण शाह २० वर्षको उमेरमा सन् १७४३ ई.अप्रिल ३ तारिकमा (चैत्र २५ गते) गोर्खा राज्यको राज गद्दीमा आरोहण गरे । गोर्खा राज्यको एकीकरणको अभियानको पहिलो चरण बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । केही लेखकहरूले यो गोर्खा राज्यको साम्राज्यवादी आन्तरिक औपनिवेशिक अभियान थियो भनेर भन्दछन् ।
ख) केही विद्वानहरूको तर्क हो, पृथ्वीनारायण शाह गोर्खा राज्यको एकीकरण गरेर विशाल नेपाल अधिराज्यको स्थापना गर्नमा सफल भए । यो भौगोलिक एकीकरण थियो । तर जनजाति, आदिवासी तथा भूमि पुत्रहरूको लोक सस्कृति, सामाजिक परम्परा तथा ऐतिहासिक विशेषतालाई एकीकरण गर्न सकेनन् । अर्थात उनीहरूको साँस्कृतिक, भाषिक, सामाजिक एंव ऐतिहासिक विशिष्टता माथि निरन्तर प्रहार भयो । हुनत राजापृथ्वी नारायण शाहले “चार जातको फूलबारी” र “म मगरातको राजा” तथा “मगरलाई विचारीको पद” दिनु भनेर भूमिपुत्रहरूलाई फुरुङ्ग पार्ने प्रयास गरे । जे होस्, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह नै हुन भनेर ईतिहासको पानामा अंकित छ ।
ग) दोस्रो चरणको नेपाल एकीकरणको अभियानको संचालन राजा प्रताप शाह, राजेन्द्र लक्ष्मी तथा बहादुर शाहको पालामा भएको हो । यसै अभियानलाई अघि बढ़ाउन तेश्रो चरणमा राजा रण बहादुर शाहको पालामा प्रधानमन्त्री भीमसेन थापाद्वारा पहल गरिएको भनाइ छ । वास्तवमा बाइसी, चौबीसी तथा मगरात राज्यहरूमा गोर्खा राज्यले आफ्नो आधिपत्य कायम गरिसकेका थियो । त्यसपछि गोर्खा राज्यको पश्चिम सरहदको विस्तार गर्ने आदेश नायक बहादुर शाहले दिएको भनिन्छ । त्यसै बेलादेखि महाकाली नदी पार गरेर गोर्खा राज्यको पश्चिम सरहदको विस्तारको ऐतिहासिक कथा शुरु हुन्छ ।

लेखक

गोर्खा राज्यको पश्चिम सरहदको बिस्तार (सन १७९०)
सन १७९० को प्रारम्भमा गोर्खा राज्यको सरहद महाकाली नदीसम्म कायम भइसकेको थियो । गोर्खाली सेनाका सेनानायक बड़ाकाजी अमरसिंह थापाको गोर्खा राज्यको सरहद बिस्तार गर्ने आन्तरिक ईच्छा एंव चाहना अझसम्म मेटिएको थिएन । कश्मीर राज्यसम्म गोर्खा राज्यको सरहद पुर्याउने उनको अठोट थियो । त्यसका लागि गोर्खा फौजको साथ विशाल महाकाली नदी पार गर्ने तरखर तथा तयारीमा लागेका थिए ।
गोर्खा फौजलाई आवश्यक पर्ने गोलीगठ्ठा, रसदपानी, खाद्यान्न, औषधी, लुगाफाटा तथा आवश्यक सामग्रीसाथ विकराल महाकाली नदी तरेर अन्जान तथा बिरानो राज्यमा पुग्न त्यसबेला चानचुन काम थिएन । काठमान्डौबाट झन्डै ३२० माईलभन्दा पनि टाढा कुमाऊँ राज्य छ । अति दुर्गम भौगोलिक अवस्था, कठिन बाटो घाटो, डर लाग्दो वनजंगल, हिंसक पशु, बन्यजन्तु, सञ्चारको असुबिधा तथा अग्ला अग्ला पहाड डाँडा नाघेर सैनिकहरूका साथ त्यहाँ पुग्न पर्ने थियो । साथै सैनिकहरूको मनोबल, विश्वास तथा जोशलाई पनि कायम राख्न, बढाउन तथा प्रेरित गर्नु सेना नायकहरूलाई कठिन कार्य थियो । यस्तो अवस्थामा पनि जनरल अमरसिंह थापाले दृढ़ तथा कठोर संकल्प तथा निर्णय लिएका थिए । ठूलो आँट गरेका थिए । मातृभूमिको विस्तार गर्न प्रण र अठोट गरेका थिए । परिस्थिति पनि जनरल अमरसिंह थापाको पक्षमा आफै विकसित र तयार हुँदै थियो ।

कुमाउँ गढ़वाल राज्यमा आन्तरिक द्वन्द्व (सन् १६८९)
त्यसै बेला कुमाऊँ तथा गढ़वाल राज्यका राजवंशमा राजगद्दीका लागि आन्तरिक कलह, संघर्ष तथा वैमनस्यता चल्दै थियो । कुमाऊँमा पूर्व राजा हर्षदेव जोशीलाई चन्द राजाहरूले राजगद्दीबाट अपदस्त गरेका थिए । (सन १७८९) त्यसका लागि पूर्वराजा हर्षदेव जोशीले नेपालमा राजा बहादुर शाहलाई कुमाउँ राज्यमा शान्ति सुव्यवस्था स्थापित गर्न तथा जनतालाई दुःख विपतीबाट जोगाउन अनुरोध गरेका थिए । महाकाली नदी वारी सैनिक शिविर खडा गरेर बसेका गोर्खा सेनानायक जगजीत पाण्डेलाई पनि आफै भेटेर पूर्वराजा हर्षदेव जोशीले कुमाऊँ राज्यमाथि आक्रमण तथा प्रशासन कायम गर्न निमन्त्रणा गरे ।
सन १७९० को अन्तमा वडाकाजी अमरसिंह थापा सेना नायक जगजीत पाण्डे तथा सूरवीर थापाको नेतृत्वमा विशाल एवम् विकराल महाकाली नदी तरेर गोर्खाली फौज कुमाऊँ राज्यमा पुग्यो । साथै आफ्नो आधिपत्य कायम गर्न सफल भयो । पूर्व राजा हर्षदेव जोशीको सहयोग र सहायतामा सन् १७९५ र सन १७९६ को हाराहारी गढवाल राज्य पनि गोर्खा राज्यको अभिन्न अंग बन्न पुग्यो । यसरी गोर्खा राज्यको पश्चिम सरहद विस्तारित हुँदै उत्तराखण्ड राज्यको अलखनन्दा नदीसम्म पुग्न गएको थियो ।
यमुना नदीदेखि सतलज नदीसम्म साना साना बाह्र ठकुरी राज्यहरू थिए । जस्तो बघाट, किथुनल, कुयर, भज्जी, कुनिअल, महलोग, कोरी, किचारी र थियोग आदि । यो बाह्र ठकुराई “राज्यका राजाहरूले जनरल अमरसिंह थापाको (सन १८०४ ई.)मा आधिपत्य आफै स्वीकार गरिसकेका थिए । हिमाञ्चल प्रदेशमा सिरमोर राज्यका राजाहरू आ–आपसमा शत्रुताको व्यवहार गर्दै थिए । राजा रत्न सिंह, करण प्रसाद सिंह तथा रामशरण सिंहहरू दाजुभाइहरू भएता पनि आ–आपसमा कलह, बैमनस्यता, झगड़ा तथा कचिगंल गर्दै थिए । तिनीहरूको वैमनस्यता तथा कलहको निराकरण गर्न गराउन सिरमौर राज्यका पूर्व राजा रामशरण सिंहको निम्तामा जनरल अमरसिंह थापा त्यहाँ पुग्नु पर्यो । त्यसपछि हिमाञ्चल प्रदेशको सिरमौर राज्य पनि स्वेच्छाले गोर्खा राज्यमा सन् १८०४ मा सामेल हुन गयो ।
कुमाऊँ गढ़वाल, सिरमौर चम्बा तथा हिमाञ्चल प्रदेशका अन्य साना–साना राज्यहरू गोर्खा राज्यमा विलय भएपछि एक वर्ष भित्रमा गोर्खा सेना प्रसिद्ध किल्ला कागडाको छेउमा पुगेका थिए । कागड़ा राज्यका राजा संसार चन्द तथा पञ्जाव राज्यका महाराजा रणजीत सिंह दुवै शक्तिशाली राजाहरूको संयुक्त गठबन्धनको विरुद्ध जनरल अमरसिंह थापालाई एक्लै भिड्नु र युद्ध गर्नु पर्यो । समयमा थप सहायता प्राप्त भएन । चार वर्षको घेरबन्दीमा गोर्खा फौजको रसदपानी, गोली गठ्ठा र सैनिकहरू धेरै घट्दै गएको थियो र दुवै पक्षको विजय पराजय भएन । तर शान्ति सम्झौता भयो । किल्ला काँगडाको घेराबन्दी समाप्त भयो । गोर्खा फौजले किल्ला काँगडा छाड्नु पर्यो । युद्ध समाप्त भयो । यस ऐतिहासिक युद्धको विषयमा भारतीय प्रख्यात पत्रकार कुशवत्त सिंहले आफ्नो पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ ।
“Ranjit Singh had no love for Sansar Chand but feared the Gorkhas were a threat to Punjab, especially, if they succeeded in taking Kangra fort.” (History of Sikhs, Volume 1, Oxford University Press 1987, page 1) किल्ला कागड़ाबाट गोर्खा सेना फिर्ता भएपछि गोर्खा राज्यको विस्तारको नयाँ कथा प्रारम्भ हुन्छ । एउटा नौलो कथाको सुरुवात हुन्छ ।

त्रिलोकसिंह थापामगर

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री